७ बैशाख २०८१, शुक्रबार

बहुप्रतिक्षित आजको मन्त्रिपरिषद् बैठकले किन महत्वपूर्ण निर्णय गरेन ?


मन्त्रिपरिषद् बैठक फाइल फोटो

काठमाडौं । आज बिहीबार साँझ प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठक सकिएको छ । बहुप्रतिक्षित आजको मन्त्रिपरिषद् बैठकले महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएतापनि किन कुनै निर्णय गर्न सकेन भन्ने जिज्ञाषा बढेको छ ।

सञ्चारमन्त्री पार्वत गुरुङका अनुसार आजको बैठक नियमित बैठक भएकोले त्यस्तो कुनै निर्णय नगरेको बताएतापनि यसभित्र लुकेको अन्तर्य अर्कै हुनसक्ने विश्लेषण गर्न सकिन्छ । नेकपा एमालेमा अध्यक्ष समेत रहेका केपी शर्मा ओली समूहको स्थायी कमिटी सदस्यहरुको बैठकमा वरिष्ठ नेता माधव नेपालसहित ४ जनालाई गरिएको कारबाही फिर्ता लिनेबारे छलफल भएको बुझिएको छ ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले बिहीबार विहान बोलाएको आकस्मिक स्थायी कमिटी बैठकमा कारबाही फिर्ता लिनेबारे छलफल भएको थियो । आजको स्थायी समिति बैठकमा गृह मन्त्री समेत रहेका बाग्मती प्रदेशको राष्ट्रियसभाका सदस्यको निर्वाचनका एमाले उम्मेदवार राम बहादुर थापाले आफ्नो विजय सुनिश्चित अवस्थामा मात्र उम्मेदवार बन्ने अडान राखेका थिए ।

एमाले स्थायी कमिटीको बैठक सकिएलगत्तै राष्ट्रपति भण्डारीलाई भेट्‍न गएका ओलीले शीतलनिवासवाटै मन्त्रिपरिषद्‌ बैठक बोलाउनुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रुपमा हेरिएको थियो । आज बस्ने मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले थप अध्यादेश ल्याएर राष्ट्रपति बिद्यादेवी भण्डारीसमक्ष जारी गर्न सिफारिस गर्ने प्रवल सम्भावना रहेको खनाल-नेपाल समूहको एमाले उच्च स्रोतले संकेत गरेको थियो ।

सोका लागि उनले आज बिहीबार राष्ट्रपति भण्डारीसँग छलफल गरिसकेका थिए । तर एकाएक ओली किन आफ्नो त्यो निर्धारित योजना ब्याक भए भन्ने चासो बढ्नु स्वाभाविक हो । बालुवाटार स्रोतका अनुसार राजनीतिक दल विभाजन सम्बन्धि अध्यादेश ल्याउनेबारे राष्ट्रपतिसँग समेत प्रधानमन्त्री ओलीले छलफल गरेको बुझिएको छ ।

आफू सत्तामा टिकिरहनका लागि ओलीले केही महत्वपूर्ण निर्णय गर्न सक्ने बुझिएको थियो । साथै आज बस्ने मन्त्रिपरिषद्को बैठकले कोरोना रोकथाम तथा नियन्त्रणको लागि आवश्यक निर्णय गर्नसक्ने सम्भावना समेत रहेको थियो ।

यता पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका बरिष्ठ नेता माधव नेपाल कांग्रेस सभापति शेरवहादुर देउवासँग छलफल गरेपछि सिधै राष्ट्रपति बिद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए । आज साँझ देउवा निवास बुढानिलकण्ठमा करीव १ घण्टा छलफल गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न नेपाल शीतल निवास पुगेका हुन् ।

नेपाल समूहले आफ्ना सांसदको सामुहिक राजीनामा दिने तयारी गरिरहेको बेला नेपाल राष्ट्रपति भेट्न शितल निवास पुग्नुलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ । एमाले मिलाउनका लागि ओलीलाई दबाब सिर्जना गर्न नेपाल राष्ट्रपति भवन गएको हुनसक्ने अनुमान गर्न सकिन्छ ।

देउवालाई भेटेर फर्किएपछि नेपालले जे जति अपेक्षा राखेर देउवालाई भेट्न बुढानिलकण्ठ गएपनि त्यो अनुसारको देउवावाट सुनिश्चितता नभएपछि नेपालको मनोवल केहि गिरेको अनुमान गर्न सकिन्छ । एमालेको ओली समूहको स्थायी कमिटी सदस्यहरुको बैठकमा वरिष्ठ नेता माधव नेपालसहित ४ जनालाई गरिएको कारबाही फिर्ता लिनेबारे छलफल गरेपछि ओलीप्रति नेपाल केहि लचिलो भएको हुनसक्ने विश्लेषण गर्न सकिन्छ ।

आफूविरुद्ध आफ्नै पार्टीको अर्को खनाल-नेपाल समूह आफूलाई एक्ल्याउन माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपाली काँग्रेसका सभापति देउवासँग गुटबन्दी गरेर आफुलाई चौतर्फी घेराबन्दीमा परेपछि राजनीतिक दल विभाजन सम्वन्धी विधेयक राष्ट्रपतिसमक्ष मन्त्रिपरिषद्वाट सिफारिश गर्नेसम्मको तयारीमा प्रधानमन्त्री ओली भएको खनाल-नेपाल समूहका एक नेताले बताएका थिए ।

यसरी नेपाल एमाले मिलाउनका लागि ओलीलाई दबाब सिर्जना गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न शितल निवास छिरेपछि नेपालवाट केहि ग्रिन सिग्नलको संकेत पाएपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को बैठकवाट त्यस्तो अप्रिय हुने निर्णय नगरेको हुनसक्ने विश्लेषण गर्न सकिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !