८ बैशाख २०८१, शनिबार

नेकपा एमालेले बादललाई नै राष्ट्रिय सभाको उम्मेदवार बनाउने


राम बहादुर थापा

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले रिक्त रहेको राष्ट्रिय सभा सदस्यको पदमा पार्टीका नवनियुक्त स्थायी समिति सदस्य रामबहादुर थापा ‘बादल’लाई उम्मेदवार बनाउने भएको छ । यसअघि नेकपा माओवादी केन्द्रबाट निर्वाचित बादललाई पार्टीले कारवाही गरेपछि उनको राष्ट्रिय सभा सदस्यको पद खाली रहेको थियो ।

साविकको नेकपाबाट राष्ट्रिय सभा सदस्य बनेका थापा एमालेमा लागेका कारण उनलाई माओवादी केन्द्रले सांसदबाट हटाएको थियो । सांसद पद खोसिएपछि पुन: गृहमन्त्री बनेका थापालाई आगामी उपनिर्वाचनमा पनि उम्मेदवार बनाउने एमाले अध्यक्ष ओलीले घोषणा गरेका हुन् ।

निर्वाचन आयोगले हिजो बिहीबार मात्र राष्ट्रियसभाको रिक्त पदका लागि उप निर्वाचनको मिति तोकेको थियो । आयोगले थापाको रिक्त स्थानमा राष्ट्रियसभा सदस्य चयनका लागि जेठ ६ गते निर्वाचनको मिति तोकेको हो ।

निर्वाचन आयोगले मन्त्रिपरिषद्को वैशाख ६ गतेको निर्णयअनुसार निर्वाचन आयोगले बागमती प्रदेश अन्य समूह तर्फबाट रिक्त रहेको राष्ट्रियसभा सदस्यको एक पद पदपूर्तिका लागि उपनिर्वाचनको मिति घोषणा गरेको हो ।

निर्वाचनका लागि बैशाख १० गतेदेखि १४ गतेसम्म कार्यालय समयभित्र आयोगमा राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा निवेदन दिन सूचना गरेको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !