१३ बैशाख २०८१, बिहिबार

ओलीलाई नेपाल समूहको ‘अल्टिमेटम’ : नत्र सामूहिक राजीनामा


केपी शर्मा ओली र माधव नेपाल फाइल फोटो

काठमाडौँ । अन्तत: सत्तारुढ दल नेकपा एमालेका केपी शर्मा ओली र माधव नेपाल समूह पूर्व र पश्चिम जस्तो देखिएकोले एमाले विभाजनको संघारमा पुगेको सहजै अनुमान गर्न सकिन्छ । विशेष सुत्रका अनुसार नेपाल समूहका २० जना भन्दा केही बढी सांसदले राजीनामापत्रमा हस्ताक्षर गरेर आफ्ना नेता माधव नेपाललाई बुझाएको जानकारी प्राप्त भएको छ ।

एमालेको नेपाल समूहले अध्यक्ष ओलीलाई २०७५ साल जेठ २ गतेमा फर्किन आज साँझसम्मको २४ घण्टे अल्टिमेटम दिएको छ । नत्र भने नेपाल समूहका सांसदहरुले सामूहिक राजीनामा दिने भनेर राजीनामा पत्र तयारी अवस्थामा राखेका छन् ।

हिजो शनिबार राजधानीमा बसेको नेपाल समूहका सांसदहरुको बैठकले ओलीसँग गरिएको एकता प्रयासको समीक्षा गर्दै ओली पार्टी एकताका लागि तयार नभएको निष्कर्ष निकालेको हो । तर हिजो बसेको बैठकले आज आइतबार साँझसम्म ओलीलाई समय दिएर पर्खने सहमति गरेको हो ।

हिजोको बैठकले ओलीलाई विश्वासको मत दिनुभन्दा सामुहिक राजीनामा गर्दा उपयुक्त हुने निष्कर्ष निकालेको हो । तर यसबारेमा स्थायी कमिटीको बैठकबाटै औपचारिक निर्णय गर्ने बुझिएको छ । वैशाख २७ गते विश्वासको मत दिने बेलामा फ्लोर क्रस गर्नु अनुशासन विपरीत हुने भएकाले त्यो समय भन्दा अघि नै सांसदहरुले राजीनामा दिने सम्भावना बढेको हो ।

नाम नबताउने सर्तमा नेपाल समूहका एक सांसदका अनुसार कुनै चमत्कारिक शक्तिले जोगाएर रातभरि अन्यथा भएन भने भोलिबाट पूर्व सांसद भइने निराशावादी धारणा समेत व्यक्त गरेका छन् ।

एमालेका शीर्ष नेताहरुमा बढेको चरम शक्तिसंघर्षले एमाले पार्टी अचानो बन्दै बिग्रह र बिनासको बाटोउन्मुख भएको हो । एमालेको विभाजन हुन रोक्ने प्रयास असफल भएपछि नेपाल समूहका सांसदहरुले वैशाख २७ गतेको प्रतिनिधिसभा अधिवेशन अघि नै राजीनामा दिने भएका हुन् ।

धेरै उतार-चढावका बाबजूद यसबीचमा भएका वार्ता सफल नभएको र कांग्रेस-माओवादी गठबन्धनसँग राष्ट्रियसभा उपनिर्वाचनदेखि ओली सरकार ढाल्ने सम्मको सहकार्य अघि बढिसकेकाले तत्काल पार्टी एकताको सम्भावना टरेको नेपाल समूहले निष्कर्ष निकालेको हो ।

नेपाल समूहका सांसदलाई एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीलाई सत्ताच्यूत गरेर कमजोर बनाउने कि सत्ता टिकाएर पार्टी एकता जोगाउने भन्ने दुबिधा चरम सीमामा पुगेपछि अन्तत: माधव समूहका २० जना सांसदले हिजो राती प्रतिनिधिसभा सदस्य राजीनामाको लिखतमा हस्ताक्षर गरेर आफ्ना नेता नेपाललाई बुझाएका हुन् ।

एमालेको नेपाल समूहका अर्का सांसदले दिएको जानकारी अनुसार नेपाल समूहका २३ जना प्रतिनिधिसभा सदस्यले पदबाट राजीनामा दिने पत्रमा हस्ताक्षर गरेको बताएका छन् । प्रधानमन्त्री ओलीलाई जसरी भएपनि सरकारबाट हटाउन उनीहरुले यस्तो अप्रिय कठोर कदम चालेका हुन् ।

नेपालसहित उक्त समूहका भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य लगायतका नेताहरु ओलीलाई जसरी पनि सत्ताच्यूत गर्नुपर्ने पक्षमा उभिएका छन् । तर उक्त समूहकै सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, सोमप्रसाद पाण्डे लगायत पार्टीलाई विभाजन हुनवाट जोगाएर पार्टी एकताकै पक्षमा उभिएकाले ओलीलाई आज साँझसम्मको २४ घण्टे अल्टिमेटम दिएका हुन् ।

नेपाली चलचित्र युगदेखि युगसम्मको उदित नारायण झा र अनुराधा पौड्वालले गएको एउटा सदाबहार गीत छ – आँधीले रोक्न सक्दैन बाढीले छेक्न सक्दैन भने जस्तै नेपाल समूहले ओलीलाई २४ घण्टे अल्टिमेटम दिएर चुनौती दिएको छ ।

‘हामी नदिका दुई किनारा, हाम्रो संगम असम्भव छ’ भन्ने गीत जस्तै नेपाल समूहले देखाएतापनि अन्तत: पतनको बाटो रोज्नुभन्दा ‘तर पनि मिलनको आशामा जीवन गुमाउन मन्जुर छ’ भन्ने गीत झैँ एमालेलाई विभाजनवाट जोगाउनु पर्ने बाध्यता पनि एमालेका दुवै समूहलाई रहेको छ ।

कांग्रेस सभापति शेरवहादुर देउवाले नेपाल समूहका सांसदको राजीनामा नआई ओली हटाउने प्रक्रिया अघि बढाउन नचाहेपछि नेपाल समूहका सांसदको राजीनामा पत्रमा हस्ताक्षर गराइएको बुझिएको छ । एमालेको नेपाल समूहमा प्रत्यक्ष निर्वाचित २२ जना र समानुपातिक १२ जना गरी ३४ जना सांसदहरु रहेको दावी उक्त समूहले गरेको छ ।

तत्काल प्रत्यक्ष निर्वाचितले राजीनामा दिँदा ओली सरकार ढाल्न संख्या पुग्ने विश्लेषण गर्दै प्रत्यक्ष निर्वाचित सांसदले मात्र राजीनामा पत्रमा हस्ताक्षर गरिएको एक सांसदले बताएका छन् । तर नेपाल समूह अझै दोधारको अवस्थामा रहेको छ ।

यदि ओलीलाई २०७५ साल जेठ २ गतेमा फर्किन सहमत भएमा पार्टी विभाजनवाट जोगिएर पुन: एकताबद्ध हुने देखिन्छ तर ओलीलाइ दिएको २४ घण्टे अल्टिमेटमभित्र ओली सहमतिमा नआएमा नेपालले देउवालाई सो हस्ताक्षर देखाउने र संघीय संसद सचिवालयमा पेश गर्ने तयारी गरिएको हो ।

नेपाल समूहका नेता र सांसदहरुको बैठकले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले एकलौटी मात्र गर्न खोजेको र जति प्रयास गरेर बालुवालाई पेलेर तेल निकाल्ने प्रयास गर्दा पनि सहमति हुन नसकेकोले राजीनामा दिनेसम्मको तयारी गरेको स्रोतले बताएको छ ।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वाचित नेपाल समूहका २० जना सांसदले राजीनामा गरेपछि ओलीले विश्वासको मतमा बहुमत पाउने सम्भावना नभएकोले नेपाल समूहका सांसदले राजीनामा गर्नासाथ संसदमा कायम सांसद संख्या घट्न गइ वैकल्पिक सरकार बन्ने सम्भावना पनि जीवित हुनेछ ।

प्रधानमन्त्री ओलीले संसदमा लिन खोजेको विश्वासको मतमा उनलाई असफल बनाउन नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र एमालेको नेपाल समूहबीच सहमति जुटेको हो । उक्त सहमति अनुसार प्रधानमन्त्री ओलीले यही वैशाख २७ गते संसदमा विश्वासको मत नपाउनेबित्तिकै बहुमत सांसदहरूको हस्ताक्षरसहित संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा धेरै दलको सरकार गठन गर्ने दाबी राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी भइरहेको छ ।

तर नेपाल समूहका केहि सांसदले भने राजीनामा दिने भए सबै सांसदले एकैपटक दिनुपर्ने धारणा पनि व्यक्त गरेका छन् । राजीनामा एउटै सर्तमा रोकिन सक्छ – त्यो हो प्रधानमन्त्री ओली नेपाल समूहसँग सम्झौता गरेर उनीहरूको मागअनुसार जेठ २ को अवस्थामा फर्किन तयार भएमा मात्र ।

‘विनाश काले विपरीत बुद्धि’ भनेझै अहिले नेकपा एमालेका नेताहरुले ‘आफ्नै घरमा आगो लगाएर’ खरानी बनाई अरुको घरमा भीख माग्दै हिडेका छन् । व्यक्तिगत शक्ति संघर्ष र सत्ता मोहको जालमा फसेर यिनीहरुले ऐतिहासिक पार्टी एमालेलाई चिरा-चिरा बनाएर विनाशको बाटोतिर लागिरहेका छन् ।

‘आफ्नै खुट्टामा बन्चरो’ हानेर एमालेका नेताहरु माधव नेपाल र झलनाथ खनाल तथा पार्टी अध्यक्ष केपी शर्मा ओली आफ्नै संसद्को सबभन्दा ठुलो पार्टीलाई विभाजन नजिक पुर्याएर विपक्षी दल नेपाली काँग्रेसका सभापति देउवाको शरणमा पुगेर जनताको नजरमा पुरै गिरिसकेका छन् ।

एमालेको उक्त खनाल-नेपाल समूहले वैशाख २७ अघि नै आफ्ना समूहका सांसदले सामूहिक राजीनामा गराएर आफ्नै पार्टीका प्रधानमन्त्री ओलीलाई धोका दिएर कांग्रेस-माओवादी गठबन्धनलाई बहुमत पुर्‍याउने खेलमा सहज बनाउन भर्यांङ हाल्दिन लागेको हो ।

आफ्नो व्यक्तिगत स्वार्थपूर्ति र सत्तामोहले दुई तिहाईको सरकार गिराएर एमालेका नेताहरुलाई ‘बाँदरको हातमा नरिवल’ जस्तै भएको छ । उनीहरुले नागरिकले दिएको यत्रो ठूलो अभिमतको उपेक्षा गरेकोले भविष्यमा उनीहरु त राजनीतिक रुपमा नांगिने निश्चित जस्तै देखिएको छ ।

अन्तत: नेकपा एमाले विभाजन हुने निश्चित जस्तै भएको छ । विशेष सुत्रका अनुसार हिजो शनिवार साँझ नेपाल समूहका २० जना भन्दा केहि बढी संख्याका सांसदले सांसद पदबाट राजीनामा लिखतमा हस्ताक्षर गरेर आफ्ना नेता माधव नेपाललाई बुझाएको जानकारी प्राप्त भएको छ ।

पार्टीको विभाजन नचाहेका नेकपा एमालेका आम नेता र कार्यकताहरुलाई व्यक्तिगत स्वार्थपूर्ति र सत्तामोहले फसेका यी शीर्ष नेताहरुले चरम निरासा अवस्थामा पुर्याएका छन् । यी दुवै समूहका नेताहरु आफू पत्तासाफ भएर पतन हुने निश्चित छ भने एमाले पार्टीलाई छेद-विच्छेद बनाउनुको साथै देशको राजनीतिलाई अध्यारो सुरुङतिर धकल्ने प्रयास गरेको आरोप समेत खेप्नुपर्ने देखिन्छ ।

माधव नेपाल कहिले अर्को पार्टीका अध्यक्ष प्रचण्डसँग त कहिले जसपाका अध्यक्ष उपेन्द्र यादवको साथै काँग्रेसका सभापति देउवासँग अनेक तानावाना बुनेर आफ्नै पार्टीका अध्यक्ष ओलीलाई सरकारवाट जसरी पनि हटाउन लागी परेका छन् भने यता प्रधानमन्त्री ओली पनि सत्ता-लिप्साको कारणले जसपाका अर्का अध्यक्ष महन्त ठाकुरको काखी च्यापेर ठूलो भागबण्डा ठाकुरलाई दिएर सरकारमा जूको जस्तो टाँसिन खोजिरहेका छन् ।

नेपालले आफ्ना पार्टीका अध्यक्ष ओलीलाई अनेक आरोप-प्रत्यारोप लगाएर पार्टी र नेताहरुको बेइज्वत गर्ने काम बन्द गर्नुपर्ने हुन्छ । खनाल-नेपाल समूहले बाहिर होटेलमा बैठक बोलाएर समानान्तर कमिटी गठन गर्दै हिड्ने काम तुरुन्त बन्द गर्नुपर्ने देखिन्छ । विभाजनको संघारमा पुगेको एमालेलाई जोगाउनु यी दुवै एमालेका नेताहरुले किन भुल्दैछन् आफ्नो कर्तव्य ?

महाभारत युद्ध रोक्न हरसम्भव प्रयास गर्दै शान्तिदूत श्रीकृष्णले दुर्योधनलाई पाण्डवहरूलाई केवल ५ वटा गाउँ दिएर युद्ध रोक्न प्रस्ताव गरेतापनि दुर्योधनले पाण्डवहरूलाई सियोको टुप्पो जत्तिकै जमिन पनि दिन इन्कार गरे, युधिष्ठिर अन्ततः युद्ध गर्न बाध्य भए ।

ओली २०७५ साल जेठ २ गतेमा फर्किएर माधव नेपालले आफ्नो राजनीतिक भविष्यको सुनिश्चतता खोजेकोले महाधिवेशनमा नेपाललाई अध्यक्षको आश्वाशनको जेन्टलमेन एग्रीमेन्ट गरिदिएर पार्टीलाइ एक बनाउन प्रधानमन्त्री ओली किन तयार नभएको ? २०७५ जेठ ३ भन्दा अगाडिको अवस्थामा फर्किएर एकताको गर्न किन ओलीले भूमिका नखेलेको हो ? यस्तै संसदको ठुलो दल एमालेका नेताहरुलाई जनताले दिएको अभिमत बाँदरको हाँतमा नरिवल भएजस्तो भएको छ ।

नेकपाका यी दुवै समूहले आफ्नै घरमा आगो लगाएर के अभिष्ट प्राप्त गर्न खोजिरहेको छ ? यो प्रश्न आम एमालेका कार्यकर्ताको मनमा उब्जिरहेको छ । नेकपाका यी दुवै समूहको स्थिति भोलि सिपि मैनाली र मोहन बैद्य जस्तो किनारा लागेर जाने त होइन भन्ने विश्लेषण गर्न सकिन्छ । राम राम भन्न मात्र सकिन्छ काँध थाम्न सकिदैन । एमालेका सवै यी शीर्ष नेताहरुको बेलैमा सद्बुद्धि आओस् एमाले विभाजनवाट जोगिएर पुन:एकताबद्ध होस् भन्ने कामना मात्र गरौ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !