१२ बैशाख २०८१, बुधबार

गण्डकीका ३ जना प्रदेशसभा सदस्यमा कोरोना संक्रमण पुष्टि


गण्डकी प्रदेश

पोखरा । गण्डकी प्रदेशका ३ जना सांसदलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुने सांसदहरुमा नेकपा एमालेका २ जना र नेपाली कांग्रेसका १ जना सांसद रहेका छन् ।

नेकपा एमाले राजीव पहारी, प्रभा कोइराला र नेपाली कांग्रेस सांसद मनकुमारी गुरुङमा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै संसद सचिवालयका कर्मचारी सुष्मा गुरुङमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

हिजोको बैठकमा एमालेका पहारीले नै पीसीआर परीक्षणबिना बैठक राखिएको भन्दै आपत्ति जनाएका थिए । उनले सबै सांसद र कर्मचारीको परीक्षण नगरी सदन चल्न नहुने बताएपछि परीक्षण गर्दा उनमै संक्रमण देखिएको हो ।

गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध पेश गरिएको अविश्वास प्रस्तावमा आज मतदान गर्ने कार्यसूची रहेको छ । गत बैशाख २ गते दर्ता भएको अविश्वास प्रस्ताव १३ गते प्रदेशसभामा पेश गरिएको थियो ।

अविश्वास प्रस्तावमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी गरी २८ सांसदले हस्ताक्षर गरिसकेका छन् । ६० सदस्यीय प्रदेश सभामा सरकार ढाल्न ३१ मत आवश्यक पर्छ । हाल सरकारमा रहेको सत्तारुढ पार्टी नेकपा एमालेसँग २७ सिट मात्र छ ।

मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्ताव टुंगो लगाउने तयारी भइरहेको समयमा सांसदलाई कोरोना संक्रमणको पुष्टि भएपछि केहि अन्योल सिर्जना भएको छ । प्रदेशसभाको बैठक आज बुधबार दिउँसो १ बजे बस्दैछ ।

अविश्वास प्रस्तावमा भोलि विहीबार मतदान गर्ने तयारी रहेको छ । प्रदेशसभा सचिवालयले संक्रमित व्यक्तिलाई पनि नबोलिकन मतदानको व्यवस्था मिलाईएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु