७ बैशाख २०८१, शुक्रबार

माओवादीले सरकारलाई दिएको समर्थन फिर्ताबारे निर्णय गर्ने अधिकार प्रचण्डलाई


माओवादी केन्द्र

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय लिने अधिकार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ ।

पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन कहिलेदेखि फिर्ता लिने भन्ने निर्णय लिने अधिकार अध्यक्ष प्रचण्डलाई दिएको छ । पार्टी प्रवक्ता नाराणकाजी श्रेष्ठले भने, ‘समर्थन फिर्ताको औपचारिक पत्र कहिले दिने भन्ने बारेमा अध्यक्षले निर्णय गर्नुहुनेछ । जुन छिट्टै हुनेछ ।’

माओवादीले प्रतिनिधिसभा विघटन गरेसँगै वर्तमान सरकारलाई आफूहरुको समर्थन नरहने बताउँदै आएपनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको निर्णय संघीय संसद् सचिवालयलाई दिएको छैन । वैकल्पिक सरकार गठनको पहलकदमी लिइरहेको दाबी गर्दै आएको माओवादी केन्द्र समर्थन फिर्ताको निर्णयमा पुग्न सकेको छैन ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच बारम्बार द्विपक्षीय, त्रिपक्षीय छलफल भए पनि त्यसले आकार लिन सकेको छैन । कांग्रेसले केन्द्रीय कार्यसमितिबाट आफ्नै नेतृत्वमा नयाँ सरकार निर्माण गर्ने निर्णय गरिसकेको छ भने जसपाले पनि यसबारेमा स्पष्ट निर्णय लिइसकेको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भने ‘सरकारलाई सहयोग नगर्ने हो भने समर्थन फिर्ता लिन’ माओवादी केन्द्रलाई सार्वजनिक रूपमै आह्वान गरेका छन् । माओवादीले संसद् विघटनविरुद्ध एक ठाउँमा उभिएका विभिन्न राजनीतिक दलको सहभागितामा नयाँ सरकार बनाउने गरी छलफललाई तीव्रता दिएको छ ।

आजको बैठकले पार्टी सङ्गठन र भ्रातृ संगठनमा शुद्धीकरणको अभियान सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । बैठकले केही दिनभित्र राजनीतिक प्रतिवेदन तयार गरी स्थायी समितिमा प्रस्तुत गर्ने र स्थायी समिति बैठकले त्यसलाई केन्द्रीय समितिको बैठकका निम्ति प्रस्तावका रुपमा लैजाने निर्णय पनि गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

बैठकले कोभिड–१९ को प्रकोपबाट सुरक्षित रहन आम जनसमुदायलाई अपिल गर्ने निर्णय गरेको छ । पार्टीको सम्पूर्ण कमिटी र पंक्तिलाई कोभिड–१९ विरुद्धको जनचेतना र जागरणको अभियान सञ्चालन गर्न निर्देशन दिइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !