८ बैशाख २०८१, शनिबार

ओली-नेपालको प्याच अपले प्रचण्डलाई छट्पटी : आत्तिएर देउवा र बाबुरामको शरणमा


प्रचण्ड, देउवा र बाबुराम

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक्कासी आफ्नो पार्टीको केन्द्रिय कमिटी बैठक केही दिनका लागि स्थगित गरेर नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको शरणमा पुगेका छन् ।

हिजो निर्णय गर्न बाँकी रहेका धेरै एजेन्डाहरु पास गर्ने भनिएको बहुप्रतिक्षित केन्द्रिय कमिटी बैठक एक्कासी स्थगित गरेर केन्द्रले अपनाएको रणनीतिलाई अर्थपूर्ण रुपमा लिइएको छ । आज पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकले संसदमा रहेका मुख्यतया दुई दलसँग वार्ता गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

सर्वोच्चमा पुनरावलोकनमा जाने, संसदमा भएका दलसँग वार्ता गर्ने र जिल्ला तथा प्रदेशमा नेताहरू संगठन विस्तारका काममा जाने निर्णय भएको उनले बताए । पार्टीका तर्फबाट सरकारमा गएका मन्त्रीलाई फिर्ता बोलाइएको र पत्रसमेत पठाइएकोमा अहिलेसम्म उनीहरूले जवाफ नदिएकोले अब त्यसैलाई आधार बनाएर पार्टीले निर्णय लिने पनि श्रेष्ठले बताए ।

अब सरकार निर्माणबारे अन्य दलसँग वार्ता गर्नुपर्ने र नेकपाको विवादमा सर्वोच्चले गरेको फैसलाको पुनरावलोकनमा जानुपर्ने भएकाले बैठक केही दिन नबस्ने नेता श्रेष्ठले बताए । नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग वार्ता गर्ने निर्णय गरेको पनि उनले जानकारी दिए ।

नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग वार्ता गर्ने निर्णय गरेर आफ्नो केन्द्रिय कमिटीको बैठक केहि दिनका लागि स्थगित गरेको भनेतापनि नेकपा एमालेमा ओली समूह र खनाल-नेपाल समूहवीच हुन लागेको डिभोर्स एक्कासी प्याच अपमा परिणत हुने संकेत देखिएपछि प्रचण्ड छट्पटिदै आत्तिएर देउवा र बाबुरामको शरणमा पुग्ने निर्णय गर्न बाध्य भएको देखिन्छ ।

आफ्नो पार्टीवाट मन्त्री बनेका ७ जनासहित २३ जनालाई ओलीले ललिपप देखाई भुल्याएर आफ्नो पार्टीमा राखी माओवादी केन्द्रमा फर्कन रोकेपछि नै प्रेसर बढेर तनावमा आएका प्रचण्डलाई ओली र नेपालको अंकुरण हुन लागेको मायाप्रेमले स्वयम् उनको मुटुमा छुरा हानेझैँ भएको छ ।

एमालेका पूर्ववत दुई समूहलाई विभाजन गरे भनेर मनमनै खुसी भएका प्रचण्डलाई एकपछि अर्को धोका खाँदै गएजस्तो अनुभूति महसुस भएको छ । उनलाई बल्ल अनुभूति भएछ कि के हो यो त सव नाटक पो रहेछ । बरु मलाई हटाउन नेकपाका यी दुवै समूहले फुटेजस्तो नाटक गरेर आफूलाई किनारा लगाउन रचिएको ग्राण्ड डिजाइन पो रहेछ भन्ने चेत खुलेर सपनावाट झसङ्ग बिउझिएर हत्तपत्त होशमा आएजस्तो अनुभूति भएको हुनसक्ने अनुमान गर्न सकिन्छ ।

नेकपालाई दुई तिहाईको सरकार बनाउन माओवादी केन्द्रको साथ चाहिने नै थियो । नेपाली काँग्रेससँग त एकता हुने नै भएन बरु नहुनु भन्दा कानो मामा बेश भनेझैँ बृहत कम्युनिष्ट एकता भनेर घोषणा गर्ने जसले गर्दा माओवादी केन्द्रको साख पहिलाको निर्वाचनको तुलनामा धेरै नै कम भएर आएकोले यसलाई पार्टी एकीकरणको नाटक गर्ने अनि यसमा प्रचण्ड, बाबुराम लगायतका आए भने माओवादीको अस्तित्व लोप भएर जाने आंकलन ओलीले गरेरै एकताको नाटक गरेको हुनसक्ने आशंका गर्न त सकिन्छ नि ।

जे होस् ओली र नेपाल मिले भने एमाले साख त्यति घट्ने देखिदैन । ओलीले एकदिनमै २१० स्थानीय तहको केन्द्र जोड्ने पक्की सडकको बालुवाटारमा बसेर शुभारम्भ गरिरहेका छन् । उनी कहिले प्रदेश नम्वर १ को झापा पुगेर एकदिनमै ३६ वटा अथवा ३ दर्जन योजनाको शिलान्यास र उद्घाटन गरे भने प्रदेश नम्वर ७ को कञ्चनपुरमा पुगेर दैजी छेला औधोगिक क्षेत्रको शिलान्यास गरेका छन् ।

प्रधानमन्त्री ओलीले नयाँ नक्सा छापेको, सिके राउत र विप्लवलाई मूलधारको राजनीतिमा ल्याएको, अहिले गरेका शुभारम्भ, शिलान्यास र उद्घाटनको तथ्यांक बर्णन गरेर नै आगामी निर्वाचनमा फेरि नेकपा एमालेलाई ठुलो पार्टी बनाउन सक्ने प्रशस्त सम्भावना देखिन्छ । प्रधानमन्त्री ओलीले जसरी माओवादी केन्द्रलाई पत्तासाफ गरे त्यसरी नै जसपा र नेपाली काँग्रेसलाई फुटाएर छिन्नभिन्न बनाउने रणनीतिमा भएको विश्लेषणसम्म त गर्न मिल्ला नि ।

यदि एमालेको पुनर्मिलन भएमा आगामी निर्वाचनमा एमाले नै ठुलो पार्टी हुनसक्ने अनुमान मात्र गर्न सकिन्छ । यस्तो विषम परिस्थितिमा सत्ता र शक्तिमा सधै बसिरहन चाहने प्रचण्डलाई जसरी भएपनि एमालेमा विभाजन ल्याउनुपर्ने बाध्यता छ । नेपाली काँग्रेसको सभापति भएर एकपटक प्रधानमन्त्री हुन चाहेका नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पनि एमालेलाई जसरी भएपनि विभाजन गर्नुपर्ने भन्दै हिडेका पौडेलसंग प्रचण्डको रणनीति ठयाक्कै मिल्न जान्छ ।

उसो त एमाले मिलेमा केहि समयअघि आफ्नो दुवै हातमा लड्डु देखेका काँग्रेस सभापति देउवालाई पनि ८ रेक्टर स्केलको भूकम्पले पर्ने असर जस्तै धक्का लाग्ने देखिन्छ । उनी पनि आफू प्रधानमन्त्री बन्ने भएमात्र सरकारमा जाने भनेर कुरिरहेका छन् ।

यता दिल्लीको अस्पतालको बेड सर्जरी गर्न बस्दा समेत लगातार ट्वीट गरेर सवै दललाई खवरदारी गर्न पछि नपरेका जसपा संघीय परिषद् अध्यक्ष डाक्टर साब भट्टराईले पनि इण्डियाले मेसो मिलाईदिएमा धमिलो पानीमा माछा मरेझैँ प्रधानमन्त्री पद हत्याउने रणनीतिमा छन् । बाबुराम बरु ओली प्रधानमन्त्री रहिरहनुभन्दा देउवालाई समर्थन गर्ने मोडमा छन् । उनले महन्त ठाकुरको केपी ओलीसंग पर्न लागेको मायाप्रेमलाई बिथोली रहेका छन् ।

उता नेपाली काँग्रेस छोडेर तराईको राजनीतिमा लागेका महन्त ठाकुर आफूभन्दा जुनियर डा. रामबरण यादव देशको राष्ट्रपति भईसक्दा आफू नेपाली राजनीतिवाट किनारा लागेको निरासालाई शक्तिमा बदल्न यस्तै अस्थिर राजनीतिमा प्रधानमन्त्रीको पद पाइन्छ भनेर दाउ हेरेर बसेका छन् ।

यदि एमाले मिलेमा नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपा यी सवै पिडित दलहरु फेरि एक ठाउँमा सत्ता साझेदारीका लागि आउन सक्ने छनक बुझेर प्रचण्ड देउवा र भट्टराईको शरणमा पुगेका छन् । यिनीहरुको गठबन्धन बन्छ कि बन्दैन त्यो त भविष्यले बताउला । जे होस् अहिले प्रचण्डको निन्द्रा बिग्रिएको छ । उनी छटपटीमा भएर आत्तिएको मनस्थितिमा भएको जस्तो उनको फेस रिडिंगवाट र उनले देखाउने ब्यबहारले प्रष्ट झल्किन्छ ।

यो पनि पढ्नुहोस्

माओवादी केन्द्रले केहि दिनका लागि बैठक किन गर्यो स्थगित ?

ओली-ठाकुर भर्सेज दाहाल-देउवा सत्ता गठवन्धन

प्रचण्डलाई छटपटी : देउवालाई भेटेलगत्तै बाबुराम भट्टराईलाई भेट्न पुगे टोखा

माधव पक्षले साथ छाडेपछि प्रचण्ड छटपटीदै, देउवालाई भेट्न पुगे बुढानीलकण्ठ

प्रचण्डको अफरमा शेरबहादुर देउवा सकारात्मक, अब के होला ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !