७ बैशाख २०८१, शुक्रबार

राष्ट्रपति भण्डारीले प्रमुख दलहरुका शीर्ष नेताहरु र पूर्व प्रधानमन्त्रीहरुसँग आज छलफल गर्दै


विद्यादेवी भण्डारी फाइल फोटो

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रमुख दलहरुका शीर्ष नेताहरु र पूर्व प्रधानमन्त्रीहरुसँग छलफल गर्दै छिन् । आज मंगलबार दिउँसो ४ बजेका लागि सर्वदलीय बैठक बोलाइएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।

नयाँ सत्ता समीकरणको चरम गुटबन्दी चलिरहेको र सत्तारुढ दल नेकपा एमालेका दुई समूहवीच पुनर्मिलन भएको सन्दर्भमा राष्ट्रपति भण्डारीले सर्वदलीय बैठक बोलाउनुलाई राजनीतिक वृत्तमा एकदम चासोका साथ हेरिएको छ ।

बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको छ ।

समसामयिक राजनीतिक विषयबस्तु तथा देशको पछिल्लो राजनीतिबारे छलफल गर्नका लागि राष्ट्रपति भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरुका प्रमुख र पूर्व प्रधानमन्त्रीहरुलाई सर्वदलीय छलफलका लागि बोलाएकी हुन् ।

सर्वोच्च अदालतले नेकपाको एकता पूर्ववत अवस्थामै फर्काइदिएपछि नेकपा एमाले र माओवादी केन्द्र साविककै अवस्थामा क्रियाशील भएपछि सत्ता समीकरणमा हेरफेरको सम्भावना तीव्र रुपमा बढेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गर्दै आएको सरकारलाई नेकपा माओवादी केन्द्रले समर्थन नगरेको अवस्थामा प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्ने हुन्छ । आगामी राजनीतिक परिस्थिति र संकटको निकासबारे छलफल गर्न राष्ट्रपति भण्डारीले नेताहरुलाई बोलाएको बुझिएको छ ।

पछिल्लो समयमा दलहरुबीच बढेको अविश्वास र सत्ता समीकरणका लागि एक अर्काबीच छलफल भइरहेका बेला राष्ट्रपति भण्डारीले सर्वदलीय बैठक डाक्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !