१३ बैशाख २०८१, बिहिबार

माधव नेपाल र वामदेव गौतमबीच अचानक भेटवार्ता ? के भयो कुराकानी ?


माधव नेपाल र वामदेव गौतम

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ । नेता नेपाल जनकपुरबाट काठमाडौँ फर्किएलगत्तै उनीहरुको भेटवार्ता भएको हो ।

काठमाडौँको नागपोखरीमा रहेको एक क्याफेमा नेपाल र गौतमबीच भेट भएको हो । उनीहरुबीच लगभग २० मिनेट पार्टीको संकटको गम्भीर विषयमा कुराकानी भएको बुझिएको छ ।

प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालका साथै उनी पक्षधर नेताहरु र स्थायी कमिटी सदस्यमा समेटिएका वामदेव गौतमलाई कुनै जिम्मेवारी नदिइकन २६५ जना नेताहरुलाई विभिन्न जिम्मेवारीको कार्यविभाजन तोकेको बेला यी दुवै शीर्ष नेताहरुको भेटवार्ता हुनुलाई राजनीतिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ ।

हिजो बिहीबार साँझ गौतम र ओलीबीच डिनर मिटिङ भएतापनि गौतमले फागुन २८ गतेका निर्णयबाट पछि हट्न ओलीलाई आग्रह गगर्दा ओलीले आफू कुनै हालतमा पछि नहट्ने बताएपछि गौतम बिचैमा निस्केका थिए ।

उनले पार्टीमा अन्य शीर्ष नेताहरुसँग कुनै पनि छलफल नगरी स्थायी कमिटी विस्तार गरेको भन्दै आपत्ति जनाएका हुन् । त्यस्तै अस्ति बुधबार र हिजो बिहीबार ओली र नेपालबीच भेटवार्ता भएतापनि वार्ता निष्कर्षबिहिन भएर टुंगिएको थियो ।

आज शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सतारुढ दल नेकपा एमालेको महाधिवेशन आयोजक समितिको बैठकले २६५ जना नेताहरुलाई विभिन्न जिम्मेवारीको कार्यविभाजन तोकेको छ ।

माधव नेपाल पक्षधर केन्द्रीय सदस्यहरूलाई केन्द्रीय कमिटीमा यथावत राखे पनि कुनै जिम्मेवारी दिइएको छैन । यस्तै स्थायी कमिटी सदस्यमा समेटिएका वामदेव गौतमलाई पनि अहिले कुनै जिम्मेवारी दिइएको छैन ।

आज मात्रै अध्यक्ष ओलीले स्थायी कमिटी गठन, नेताहरुलाई जिम्मेवारी हस्तान्तरण गरेपछि ओलीको उक्त कदमको नेपाल र गौतम दुवैले विरोध जनाएका छन् । दुबैले गत फागुन २८ गते ओलीले एकलौटी गरेका निर्णय खारेज गर्नुपर्ने बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !