८ बैशाख २०८१, शनिबार

सूर्य थापा एकाबिहानै खनिए प्रचण्डप्रति, दिए अहिलेसम्मकै ठुलो चुनौती


सूर्य थापा र प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा आज एकाबिहानै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति खनिएर अहिलेसम्मकै ठुलो चुनौती दिएका छन् ।

सामाजिक संजाल फेसबुकमा आज बिहान लेख्दै उनले प्रचण्डको कडा शब्दमा आलोचना गरेका छन् । हिजो आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रचण्डले केपी ओली २५ औं वर्षदेखि विदेशीबाट पालित पोषित व्यक्ति भएको आरोप लगाएपछि थापाले उनको अभिव्यक्तिलाई काउन्टर दिएका हुन् ।

प्रचण्डको उक्त अभिव्यक्तिप्रति घोर आपत्ति प्रकट गर्दै थापाले आज बिहानै ‘रिसाएको बिरालोले खाबो चिथोर्छ’ भन्दै प्रचण्डको मनोदशा क्रमशः बिथोलिएर पूर्वाग्रह र द्वेषको दलदलमा भासिएको आरोप लगाएका छन् । उनले प्रचण्डलाई गतिलो जबाफ फर्काएका छन् ।

उनले लेखेका छन्, ‘पुष्पकमल दाहालकाे मनाेदशा क्रमशः बिथाेलिएर पूर्वाग्रह र द्वेषकाे दलदलमा यसरी भासिएकाे छ कि डिप्रेसनमा फस्दै जाँदा शायद यस्तैयस्तै मनाेदशा प्रकट हुने गर्छ । धेरै पहिले एकजना मनाेविद्ले भनेकाे सम्झन्छु, यस्तो समस्यामा परेका मानिसहरू असफलता र निराशाकाे सिकार बन्दै जान्छन् र समयक्रममा आत्महत्या गर्न समेत पछि पर्दैनन् । प्रचण्डलाई संभवत: यही प्रकारकाे समस्याले ग्रस्त पारिरहेकाे छ कि !’

उनले थप लेखेका छन्, ‘विगतमा दस बर्ष सशस्त्र आन्दोलन गरेर १७ हजार नागरिककाे जीवनलीला समाप्त गर्दा, नेपालका भाैतिक पूर्वाधारमा बम ब्लास्ट र आगजनी गरी बिध्वंस पारेर देशलाई ५० बर्ष पछाडि धकेल्ने कृत्य गर्दा, अनि हिंसा मच्चाउँदा उहाँलाई कसले पालित पाेषित गरेर कहाँकाे पावनभूमिमा सुरक्षित गरेकाे थियाे ? नाेयडा, दिल्ली, सिलिगुडी, लखनउ, पटना, पञ्चाय, गाेरखपुरआदि ठाउँ कहाँ पर्छन्, जहाँ उहाँले नेपालका विभिन्न नेताहरूलाई भेट्न बाेलाउने गर्नुभएको थियाे ? र, १२ बुँदे समझदारी कहाँ भएको थियाे ?’

थप लेख्दै उनले भनेका छन्, ‘उहाँले कसकाे सुरक्षा र ज्वाइँ सत्कारमा त्यहाँ जिविकाेपार्जन गर्नुभएकाे थियाे ? नेपालका विद्राेही नेता कहाँ र कसकाे पाेल्टामा पालितपाेषित र सुरक्षित थियाे ९.५ बर्षसम्म ? कहाँ कस्ताे कायलनामा कागज गरेर त्यस्ताे सुविधा, सत्कार र सुरक्षा प्राप्त भएको थियाे महाशयलाई ?आज धेरै बकबक नगरेर ऐनामा आफ्नाे अनुहार हेर्दा र राष्ट्रविरूद्द गरेका तमाम अपराधमा पश्चाताप गर्दा बरू मानसिक शान्ति मिल्थ्याे हाेला कि ? आज जनताले कसरी लिने गरेका छन् ? तपाईंको केपी शर्मा ओलीसँग तुलना हुने त कुनै पक्ष त छ ? राम्रोसँग हेक्का राखेर लज्जाबाेध गर्नु श्रेयस्कर हाेला ! तथ्यहीन र दुराशयपूर्ण आराेप र गालीगलाेज त कसैले सुन्दैन, पत्याउँदैन र विश्वास पनि गर्दैन ।’

सूर्य थापा एकाबिहानै खनिए प्रचण्डप्रति, दिए अहिलेसम्मकै ठुलो चुनौती


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !