८ बैशाख २०८१, शनिबार

अदालतको अवहेलना सम्बन्धी प्रधानमन्त्री ओलीविरुद्धको मुद्धा पेशीमा


सर्वोच्चलाई प्रधानमन्त्रीले दिएको जवाफ

काठमाडौं । सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अदालतको अवहेलना सम्बन्धी मुद्दा सुनुवाइका लागि आज पेशी तोकिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन रहेको प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाका विषयमा टिप्पणी गरेको भन्दै दर्ता भएको अवहेलना मुद्दामा आज शुक्रबार पेशी तोकिएको हो ।

न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरि फुयालको इजलासमा परेको सो मुद्दा अन्तिममा रहेकाले सुनुवाई हुने कम सम्भावना रहेको छ । प्रधानमन्त्रीले दिएका अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै गत माघ १३ गते अधिवक्ता कञ्चनकृष्ण न्यौपाने र कुमार आचार्य लगयतले अवहेलना मुद्दा दायर गरेका थिए ।

सो रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न भनेको थियो र प्रधानमन्त्रीले सोही बमोजिम जवाफ पेश गरिसकेका छन् ।

गत ५ पुसमा गरिएको प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिटमाथि सुनुवाइ जारी रहँदा प्रधानमन्त्री ओलीले संविधानमा संसद् पुनःस्थापनाको व्यवस्थै नभएको उल्लेख गर्दै संवैधानिक इजलासमा हुँदै आएको बहसलाई ‘तमासा’ भनेका थिए ।

२०७७ माघ ९ गते कार्की ब्याङ्केटमा दिएको अभिव्यक्तिविरूद्ध मुद्दा उनले मुद्दा हालेका हुन् । प्रधानमन्त्री ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीबारे टिप्पणी गर्दै ‘एकजना बाजे वकिललाई समेत लिएर गएछन् तमासा देखाउन’ भन्ने टिप्पणी गरेका थिए।

यो पनि पढ्नुहोस्

सर्वोच्च अदालतलाई प्रधानमन्त्री ओलीको अडानयुक्त जवाफ

प्रधानमन्त्री ओली किन अचानक गए सर्वोच्च अदालत ?

प्रधानमन्त्री ओलीलाई लिखित जवाफसहित अदालतमा उपस्थित हुन सर्वोच्चको आदेश


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !