बुद्धमार्ग र चाणक्यको नीति अंगिकार गरेका मुख्यमन्त्री पोखरेलको कूटनीति संकटमा Nepalpatra बुद्धमार्ग र चाणक्यको नीति अंगिकार गरेका मुख्यमन्त्री पोखरेलको कूटनीति संकटमा
५ असार २०७८, शनिबार

बुद्धमार्ग र चाणक्यको नीति अंगिकार गरेका मुख्यमन्त्री पोखरेलको कूटनीति संकटमा

'कुकुरलाई नुन, बैगुनीलाई गुन' : अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने जसपाका सांसदलाई मुख्यमन्त्री पोखरेलले बनाए मन्त्री


बुद्ध, शंकर पोखरेल र चाणक्य

काठमाडौँ । लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जनता समाजवादी पार्टी (जसपा) का ४ जना प्रदेशसभा सदस्यलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । उनले आफूविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका ३ जना र नगरेका १ जना गरी जसपाका ४ जना प्रदेशसभा सदस्यलाई मन्त्री बनाएका हुन् ।

सन्तोष पाण्डे, विजयवहादुर यादव र कल्पना पाण्डे लम्साल मन्त्री तथा सुमन रायमाझी राज्यमन्त्री बनेका उनीहरुले आजै सोमबार सपथ पनि लिएका छन् । माओवादी मन्त्रीले राजीनामा दिएका दुई मन्त्रालय, सामाजिक विकास मन्त्रालय टुक्रयाएर एक मन्त्री र एक राज्यमन्त्री बनाउने गरी चारै जनालाई सोमबार सपथग्रहण गराइएको छ ।

माओवादीका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी र सामाजिक विकासमन्त्री सुदर्शन बरालले सोमबार नै राजीनामा दिएका थिए । कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर मुख्यमन्त्री पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा पाण्डे, यादव र रायमाझीको पनि हस्ताक्षर थियो । आज लुम्विनी प्रदेशका मुख्यमन्त्री पोखरेलले अंगिकार गरेका सफल कूटनीतिलाई बुद्ध प्रेरणा र चाणक्यको नीतिसँग जोडेर बिस्तारमा चर्चा गर्ने कोशिश गरौ ।

बुद्धमार्ग प्रेरणाको पथमा मुख्यमन्त्री पोखरेल

कुनै दिन एक जना व्यक्ति रीसले चुर भएर आई दिनभर मनमा आएजति तथानाम गाली बुद्धलाई गरेछ । बुद्ध पनि शान्त चित्तले मुसुमुसु हास्दै सुन्दै रहे । साँझ पनि पर्दै जाँदा त्यो मानिस केही थकित हुँदै गयो ।

तब बुद्धले आफ्ना नजिकका कोही सहयोगीलाई आग्रह गर्दै भने कि, जाँउ उ थाक्यो होला, श्रद्धा एवं प्रेमपुर्वक भोजन गराउ । बुद्धको आग्रह सुन्ने बित्तिकै उनका सहयोगीले गाली गर्दै गरेका ती मानिसलाई श्रद्धापूर्वक भोजन गराएपछि तो मानिस धेरै अचम्मित र केही लज्जित भयो ।

खाना खाइ सकेर सो मानिस फेरि बुद्धको नजिक गएर अलि शान्त भई आफ्नो मनको जिज्ञाशा राख्यो र सोध्यो कि ‘दिनभर मैले गाली गरे, सरापे तर तिमीलाई कुनै प्रभाव परेन र उल्टै मुसुमुसु हासिरहयौ उल्टै खाना खुवाउन भन्यौ र खाइ आए पनि । यस्तो अचम्मित व्यवहार किन र के का लागि देखायौ ?’

अरुको आलोचना र कुरा कटाइमा के को चित्त दुखाउनु ? आफ्नो कमजोरी औल्याइदिए, राम्रै भो, सुधार्न पाइयो । हैन, बिनासित्ती र आधार कुरा काट्दैछ भने, त्यो स्वयं उसैले भोग्ने हो ।

बुद्धले मुस्कुराउदै भने ‘तिमीले मलाई दिनभर दिएका गालीहरुलाई मैले गाली कै रुपमा लिइन र लिन जरुरी ठानिन भने तिमीले दिएका गालीका बचनहरु त तिमीसँगै त रहेनी, होइन र ? भनी प्रतिप्रश्न गरे । तव, त्यो ब्यक्ति चकित भै आफ्नो कर्मप्रति केही लज्जित बन्यो ।

बुद्धको महानता अनि उदारता देखि नतमस्तक भएर शान्त एवं खुशी मन लिएर घर फर्क्यो । हो आज यो प्रसंगलाई लुम्विनी प्रदेशमा भएको दृष्टान्तलाई जोड्दा पदको आकांक्षा राखेका जसपाका नेताहरु मन्त्री पद पाएर तृप्त भएर मन्त्री बनेका छन् ।

नेपाली प्रख्यात उखान छ – ‘बैगुनीलाई गुन लगाउनु’ । त्यस्तै यो उखानलाई अर्को तरिकाले पनि भन्ने गरिन्छ – ‘कुकुरलाई नून, बैगुनीलाई गुन’ । हो आज लुम्विनी प्रदेशको राजनीति यो उखान चरितार्थ भएको छ । बुद्धले त्यो व्यक्तिलाई पनि यसै गरेका थिए ।

हो बैगुनीलाई गुन लगाउदा आपसी द्वन्द्व पनि मत्थर हुँदोरहेछ । शत्रु पनि मित्र हुँदा रहेछन् । बुद्धले पनि यस्तै बाटो अंगिकार गरेका थिए ।त्यस्तै अर्को प्रसिद्ध उखान छ – ‘ढुङ्गाले हान्नेलाई पनि फूलले हान्नुपर्छ’ । हो दुश्मन जे सोचेस् तिमीले मित्र ठान्नुपर्छ भन्ने रणनीति अपनाउदा यो संसारमा को बिरानो हुन्छ र ? यो संसारमा ।

सफल मानिसले शत्रुहरुको पनि मन जित्नु सक्नुपर्दछ । दन्किरहेको आगोमा पानी हाल्दा आगोको शक्तिले पानीको शक्तिलाई जितुन्जेल छुम छुम आवाज आउँछ । पानीको शक्तिले जितेपछि शान्त हुन्छ । आवाज बन्द हुन्छ । हो लुम्विनी प्रदेश यस्तै नै भएको छ आज ।

मानव समाजमा वर्गको जन्म पश्चात वर्गसंघर्ष चल्दै आएको छ र वर्गसंघर्ष को अन्त्य नभएसम्म वर्गसमाजमा वर्गसंघर्ष जारी रहन्छ । स्वाभाविक रुपमा वैज्ञानिक नियम हो कि वर्गसमाजमा विभिन्न वर्गका स्वार्थहरु एक अर्कोमा टकराँउछन र ती भिन्न-भिन्न विचार र दृष्टिकोणका रुपमा प्रतिबिम्बित बन्न पुग्छन । तसर्थ ती भिन्न विचारहरुको आधाशिलामा विभिन्न दृष्टिकोणको निर्माण हुन्छ । त्यहीवाट वर्गसंघर्ष शुरु हुन्छ । तर बुद्धमार्गले द्न्द्वात्मक भौतिकवादलाई बिसर्जनवादमा परिवर्तन गर्न सक्दो रहेछ ।

चाणक्यको नीतिको पथमा मुख्यमन्त्री पोखरेल

चाणक्य प्राचीन समयका एक महान दार्शनिक तथा सम्राट चन्द्रगुप्तका सल्लाहकार थिए । उनले अर्थशास्त्र, राजनीतिशास्त्र आदिका महान ग्रन्थहरू रचना गरेका थिए । उनले जीवनमा जो अनुभव प्राप्त गरे, जुन नियम बनाए ती आज पनि उत्तिकै सान्दर्भिक छन् ।

उनी कुटिल रणनीतिकार समेत थिए । उनले आफ्नो कुटनीतिको बलले एक सामान्य बालक चन्द्रगुप्तलाई विशाल भारतको सम्राट बनाइदिए । उनका भनाईहरु आजपनि सर्वत्र चर्चा हुने गर्दछ । शत्रुहरूको कमजोरीलाई चिनेर उसलाई आफ्नो काममा लाउने विशिष्ट प्रतिभाको भएका चाणक्य सधैँ आफ्नो शत्रुहरू माथि हावी रहेका थिए ।

मित्र र शत्रुको पहिचान भन्ने शीर्षकमा चाणक्यका अनुसार मानिसले आफ्ना मित्र र शत्रु चिन्न सक्नुपर्छ । हामीले सच्चा मित्र र शत्रु चिन्यौ भने हानीबाट बच्न सकिन्छ । जीवनमा मित्रका भेषमा शत्रु पनि आउँछन् । यिनीहरुबाट बच्नुपर्छ । शुत्रलाइ चिनेर उनीहरुबाट सधै बच्नुमा भलाई हुन्छ ।

तर आजको कलियुगको चरम भौतिकवादी समाजमा आफ्नो मुख्यमन्त्री पद संकटमा परेको बेलामा राजनीतिक स्वार्थ मिलेर लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले एउटा सफल चाणक्य नीतिको दृष्टान्त प्रस्तुत गरेका छन् ।

देश, काल र परिस्थिति अनुसार खतराको सीमा आंकलन गरेर अघि बढ्नु बुद्धिमान मानिसको चातुर्यता हो । यो चाणक्य नीतिको भित्री लुकेको अन्तर्य हो । शत्रुको अवस्था हेरेर उसँग मित्रता गाँस्न सक्नुपर्दछ । चतुर कुटनीतिज्ञ चाणक्यको नीति ख्याल राख्नु जरुरी छ । शत्रुहरूको कमजोरीलाई चिनेर उसलाई आफ्नो काममा लाउने विशिष्ट प्रतिभाको भएका चाणक्य सधैँ आफ्नो शत्रुहरूमाथि हावी रहेका थिए ।

कहिलेकाँही शत्रु २१० मा पुग्यो भने आफू ४२० मा पनि पुग्नुपर्दछ यदि आफू बलियो हुँदा तर आफू कमजोर हुँदा अनि शत्रुले आफ्नो अस्तित्व नै संकटमा पार्ने स्थिति आएमा यो दर्शनले काम गर्न सक्छ तर शत्रु विद्वान छ भने मात्र । हो यसै गरेका छन् लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज ।

भनिन्छ नि ‘मुख मित्र भन्दा विद्वान शत्रुको संगत गर्नु’ । यदि मित्र नै मुख छ भने उसले आफूलाई जतिखेर पनि जे गर्न सक्छ तर विद्वान शत्रु छ भने उसले बुद्धिको मात्र प्रतिस्पर्धा मात्र गर्न ज्यान नै खतरा हुने सम्भावना कम हुन्छ । बस मुख्यमन्त्री पोखरेलले चाणक्य नीतिको अनुशरण गरेर ठुलो दुर्घटना पर्न लागेको बिमानरुपी आफ्नो कुर्सीलाई बुद्धिमतापूर्वक सफल अवतरण गराएका छन् ।

बुद्धिमान मनुष्यले आफ्ना प्रतिष्पर्धीको शक्ति पहिचान गर्न सक्नुपर्छ । आफ्ना प्रतिष्पर्धीको हरेक गतिविधिमाथि नजर राख्नुपर्छ र त्यसै अनुसार आफ्नो राणनीतिमा परिवर्तन गर्नुपर्छ । चाणक्य नीतिका अनुसार शत्रु जब असाध्यै शक्तिशाली छन् भने आफू लुक्नु नै राम्रो हुन्छ ।

शक्तिशाली प्रतिष्पर्धीको अगाडि कहिले पनि कमजोर अवस्थामा जानु हुँदैन नभए हार सुनिश्चित छ । शक्तिशाली शत्रुलाई पराजित गर्नका लागि लुकेर उसको कमजोरीको अध्ययन गर्नुपर्छ र उचित समयको प्रतिक्षा गर्नुपर्छ । शत्रुलाई पराजित गर्नका लागि संयम र आत्मविश्वासको महत्वपूर्ण योगदान हुन्छ । हो यो रणनीतिको अवलम्वन गरेका छन् मुख्यमन्त्री पोखरेलले । राजनीतिलाई चाणक्यले त्यस्तो शास्त्र मानेका छन् कि यसको कुनै सिद्वान्त नै हुन्न र कुनै रुपरंग पनि हुन्न रे ।

निष्कर्ष

पञ्चायत कालमा पटक पटक प्रधानमन्त्री बनेका पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले बहुदलमा प्रधानमन्त्री हुँदा भनेका थिए,‘राजनीति सम्भावना नै सम्भावनाको खेल हो ।’ नेपाली राजनीतिमा हिजो टाउकाको मूल्य तोक्नेहरुले मूल्य तोकिएकासँग मिलेर प्रधानमन्त्री आलोपालो खाएकै हुन् । हो अहिले लुम्विनी प्रदेशमा भएको अप्राकृतिक गठबन्धन यस्तै भएको छ ।

एउटा चर्चित भनाइ छ : ‘राजनीतिमा कोही स्थायी शत्रु वा मित्र हुँदैन’ । एकले अर्कोको टाउकाको मूल्य तोकेका नेताहरु आपसमा मिलेर सत्ताको साझेदारी पनि नगरेका होइनन् । हुन पनि नेपालको राजनीति इतिहासमा विपरीत ध्रुवमा रहेका र एक अर्काका कट्टर शत्रुका रुपमा देखिएका दलहरु थुप्रै पटक एक ठाउँमा आएका छन् । एक अर्काको नामै सुन्न नचाहने शक्तिहरुले रातारात गठबन्धन बनाएर जनतालाई आश्चर्यमा पारेका छन् । हो आज यस्तै भएको छ लुम्विनी प्रदेशमा ।

एकअर्काको खेदो खन्ने दलहरुको बीचमा गठबन्धन बनाउनेदेखि लिएर सरकार निर्माण गर्ने काम विगतमा पटक-पटक भएकै हो । विगतमा एकअर्कालाई प्रमुख दुश्मन ठहर गर्दै कट्टर वैमनस्यता रहेका जसपा र एमालेवीच अनौठो गठबन्धनको सरकार बनेको छ । आफूविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जसपाका प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पोखरेलले मन्त्री बनाएका छन् ।

केन्द्रमा नयाँ सत्ता समीकरणको चर्चा चलेसंगै लुम्विनीमा एमाले र जसपाबीच निकै दुरी बढेको थियो । दुवै पार्टी एक अर्काको नाम नै सुन्न चाहदैन थिए । तर अन्ततः दुई दलबीच अप्राकृतिक सत्ता गठबन्धन नै भयो । त्यसैले कर्णालीमा एमाले-जसपा अप्राकृतिक सत्ता गठबन्धनको राजनीति कसरी अघि बढ्छ र कहिलेसम्म टिक्छ त्यो हेर्न कुर्नु नै पर्दछ ।

तर बुद्ध प्रेरणा र चाणक्यको नीति अंगिकार गरेर धरापमा परेको आफ्नो मुख्यमन्त्री पद तत्कालको लागि जोगाएपनि फेरि संकटमा परेको छ । जसपाले लुम्बिनी प्रदेशमा मन्त्री पदको सपथ लिने ४ नेतालाई निलम्बन गरी २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

जसपाको लुम्बिनी प्रदेश समितिका अध्यक्ष अशोककुमार यादवले सोमबार विज्ञप्ति जारी गरी मन्त्री पदको सपथ लिएका विजयबहादुर यादव, सन्तोष पाण्डे, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्सालसँग स्पष्टीकरण माग गरेका हुन् । उनले सरकारबाट राजीनामा दिई चित्तबुझ्दो स्पष्टीकरण नदिएमा सांसद पद नरहने गरी कारबाहीका लागि कानुनी प्रक्रिया अवलम्बन गर्ने पनि बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !