१३ बैशाख २०८१, बिहिबार

बादलको गृहमन्त्री पद चट हुने संकेत : नवराज सिलवालको भाग्य खुल्न सक्ने


केपी ओली र नवराज सिलवाल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रामबहादुर थापा ‘बादल’सहित केही मन्त्रीहरुलाई हटाउन लागेको स्रोतको भनाई छ । बादलको सट्टामा एमालेबाट प्रत्यक्ष निर्वाचन जितेका नवराज सिलवाललाई गृहको जिम्मेवारी दिने तयारी गरिएको ओली निकट नेकपा एमाले स्रोतको दावी छ ।

नेकपा माओवादी केन्द्र छोडेर नेकपा एमाले प्रवेश गरेका बादलको राष्ट्रिय सदस्य खोस्नको लागि माओवादीले राष्ट्रियसभा सचिवालयमा पत्राचार गरेकोले ओली सरकार रहिरहेको खण्डमा बादल ६ महिनाको लागि मात्रै गृहमन्त्री हुनेछन् । ओलीले बादललाई संगठन बिस्तारमा खटाएर उनको सट्टामा सिलवाललाई ल्याउन लागिएको स्रोतको भनाई छ ।

प्रधानमन्त्री ओलीले केहि दिनमा मन्त्रीमण्डलको परिवर्तन गर्ने तयारी गरेको बुझिएको छ । लामो समयदेखि मन्त्रालय सम्हालेका केही मन्त्रीहरुलाई हटाएर नयाँ अनुहारलाई मन्त्रालयको जिम्मेवारी दिने तयारी भइरहेको ओली निकट नेकपा एमाले स्रोतको भनाई छ ।

नवराज सिलवाल विगतमा नेपाल प्रहरीका पूर्व डीआईजी हुनुका साथै अहिले ललितपुर क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधि सभाका सदस्यको रूपमा रहेका छन् । ओलीले बादललाई एमालेको बाग्मती प्रदेश इन्चार्जको जिम्मेवारी दिई सकेका छन् ।

यसअघि केपी ओली दोस्रो कार्यकालमा प्रधानमन्त्री हुँदा शुरुमै सिलवाललाई गृहमन्त्री नभए गृहराज्यमन्त्रीका बनाउने चर्चा चलेको थियो । निर्वाचनमा मत माग्दा समेत सिलवालले आफू गृहमन्त्री बन्ने भनेर भित्री रुपमा मत मागेको बुझिएको थियो ।

प्रधानमन्त्री ओलीको भित्री इच्छा सिलवाललाई गृहमन्त्री बनाउने भएतापनि मन्त्रालय भागवण्डामा माओवादीको भागमा परेपछि सिलवालको गृहमन्त्री बन्न बाटो मेटिएको थियो । तर प्रधानमन्त्री केपी ओलीले यतिबेला सिलवाललाई पुन: गृहमन्त्री बनाउने तयारीमा रहेको बुझिएको छ ।

गृहमन्त्री सिलवाललाई बनाउन ओलीले बादललाई रिझाउन थालेको स्रोतले बताएको छ । बादल समेत ओलीको यस प्रस्तावमा सकारात्मक भएको स्रोतले जनाएको छ । नवराज सिलवालको चन्द्रमा दाहिने हुनसक्ने अनुमान गर्न सकिन्छ ।

यद्यपि सिलवाललाई गृहमन्त्री बनाएमा आफूले राखेको रक्षामन्त्री पद थापाले पाउन सक्ने पनि आंकलन गर्न सकिन्छ । नेपालको राजनीतिको बारेमा भविष्यवाणी गर्ने माहिर राजनीतिक विश्लेषक समेतको विश्लेषण फेल खाने देश नेपालमा अव के हुन्छ भन्ने कसैले पनि यकिन् गर्न गार्हो छ ।

कुरो र कुलो जता लागे पनि त्यतै जान्छ भनेझैँ आफ्नो स्वार्थ मिल्यो भने नेपालका राजनीतिज्ञहरु जे गर्न पनि तयार हुने दृष्टान्त नेपालमा पुरानै हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !