१२ बैशाख २०८१, बुधबार

जसले प्रधानमन्त्री ओलीविरुद्ध कर्णालीबाट विद्रोह गरे


प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापा

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभा बैठकमा विश्वासको मत पाएका छन् । नेकपा एमालेका कर्णाली प्रदेशका ४ जना सांसदले पार्टीको ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेपछि माओवादी केन्द्रको सरकार जोगिएको हो ।

नेकपा एमाले कर्णाली प्रदेशका ४ जना सांसदहरु प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापाले ‘फ्लोर क्रस’ गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका छन् ।

प्रकाश ज्वाला माधव नेपाल पक्षीय एमालेको कर्णाली प्रदेशका संयोजक हुन् । उनी केही दिनअघिसम्म शाही सरकारमा अर्थमन्त्री थिए । त्यस्तै नन्दसिंह बुढा पनि प्रकाश ज्वालासँगै मन्त्री थिए ।

कालीकोटका कुर्मराज शाही र दैलेखका अम्बर बहादुर थापा भने अब मन्त्रिपरिषदमा समेटिने समझदारी भएको छ । कर्णालीमा माधव नेपाल पक्षका ९ सांसद छन् । उनीहरूले जति मत चाहिने हो त्यति शाहीको पक्षमा दिने समझदारी अनुसार ४ जनाले दिएका हुन् ।

नेकपा एमालेकै सांसद देवी ओलीले भने विश्वासको मतको पक्षमा दिएको मत सभामुखले निर्धारण गरेको समयमा सच्याएकी थिइन् । विश्वासको मतको पक्षमा बहुमत पुगेको थाहा पाएपछि उनले मत सच्याएकी हुन् ।

शुक्रबारको बैठकमा उपस्थित ३७ जना सांसदमध्ये विश्वासको मतको पक्षमा २२ र विपक्षमा १५ जना सांसदले मत दिएका छन् । जसमा माओवादी केन्द्रका १२, नेपाली कांग्रेसका ६ र नेकपा एमालेका ४ जना सांसदले शाहीको पक्षमा मतदान गरेका हुन् ।

एमालेले माओवादी केन्द्रका शाही नेतृत्वको सरकारबाट बाहिरिँदै नयाँ सरकार निर्माणको गृहकार्य असफल भएको छ । एमाले एक्लैले बहुमत पुर्याउन सक्ने बहुमत आफ्नै सांसदले धोका दिएपछि तुहिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !