११ बैशाख २०८१, मंगलबार

प्रचण्ड भन्छन्, ‘राज्य चरम निरंकुश र फाँसीवादको बाटोमा अघि बढ्यो’

परिवर्तनको प्रक्रिया उल्ट्याउन खोजियो : अध्यक्ष प्रचण्ड


प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्य चरम निरंकुश र फाँसीवादको बाटोमा अघि बढेको बताएका छन् । अध्यक्ष ‘प्रचण्ड’ले नेपाली जनताको ७ दशकदेखिको सङ्घर्षबाट प्राप्त उपलब्धि उल्ट्याउन खोजिएको बताएका छन् ।

आज शुक्रबार प्राध्यापक माणिकलाल श्रेष्ठको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्ड भने, ‘नेपाली जनताको ७ दशक लामो संघर्षबाट प्राप्त उपलब्धीलाई उल्टाउन खोजिँदैछ, राज्य आफैंले मुलुकलाई प्रतिगमनतिर धकेल्न खोज्दैछ ।’

उनले लोकतन्त्रका मूल्य मान्यता र आन्दोलनका उपलव्धीहरु, शहीदहरुले बगाएको रगतलाई अपमान गर्ने र समाजलाई निरंकुशतन्त्रतिर लैजाने प्रयास भएको बताए । प्रचण्डले गत पुस ५ गते संसद विघटन गरेर त्यसको संकेत दिएको भन्दै आन्दोलनको बलमा संसद पुनर्स्थापना भएपनि प्रतिगमनकारी षडयन्त्रको अन्त्य भई नसकेको बताए ।

उनले नियम, मुल्य र मान्यताले काम नगर्ने तर सेटिङले काम गर्ने विडम्वनाको समाना गर्नुपरिरहेको भन्दै यस्तो अवस्थामा माणिकलाल श्रेष्ठको जीवनबाट शिक्षा लिने बेला भएको बताए ।

प्रतिगमनका विरुद्ध एक भएर जान र आवश्यक परे आन्दोलन गर्न पनि पछि पर्न नहुने उनको भनाई थियो । स्व. माणिकलाल श्रेष्ठको व्यक्तित्वको प्रशंसा गर्दै उहाँ स्मरण गरिरहनुपर्ने खालको व्यक्तित्व रहेको बताए । उनले वर्तमान परिस्थितीमा उनको जीवनीबाट निकै शिक्षा लिनुपर्ने बताए ।

पछिल्ला दिनमा केही मानिसले देखाएको व्यवहार चरम निरङ्कुश भएको टिप्पणी गर्दै उनले परिवर्तनले स्थापित गरेका मूल्य तथा मान्यता उल्ट्याउन भइरहेको प्रयास जनताले परास्त गर्ने उल्लेख गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !