१३ बैशाख २०८१, बिहिबार

अन्तत: एमालेले सोध्यो माधव नेपालसहित ४ जना नेतालाई स्पष्टीकरण


माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाल

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले माधव नेपालसहित ४ जना नेतालाई स्पष्टीकरण सोधेको छ । एमालेले वरिष्ठ नेता नेपालसहित नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोधेको हो । केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार पार्टी महासचिव ईश्वर पोखरेलले हस्ताक्षर गरेको पत्र साेमबार नेताहरुलाई पठाइएको हो ।

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहको नेकपा एमालेको गत शनिबार बालुवाटारमा बसेको बैठकले एमालेका ४ नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । फागुन २८ गते एकलौटी रूपमा केन्द्रीय सदस्य थपेको र विधान संशोधन गरेको भन्दै नेपाल समूह शनिबारको बैठकमा अनुपस्थित भएको थियो ।

पार्टी कार्यालयका कर्मचारीले चारै जना नेताका घरमा स्पष्टीकरण पत्र पुर्‍याइएको एमाले पार्टी कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिए । स्वकीय सचिवहरूमार्फत् स्पष्टीकरण पत्र थमाइएको उनले बताए । पार्टी हितविपरीत किन गतिविधि गरेको भनेर तीन दिने स्पष्टीकरण सोधिएको बुझिएको छ ।

वरिष्ठ नेता नेपाल र स्थायी कमिटी सदस्य पाण्डेले पत्र बुझे पनि उपाध्यक्ष रावल र उपमहासचिव भुसालले भने बुझिसकेका छैनन् । वरिष्ठ नेता नेपालको पत्र उनकै स्वकीय सचिव नितेज पौडेल र स्थायी कमिटी सदस्य पाण्डेलाई पठाइएको पत्र स्वकीय सचिव सञ्जीव पाण्डेले बुझेका हुन् ।

चित्तबुझ्दो स्पष्टीकरण नदिए पार्टी विधान अनुसार थप कारबाही गरिने निर्णय पनि बैठकले गरेको थियो । खनाल-नेपाल समूहले भने यसअघि नै लिखित स्पष्टीकरण नदिने सर्वजनिक रुपमा बताइ सकेको छ ।

एमालेका नेता भीम रावलले आफ्नो सांसद पद गएपनि केपी शर्मा ओलीसँग नझुक्ने दावी गर्दै आएका छन् । नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीका नेताहरुलाई स्पष्टीकरण सोध्ने अधिकार अवैध केन्द्रीय कमिटीलाई नरहेको दावी गरेका छन् ।

यो पनि पढ्नुहोस्

ओलीले स्पष्टीकरण मागेपछि उल्टै भीम रावलले दिए यस्तो ‘धम्की’

माधव नेपालसहित एमालेका ४ जना नेतालाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !