१३ बैशाख २०८१, बिहिबार

जसपा सरकारमा जाने बढ्यो सम्भावना : ओली र ठाकुरवीच चैत्र १० गतेभित्रै सहमति हुनसक्ने


केपी ओली र महन्त ठाकुर

काठमाडौं । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्त ठाकुरवीच नयाँ सत्ता गठबन्धन गर्ने बारेमा सहमति नजिक पुगेको बुझिएको छ । ओली र ठाकुरवीच चैत्र १० गतेभित्रै सहमति हुनसक्ने भएपछि जसपा सरकारमा जाने जाने सम्भावना बढेको छ ।

जसपाले अघि सारेका माग प्याकेजमै सहमति गर्ने मुडमा प्रधानमन्त्री ओली पुगेको बुझिएको छ । स्रोतका अनुसार यसअघि सत्तारूढ नेकपा (एमाले) र जसपा नेपालका नेताहरुबीच भएका पटक-पटकका छलफलको निष्कर्ष अनुसार नै प्रधानमन्त्री ओली जसपाका माग पूरा गर्नेगरी अघि बढेका छन् । सत्ता संकटमा परेपछि प्रधानमन्त्री ओलीले सत्ता सहकार्यको लागि जसपाका नेताहरुसँगको छलफललाई अघि बढाएका थिए ।

सर्वोच्च अदालतले २३ फागुनमा नेकपाको नामको आधिकारिकताको विवाद टुँगो लगाएर ऋषि कट्टेलको नेकपालाई आधिकारिकता दिएसँगै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पनि ब्युँतिएका हुन् । नेकपा (माओवादी केन्द्र) ले सरकारलाई दिएको समर्थन अझैसम्म पनि फिर्ता लिएको छैन् ।

प्रधानमन्त्री ओलीले आफू अहिलेपनि बहुमतमा रहेकोले विश्वासको मत लिन तत्काल जरुरी नभएको बताउँदै आएका छन् । उनले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिए आफूले संसद्बाट विश्वासको मत लिने पनि प्रधानमन्त्री ओलीको भनाई बाहिर आईसकेको छ ।

यो बीचमा प्रधानमन्त्री ओलीलाई हटाएर नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जसपा नेपालबीच सहकार्य गर्नेबारे पनि छलफल भएका छन् । जसपा अहिले सत्ता समिकरणमा निर्णायक शक्ति केन्द्र बनेको छ । जसपाभित्र पनि महन्त ठाकुर र राजेन्द्र महतो तथा डा. बाबुराम भट्टराई र उपेन्द्र यादव गरी दुई धार देखिएको छ ।

पहिलो धारले प्रधानमन्त्री ओलीलाई नै निरन्तरता दिनुपर्ने पक्षमा लविङ गरेको छ भने दोस्रो धार प्रधानमन्त्री ओलीलाई जसरी पनि सत्ताबाट विस्थापित गर्नुपर्ने पक्षमा छ । जसपाभित्रको आन्तरिक किचलो र विवादका कारण पार्टीको केन्द्रिय कार्यकारिणी समितिको बैठक समेत प्रभावित बनेको छ ।

तर, जसपामा यतिवेला सांसदहरुको अंकगणित हेर्दा ठाकुर-महतोको नै पल्ला भारी भएर उनीहरु प्रधानमन्त्री ओलीसँग नै बढि छलफल र परामर्शमा छन् । जसपानिकट उच्च स्रोतले जनाए अनुसार प्रधानमन्त्री ओली उनीहरुले उठाएका सबै माग पूरा गर्नेगरी अघि बढेका छन् ।

जसपा नेपालले रेशम चौधरीको रिहाई, मुद्दा फिर्ता, लाल आयोगको प्रतिवेदन सार्वजनिक र बन्दीहरुको रिहाईको माग राखेको छ । यी चारवटै माग पूरा गर्न प्रधानमन्त्री ओली सकारात्मक देखिएका छन् । स्रोतले दिएको जानकारी अनुसार जसपाका माग पूरा गर्न सरकार सकारात्मक रहेको र यही चैत्र १० गतेभित्र नै सहमति हुने सम्भावना बढेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !