७ बैशाख २०८१, शुक्रबार

लुम्बिनीका सभामुख अन्योलमा : ठाकुरको स्पष्टोक्ति, जसपाका सांसदलाई कारवाही गरिएको छैन

ठाकुर भन्छन्, 'लुम्बिनी प्रदेशमा जसपाका कुनै पनि सांसदलाई कारबाही गरिएको छैन'


महन्त ठाकुरको पत्र पूर्णबहादुर घर्तीलाई

बुटवल । जनता समाजवादी पार्टी (जसपा) ले लुम्बिनी प्रदेशका आफ्ना कुनै पनि सांसदलाई कारबाही नगरेको स्पष्टोक्ति दिएको छ । लुम्बिनी प्रदेशसभाले जसपाको पत्रअनुसार प्रदेशसभा सदस्यबाट निस्कासन गरेको सूचना जारी गरेलगत्तै जसपाका अध्यक्ष महन्थ ठाकुरले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

सभामुख पूर्णबहादुर घर्तीका नाममा पत्र लेख्दै अध्यक्ष ठाकुरले प्रदेशमा पार्टी समायोजन नभएकाले कुनै पनि सांसदलाई कारबाही नभएको जानकारी गराएका हुन् । लुम्बिनी प्रदेशका ४ जना सांसदलाई पदमुक्त गर्ने निर्णय पार्टीको केन्द्रीय कारिणी समितिबाट नभएको भन्दै अध्यक्ष महन्थ ठाकुरले प्रदेशसभामा अर्को पत्र पठाएका हुन् ।

ठाकुरले लुम्बिनी प्रदेशमा जसपाका कुनै पनि सांसदलाई कारबाही गरिएको छैन भन्ने पत्र पठाएपछि लुम्बिनी प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्ती अन्योलमा परेका छन् । लुम्बिनी प्रदेशसभाले आज सूचना प्रकाशित गरी सन्तोष पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे पदमुक्त गरेको जनाएको थियो ।

ठाकुरले बिहीबार सभामुखलाई पठाएको पत्रमा लुम्बिनीमा पूर्व राजपा नेपाल र पूर्व समाजवादी पार्टीका प्रदेश समितिको समायोजन हुन नसकेको र संसदीय दललाई नै प्रदेशसभा सम्बन्धी सम्पूर्ण कार्य गर्न निर्देशन पठाइएको स्मरण गराएका छन् ।

उनले लुम्बिनी प्रदेशमा पूर्वराजपा नेपाल र संघीय समाजवादी फोरमको समायोजन हुन नसकी जसपा नेपालको प्रदेश समिति गठन हुन बाँकी रहे पनि जसपा नेपालका ६ सदस्यीय संसदीय दल गठन भई कार्यरत रहेकोले यसैलाई स्वायत्तता दिई प्रदेससभा सम्बन्धी सम्पूर्ण काम लोकतान्त्रिक प्रक्रियाबाट गर्न गराउन भनिएको छ ।

लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जसपाका यी ४ जना प्रदेशसभा सदस्यलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । उनले आफूविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका ३ जना र नगरेका १ जना गरी जसपाका ४ जना प्रदेशसभा सदस्यलाई मन्त्री बनाएका थिए ।

यसरी पार्टीको निर्देशन विपरीत मन्त्री बनेपछि ६ बैशाख गते सोमबार जसपाका लुम्बिनी प्रदेश अध्यक्ष अशोककुमार यादवले विज्ञप्ति जारी गरी मन्त्री पदको सपथ लिएका यी ४ जना सांसदसँग स्पष्टीकरण सोधेका थिए ।

मन्त्री पदवाट राजीनामा दिई चित्तबुझ्दो स्पष्टीकरण नदिएकोले जसपाले प्रदेशसभा सचिवालयमा निलम्बनको लागि सिफारिस गरेपछि लुम्बिनी प्रदेशसभाले कानुनी प्रक्रिया अवलम्बन गर्दै उनीहरुलाई पदमुक्त भएको सूचना जारी गरेको थियो ।महन्त ठाकुरको पत्र पूर्णबहादुर घर्तीलाई


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !