७ बैशाख २०८१, शुक्रबार

पुनर्नियुक्ति पाएका ४ मन्त्रीलाई राष्ट्रपतिद्वारा गराइयो सपथग्रहण


पुनर्नियुक्ति पाएका ४ मन्त्रीलाई राष्ट्रपतिद्वारा गराइयो सपथग्रहण

काठमाडौं । पुनर्नियुक्ति पाएका ४ मन्त्रीले आज शुक्रबार साँझ राष्ट्रपति निवास शीतल निवासमा सपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्नियुक्त ४ मन्त्रीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएकी छिन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीमा टोप बहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्तिमा लेखराज भट्ट, सहरी विकास मन्त्रीमा प्रभु साह र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा गौरीशंकर चौधरीलाई सिफारिस गरेका थिए ।

नेकपा एमाले प्रवेश गरेपछि यी ४ जना मन्त्रीलाई माओवादी केन्द्रले पार्टीबाट निष्कासन गरेको थियो । प्रतिनिधिसभाको हिजो बिहीबार बोलाइएको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले नेकपा माओवादी केन्द्रले कारबाही गरेका ४ जना सांसद पदमुक्त भएको जानकारी गराएपछि उनीहरु सांसद पदका साथै मन्त्री पदबाट पनि पदमुक्त भएका थिए ।

प्रतिनिधिसभा सदस्य नरहेपछि मन्त्रीबाट स्वतः पदमुक्त हुने भएकाले पुनर्नियुक्ति नहुन्जेल मन्त्रालय नजाने भएका हुन् । पुनः मन्त्री पदमा नियुक्त भएर सपथग्रहण गर्नुपर्ने भएकाले त्यतिञ्जेलमा उनीहरु मन्त्रालय नजाने भएका थिए ।

प्रतिनिधिसभा सदस्य नभएको व्यक्ति ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्था अनुसार माओवादीबाट एमाले बनेका नेताहरुलाई पुनर्नियुक्ति दिइन लागेको हो । ६ महिनाभित्र उपचुनाव हुनुपर्ने भएकाले उनीहरु ४ जना सो समयसीमासम्म मन्त्री हुन पाउनेछन् ।

सपथग्रहण कार्यक्रममा प्रधानमन्त्री ओलीको उपस्थिति रहेको थियो । पुनर्नियुक्त गरिएका मन्त्रीहरूले आजै पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !