७ बैशाख २०८१, शुक्रबार

कपिलवस्तु पुगेर खुसी हुँदै प्रचण्डले भने, ‘छिट्टै नयाँ सरकार बन्छ, तपाईंहरु सबैलाई बधाइ छ’


प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कपिलवस्तु पुगेर खुसी हुँदै छिट्टै नयाँ सरकार बन्ने भएको संकेत गर्दै कार्यक्रममा उपस्थित सबैलाई बधाइ दिएका छन् ।

आज शनिबार कपिलवस्तुमा आयोजित पार्टीको जिल्ला स्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले नेपाली कांग्रेसले हिजो गरेको निर्णयपछि राजनीतिले कोल्टे फेरेको र छिट्टै नयाँ सरकार बन्ने निश्चित भएको दावी गरेका छन् ।

उनले आज शनिबार ४ बजेबाटै नयाँ सरकार गठनबारे घनिभूत रुपमा छलफल अगाडि बढाउने बताएका हुन् । उनले भने, ‘साढे तीन बजे काठमाडौं फर्केर ४ बजेबाट काठमाडौंमा नयाँ सरकार गठन बारेका बैठकहरु घनिभूत रुपले अगाडि बढाउने छु भनेर आएको हुँ । देशको राजनीतिले कोल्टे फेरेको छ, म तपाईहरु सबैलाई बधाई भन्न चाहन्छु ।’

हिजो र आजसम्मको घटनाक्रमबाट राजनीतिले कोल्टे फेरेको उनले बताए । नेपाली कांग्रेसले ओलीको तत्काल राजीनामा मागेपछि नयाँ सरकार बन्ने निश्चित भएको प्रचण्डको भनाइ थियो । यस्तै प्रचण्डले प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको निर्णयबाट देशको राजनीतिले कोल्टे फेरेको पनि दाबी गरे ।

उनले भने, ‘मलाई काठमाडौंमा साथीहरुले नयाँ सरकार गठनमा तपाईंले तुरुन्तै पहल लिनुपर्छ, अहिले कपिलवस्तु नजानुस भन्नुभएको थियो । ‘तपाईंहरु सबैलाई बधाई छ । अब छिट्टै नयाँ सकार बन्ने छ । नयाँ परिस्थिति बन्ने छ । त्यही कामका लागि म छिट्टै काठमाडौं जानुपरेको हो ।’

नयाँ सरकार गठनका लागि तुरुन्तै पहल लिनुपर्ने सुझाव आएको पनि उनले खुलासा गरे । लामो मौनतापछि केन्द्रीय कार्यसमिति बैठकबाटै काँग्रेसले सरकार निर्माणका लागि पहल गर्ने निर्णय लिएपछि प्रचण्ड उत्साहित देखिएका छन् ।

यस्तै काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि आज शनिबार नै प्रधानमन्त्री केपी ओलीलाई हटाएरै छाड्ने दावी समेत गरेका छन् । पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए काँग्रेसले संसदमा अविश्वासको प्रस्ताव ल्याउने बताएका छन् ।

नेपाली कांग्रेस नुवाकोटद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा पौडेलले प्रधानमन्त्री ओलीलाई नहटाए लोकतन्त्र खतरामा रहने भएकाले संसदमा अविश्वासको प्रस्ताव ल्याएर भएपनि हटाउने बताएका हुन् ।

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिले प्रधानमन्त्री फेर्ने निर्णय गरिसकेको बताउँदै प्रधानमन्त्री ओलीले आफै राजीनामा नदिए काँग्रेसको नेतृत्वमा अविश्वासको प्रस्ताव संसदमा लैजाने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !