१३ बैशाख २०८१, बिहिबार

भीम रावलविरुद्ध मुद्दा दर्ता गर्ने तयारी : ३० लाख व्यक्तिको नाममा रकमान्तर गर्न लगाएको पुष्टि


भीम रावल

धनगढी । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटीको रकम व्यक्तिको खातामा राख्न लगाएको भन्दै एमाले नेता भीम रावल लगायतलाई मुद्दा दायर गर्ने तयारी भइरहेको छ । वित्तीय अपराध अन्तर्गत रावल सहित नेपवहादुर चौधरी, दिनेशचन्द्र सुबेदी र केशव रावल विरुद्ध मुद्दा दायरको तयारी अन्तिम चरणमा पुगेको छ ।

प्रदेश पार्टीको खातामा रहेको ३० लाख रकम व्यक्तिको खातामा रकमान्तर गरेको पुष्टि भएको छ । कृषि विकास बैंकले तत्कालिन एमालेलाई पत्र लेख्दै प्रदेश पार्टी कार्यालयका सचिव दिनेशचन्द्र सुवेदीको खातामा पार्टीको ३० लाख रकम रहेको पुष्टि गरेको छ ।

प्रदेश अध्यक्ष कर्ण थापालाई जानकारी नगराई गत पुस १३ गते कृषि विकास बैंकबाट ३० लाख रकम झिकिएको थियो । कृषि विकास बैङ्कमा रहेको २८२२५०१२६५४७७०१४ नम्बरको खाताबाट ३० लाख रकम सुवेदीको ०८२१९०१२७५८७६०१७ नम्बरको खातामा रकमान्तर गरिएको कृषि विकास बैङ्क धनगढी शाखाले नै पुष्टि गरेको छ ।

साबिक नेकपा प्रदेश अध्यक्ष कर्ण थापा, सचिव नेप बहादुर चौधरी र कार्यालय सचिव दिनेशचन्द्र सुवेदीको हस्ताक्षर मध्ये कुनै दुई जनाको हस्ताक्षरले खाता सञ्चालन हुन सक्ने व्यवस्था गरिएको थियो ।

नेकपामा विवाद बढेपछि प्रदेश इन्चार्ज भीम रावलको निर्देशनमा चौधरी र सुवेदीको हस्ताक्षरले पार्टीको रकम निकालिएको प्रदेश अध्यक्ष थापाको आरोप छ । थापाले पार्टीको रकम व्यक्तिको खातामा राख्न लगाएको भन्दै एमाले नेता भीम रावल लगायतलाई मुद्दा दायर गर्ने तयारी भइरहेको बुझिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !