७ बैशाख २०८१, शुक्रबार

समर्थन फिर्ता गर न, राजीनामा त आइहाल्छ नि ! : प्रधानमन्त्री ओली


केपी शर्मा ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई दिएको समर्थन फिर्ता लिएमा राजीनामा दिने बताएका छन् । शनिबार एक कार्यक्रममा बोल्दै उनले आफूले राजीनामा माग्दैमा नदिने तर समर्थन फिर्ता लिएमा राजीनामा आउने बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले आफ्नो राजीनामा माग्दैमा दिन नसकिने स्पष्ट पारेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज १६५ सडकको एकैसाथ शुभारम्भ गर्दै उनले आफूलाई हटाउन सरकारलाई दिएको समर्थन फिर्ता लिन आग्रह गरे।

समर्थन फिर्ता नगर्ने तर राजीनामा दिनदिनै माग्ने गरेको उनको भनाइ थियो । “दिनदिनै मेरो राजीनामा मागेका छन् । एक दिन होइन । दुई दिन होइन । एउटाले होइन, दुईटाले मागेका छन् मागेको माग्यै छन्”, उनले भने, “मलाई हटाउन समर्थन फिर्ता लिइदेऊ भन्छु । तैपनि लिँदैनन् । अनि राजीनामा माग्दछन् । समर्थन फिर्ता गर राजीनामा त आइहाल्छ नि ।”

प्रधानमन्त्री ओलीले संसदीय अङ्क गणितले राष्ट्रिय आवश्यकताको सधैँ प्रतिनिधित्व नगर्ने भएकाले परिवर्तन गर्नुपर्ने बताए । “कहिले देशको आवश्यकता र संसद्को गणित फरक पर्छ । कहिले कृत्रिम ढङ्गले केही मानिसले संसदीय गणितलाई यताबाट उता, उताबाट यता सार्दिन्छन्, मिलाइदिन्छन्”, उनले भने, “संसदीय अङ्क गणितले राष्ट्रिय आवश्यकताको सधै प्रतिनिधित्व गर्छ भन्न सकिँदैन । त्यस्तो भयो भने सार्वभौम जनताबाट संसदीय अङ्क गणितमा यदि अनुपयुक्त खेल भइरहेको छ भने त्यसले अनुपयुक्त आकार लिइरहेको छ । त्यसले उपयुक्त आकार लिने सम्भावना कम छ । त्यस्तो अवस्थामा संसदीय अङ्क गणित देश र जनताको विकासको आवश्यकताका लागि ताजा जनादेशमा जानुपर्छ । त्यो राजनीति हो ।”

प्रधानमन्त्री ओलीले देश, जनता र विकासको आवश्यकता अनुसार संसद्को अङ्क गणित बनाइनुपर्नेमा जोड दिए । उनले यदि संसदीय अङ्क गणितले देश, जनता र विकासको आवश्यकतालाई प्रतिनिधित्व गर्दैन भने त्यस्तो अवस्थामा ताजा जनादेशमा जानुपर्ने जिकिर गरे ।

“संसद्लाई देशको आवश्यकताअनुसार अङ्कगणितीय बनावटमा लैजानुपर्दछ । संसदीय अङ्क गणितलाई भरसक मिलाउने प्रयास गर्नुपर्दछ” उनले भने, “यदि व्यवस्थापन भएनन् भने ताजा जनादेशमा जानुपर्दछ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !