६ बैशाख २०८१, बिहिबार

मुख्यमन्त्री राईले मन्त्रिमण्डल विस्तार गर्दै, प्रचण्ड-नेपाल समूह छोडेका सांसदहरुले बम्पर उपहार पाउदै


प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश फाइल फोटो

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिमण्डल विस्तार गर्न लागेका छन् । प्रचण्ड-नेपाल समूह छोडेर ओली समूहमा लागेका सांसदहरुले नेकपाको केन्द्रिय सदस्यका साथै राज्यमन्त्री अथवा मन्त्री हुने भएसंगै बम्पर उपहार पाउने देखिएको छ ।

अहिले कायम सबै मन्त्रालयमा र २ जनालाई राज्यमन्त्री नियुक्त गर्न लागेको मुख्यमन्त्री राईको सचिवालयले बताएको छ । आजै दिउँसो उनीहरुलाई शपथ ग्रहण गराउने कार्यक्रम तय गरिएको बताइएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयका राज्यमन्त्री अम्बिरबाबु गुरुङ र भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर मन्त्रीमा बढुवा हुने भएका छन् । दुवै जनालाई आ-आफ्नै मन्त्रालयको मन्त्रीको जिम्मेवारी पाउने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ ।

यसैगरी माओवादी केन्द्रको संसदीय दलको नेता छोडेर आएका टंक आङ्बोहाङलाई आर्थिक मामिला तथा योजना मन्त्री, माधव नेपालको क्याम्प छोडेर आएकी उषाकला राईलाई सामाजिक विकास मन्त्रीको जिम्मेबारी दिने निश्चित भएको हो ।

त्यस्तै प्रदेशसभा सदस्य कला घले र राजकुमार ओझालाई राज्यमन्त्री नियुक्त गर्ने तयारी छ । घलेलाई भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री र ओझालाई उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारी दिने तयारी गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले जनाएको छ ।

अहिलेसम्म मुख्यमन्त्री राईले भौतिक पूर्वाधार विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी र आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका छन् । सामाजिक विकास मन्त्रालयको जिम्मेवारी हाल आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले सम्हाल्दै आएका छन् ।

मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावमा गरेको हस्ताक्षर एमालेका खनाल-नेपाल समूहका सांसदहरुले सामूहिक फिर्ता लिने घोषणा गरेसंगै मुख्यमन्त्री पद जोगिएपछि राईले मन्त्रिमण्डल विस्तार गर्न लागेको हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !