देउवाको चन्द्रमा दाहिना बन्दै : आफू प्रधानमन्त्री बन्ने सम्भावना बढेको निष्कर्ष Nepalpatra देउवाको चन्द्रमा दाहिना बन्दै : आफू प्रधानमन्त्री बन्ने सम्भावना बढेको निष्कर्ष
१ असार २०७८, मंगलबार

देउवाको चन्द्रमा दाहिना बन्दै : आफू प्रधानमन्त्री बन्ने सम्भावना बढेको निष्कर्ष


शेरबहादुर देउवा

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसको नेतृत्वमा सरकार बन्ने सम्भावना बढेको बताएका छन् । यसअघि ‘पर्ख र हेर’को अवस्थामा रहेका देउवाले संघीय संसद भवन, बानेश्वरस्थित ल्होत्से हलमा हिजो शनिबार दिउँसो बसेको ससदीय दलको बैठकमा यस्तो धारणा सुनाएका थिए ।

यसअघि वैकल्पिक सरकार गठनका लागि भएका छलफलले ठोस गति नलिएको बताउँदै आएका देउवा हिजो भने उत्साहित देखिएको बैठकमा सहभागी एक सांसदले बताएका थिए । ती संसदका अनुसार देउवाले आफ्नै नेतृत्वमा सरकार गठनको सम्भावना बढेको बताएका थिए ।

उसो त एमाले मिलेमा केहि समयअघि आफ्नो दुवै हातमा लड्डु देखेका काँग्रेस सभापति देउवालाई पनि ८ रेक्टर स्केलको भूकम्पले धक्का यसअघि नआएको होइन । आफू प्रधानमन्त्री बन्ने भएमात्र सरकारमा जाने भनेर कुरेर बसेका देउवाको चन्द्रमा फेरि दाइना भएको हो की जस्तो संकेत देखिएको छ ।

देउवालाई धेरै अघि बुटवलका एक ज्योतिषीले ‘६ पटक प्रधानमन्त्री बन्छन्’ भनिदिएको विषय पहिलेदेखि चर्चामा रहँदै आएको छ । २०७४ साल कात्तिक ३० गते बिहीबार धनगढीमा पत्रकारहरूसँग कुरा गर्दै देउवाले ज्योतिषले आफूलाई ७ चोटी प्रधानमन्त्री हुने भविष्यवाणी गरेकोले चुनावपछि पनि आफू नै प्रधानमन्त्री बन्ने धारणा अभिव्यक्त गरेका थिए । त्यो समयमा देउवा नै चौथो पटक प्रधानमन्त्री बनेर कार्यरत थिए ।

ज्योतिष विद्यामा समेत विश्वास राख्ने उनको कुण्डलीमा ग्रह कस्तो छ भनेर बुझ्न त ज्योतिषीलाई नै सोध्नुपर्ला । तर ज्योतिषशास्त्र अनुसार चन्द्रमा गएर ठयाक्कै लग्नमा पुग्यो भने जे चितायो त्यही पुग्छ भन्ने विश्वास रहँदै आएको छ ।

यसअघि आफूलाई प्रधानमन्त्री बनाईदिने चाजोपाजो भारतले मिलाईदिएमा आकांक्षा राखेका पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले दिल्लीको अस्पतालको बेडवाट देउवालाई चोटिलो कटाक्ष गर्दै कुर्सीको लागि ज्योतिषको जोखाना र किनबेचको शृंखला चल्न सक्ने टिप्पणी गर्दै नेताहरुलाई पाठ सिकेर राष्ट्रिय सहमति गर्न सुझाव दिएका छन् । बाबुरामले विचारको क्षेप्यास्त्र देउवातर्फ सोझाएका थिए ।

‘विनाश काले विपरीत बुद्धि’ भनेझै अहिले नेकपा एमालेका नेताहरुले ‘आफ्नै घरमा आगो लगाएर’ खरानी बनाई अरुको घरमा भीख माग्दै हिडेका छन् । व्यक्तिगत शक्ति संघर्ष र सत्ता मोहको जालमा फसेर यिनीहरुले एमालेको विनाशको बाटोतिर लागिरहेका छन् ।

‘आफ्नै खुट्टामा बन्चरो’ हानेर एमालेका नेताहरु माधव नेपाल र झलनाथ खनाल तथा पार्टी अध्यक्ष केपी शर्मा ओली आफ्नै संसद्को सबभन्दा ठुलो पार्टीलाई विभाजन नजिक पुर्याएर विपक्षी दल नेपाली काँग्रेसका सभापति देउवाको शरणमा पुगेर खिसीको पात्र भई रहेका छन् ।

एमालेको उक्त खनाल-नेपाल समूहले वैशाख २७ अघि नै आफ्ना समूहका सांसदले सामूहिक राजीनामा गराएर आफ्नै पार्टीका प्रधानमन्त्री ओलीलाई धोका दिएर कांग्रेस-माओवादी गठबन्धनलाई बहुमत पुर्‍याउने खेलमा सहज बनाउन भर्यांङ हाल्दिन लागेको हो ।

यदि एमाले विभाजन भए ‘भाई फुटे, गवार लुटे’ भनेझैँ एमालेको अस्तित्व त संकटमा नै पर्ने निश्चित छ तर नेपाली काँग्रेसलाई आगामी निर्वाचनमा ठूलो चिट्ठा पर्ने देखिन्छ । आफ्नो व्यक्तिगत स्वार्थपूर्ति र सत्तामोहले दुई तिहाईको सरकार गिराएर एमालेका नेताहरुलाई ‘बाँदरको हातमा नरिवल’ जस्तै भएको छ । उनीहरुले नागरिकले दिएको यत्रो ठूलो अभिमतको उपेक्षा गरेकोले भविष्यमा उनीहरु त राजनीतिक रुपमा नांगिने निश्चित जस्तै देखिएको छ ।

अन्तत: नेकपा एमाले विभाजन हुने निश्चित जस्तै भएको छ । विशेष सुत्रका अनुसार हिजो शनिवार साँझ नेपाल समूहका २० जना भन्दा केहि बढी संख्याका सांसदले सांसद पदबाट राजीनामा लिखतमा हस्ताक्षर गरेर आफ्ना नेता माधव नेपाललाई बुझाएको जानकारी प्राप्त भएको छ ।

सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेर संसद पुन:स्थापना गरेपछि दुवै हातमा लड्डु भएका देउवाको मनस्थिति परिवर्तन भई रहने भएपनि फेरि कुनै ज्योतिषीले तपाईको ग्रह-दशा बलियो छ, प्रधानमन्त्री बन्ने योग आएको छ । अवसर नगुमाउनु होला; मौका आउछ पर्खिदैन, बगेको खोला फैकिदैन भनिदिएर हो कि उनी प्रधानमन्त्री हुन खुलेर लागेका छन् ।

त्यति मात्र नभएर माओवादी केन्द्रका अध्यक्ष र एमालेमा समानान्तर गतिबिधि गर्दै आएका माधव नेपालका साथै जसपाको उपेन्द्र यादव र डा. बाबुराम भट्टराईको दरिलो साथको आश्वासन पाएका देउवा फेरि प्रधानमन्त्री बन्न उक्सिएका हुन् ।

हिजो बसेको संसदीय दलको बैठकले प्रमुख प्रतिपक्ष दल कांग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउने पहल गर्ने र प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत पनि नदिने निर्णय गरेको छ । दिउँसो बसेको बैठकले प्रधानमन्त्री ओलीविरूद्ध अविश्वास प्रस्ताव ल्याइरहनुपर्ने अवस्था नरहेको निष्कर्ष निकालेको हो ।

प्रधानमन्त्री ओली स्वयंले नै विश्वासको मत लिन खोजिरहेको र उनलाई विश्वासको मत नपुग्ने देखिएपछि कांग्रेसले तत्काल अविश्वास प्रस्ताव ल्याउनु आवश्यक नभएको भन्दै पार्टीले गृहकार्य नगरेको प्रष्ट परेको हो । हिजो बसेको बैठकले गत चैत २१ गते कांग्रेसको केन्द्रीय समितिले गरेको निर्णयलाई अनुमोदन गर्दै संसदीय दलले पार्टी नेतृत्वमा सरकार निर्माण गर्ने पहल गर्ने निर्णय लिएको हो ।

काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणका अनुसार पहिलो कदमको रूपमा ओलीको प्रस्तावको विपक्षमा मतदान गर्न अन्य दललाई पनि आग्रह गर्ने र ओलीको असफलतापछि तत्काल आफ्नो नेतृत्वमा सरकार गठनमा जाने निर्णय पनि संसदीय दलले गरेको बताएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !