![शिवबहादुर खड्काको निधन](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/Shiva-Bahadur-Khadka.jpg?fit=768%2C524&ssl=1)
रामेछाप । संविधानसभा सदस्य एवं नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य शिवबहादुर खड्काको आज आइतबार निधन भएको छ । घरको बाथरुममा लडेर घाइते भएका खड्काको भक्तपुरको नागरिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
पश्चिम रामेछापको बेथानमा जन्मिएका ७८ वर्षीय खड्का नेपाल विद्यार्थी संघका संस्थापक सदस्य हुन् । पञ्चायतविरुद्ध कांग्रेसले सञ्चालन गरेको आन्दोलनमा उनी लामो समय सक्रिय थिए । २०४९ सालमा तत्कालीन जिल्ला विकास समितिका सभापतिमा निर्वाचित भएका थिए ।
कांग्रेस सभापति शेरबहादुर देउवाले खड्कालाई तत्कालीन नेपाली कांग्रेस प्रजातान्त्रिकको केन्द्रीय सदस्यमा मनोनयन गरेका थिए । बौद्धिक क्षेत्रबाट राष्ट्रपतिले मनोनित गर्ने कोटाबाट खड्कालाई संविधानसभाको सदस्य बनाइएको थियो ।