११ बैशाख २०८१, मंगलबार

प्रचण्ड भन्छन्, ‘प्रधानमन्त्रीमा मेरो दाबी छैन’


प्रचण्ड फाइल फोटो

सिन्धुली । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री पदमा दाबी नरहेको बताएका छन् । प्रेस सङ्गठन नेपाल सिन्धुलीले आज सिन्धुलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफू र आफ्नो पार्टीले प्रधानमन्त्री पदमा दाबी नगरेको बताएका हुन् ।

उनले भने, “अबको प्रधानमन्त्री को बन्छ भन्ने राजनीतिक सहमतिबाट हुन्छ, जुन अहिले दलबीच छलफल चलिरहेको छ ।” “सहमति अब धेरै टाढा छैन”, उहाँले भन्नुभयो । लोकतन्त्र, समावेसी, समानुपातिक र संविधानविरुद्धका चलखेल अझै पनि नरोकिएको उनले बताए ।

प्रधानमन्त्रीको कार्यशैलीप्रति असुन्तुष्टि जनाउँदै दाहालले सत्य, न्याय र विधिको सधै जीत हुने बताए । अझै पनि कम्युनिष्टको बृहत्तर एकता हुनुपर्दछ भन्दै उनले सबै इमान्दार कम्युनिष्ट एकताका पक्षमा उभिनुपर्ने बताए ।

केन्द्रमा सरकार परिवर्तन नभएसम्म प्रदेशको सरकार पनि परिवर्तन नहुने अध्यक्ष दाहालले बताए । उनले भने, “सर्वदलीय बैठकमा राष्ट्रपतिले त सामान्य कुरा नै राख्नुभयो, बङ्गलादेश भ्रमण लगायतका विषयमा जानकारी गराए, तर प्रधानमन्त्रीले संसद् नि चल्दैन, फेरि पनि विघटनमै जानुपर्छ भन्ने खालले प्रस्तुत हुनुभयो, यसले फेरि पनि राजनीतिक दललाई चिन्तित तुल्याएको स्थिति छ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !