१३ बैशाख २०८१, बिहिबार

सभामुख सापकोटाविरुद्धको मुद्दा संवैधानिक इजलासमा


अग्नि सापकोटा फोटो फाइल

काठमाडौं । सभामुख अग्नि सापकोटाविरुद्ध परेको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । सभामुख सापकोटाविरुद्ध लामो समयदेखि चलिरहेको द्वन्द्वकालीन मुद्दाको पेसी सर्वोच्च अदालतको संवैधानिक इजलासमा चढेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको संवैधानिक इजलासमा दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा न्यायाधीश छन् । नियमित पेसीमा चढे पनि धेरै मुद्दाहरु त्यसभन्दा माथि रहेकाले आज सुनुवाइ हुने वा नहुने निश्चित छैन ।

यसअघि पटक–पटक सुनुवाइको पेशी तोकिएको यो मुद्दा आज सर्वोच्च अदालतको नियमित पेशीमा राखिएको छ । माओवादी युद्धका बेला अपहरणपछि मारिएका काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटा प्रमुख दोषी रहेको भन्दै सपकोटाविरुद्ध २०६८ सालमा मुद्दा परेको थियो ।

लामाकी पत्नी पूर्णिमाया लामा, मानव अधिकारकर्मी सुशील प्याकुरेल लगायतले २०६८ असार ६ गते दर्ता गरेको उक्त मुद्दामाथि प्रारम्भिक फैसला गर्दै तत्कालीन न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले उक्त मुद्दा संवैधानिक इजलासमा जाने आदेश गरेको थियो ।

संवैधानिक इजलासमा सापकोटाविरुद्ध ३ वटा मुद्दा छन् । लामाकी श्रीमति पूर्णिमाया लामाले २०६९ मंसिर ७ गते आफ्ना पतिको हत्यामा सापकोटाको हात रहेकाले तत्काल कर्तव्य ज्यानमुद्दा अघि बढाउन माग गर्दै रिट निवेदन दायर गरेकी थिइन् ।

साथै पत्रकार कनकमणि दीक्षित सहितले पनि अदातलको अवहेलना मुद्दा दायर गरेका छन् । उनलाई सभामुख बनाउने निर्णयप्रति असन्तुष्टि जनाउँदै राष्ट्रपतिका राजनीतिक मामिलाविज्ञ सुशील प्याकुरेलल राजीनामा समेत दिएका थिए ।

तत्कालिन नेकपाले प्रतिनिधिसभाको रिक्त सभामुखमा ज्यान मुद्दाका किटानी जाहेरी परेका अग्नि सापकोटालाई प्रस्ताव गरेपछि चर्को आलोचना भएको थियो । सापकोटाले आफू विरूद्धको मुद्दालाई द्वन्द्वकालीन मुद्दाको रूपमा हेरिनुपर्ने जिकिर गर्दै आरोप अस्वीकार गर्दै आएका छन् ।

यो पनि पढ्नुहोस्

सभामुख सापकोटाविरुद्ध संवैधानिक इजलासको पेशीमा चढेको मुद्दा किन हेर्न भ्याएन सर्वोच्चले ?

सर्वोच्च अदालतमा विचाराधीन मुद्दा हुँदाहुँदै सापकोटा सभामुखमा प्रस्तावित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !