११ बैशाख २०८१, मंगलबार

नेपालमा फेरि अशान्ति मच्चिने संकेत : वैद्यले दिए पुनः बन्दुक उठाउने चेतावनी

मोहन वैद्य भन्छन्, 'नेपालमा फेरि बन्दुक उठ्छ'


मोहन वैद्य

काठमाडौं । नेपालमा फेरि अशान्ति मच्चिने संकेत देखिएको छ । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले पुनः बन्दुक उठाउने चेतावनी दिएका छन् । उनले क्रान्ति गरेपछि मात्रै शान्ति आउने भन्दै उनले नेपालमा फेरि बन्दुक उठ्ने दाबी समेत गरे ।

आइतबार नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध जवस तथा मोर्चाहले काठमाडौंको शान्तिबाटिकामा आयोजना गरेको विरोध सभामा महासचिव वैद्यले नेपालमा क्रान्ति पुरा नभएकाले शान्तिको सम्भावना नरहेको बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले केही समय अघि सबै पार्टीहरु संसदवादी मूलधारमा आएको अभिव्यक्ति दिएकोप्रति टिप्पणी गर्दै महासचिव वैद्यले क्रान्तिकारीहरु संसदवादी मूलधारमा नभएको र आफूहरुले वर्तमान व्यवस्था नमान्ने पनि बताए ।

उनले भने–‘प्रधानमन्त्रीजीले दुईवटा कुरा भन्नुभयो । एउटा कुरा के भन्नुभो भने अब सब संसदवादी मुलधारमा आए भन्नुभो । यो झुठ हो । सरासर झुठ हो । संसदवादी मूलधारमा छैनन् । हामी यो व्यवस्थालाई मान्दैनौँ । त्यसकारण संसदीय मूलधारमा जाने कुरा आउँदैन । क्रान्ति गर्नुपर्छ । पहिलो कुरा त्यो हो । दोस्रो कुरा, अब शान्तिको नयाँ युग शुरु भो भन्नुभयो । यो पनि झुठ हो । विप्लवजीहरुले सम्झौता गर्न बित्तिकै शान्तिको युग उहाँहरुले भनेजस्तो शुरु भएको छैन । यहाँका समस्याहरु हुन, जबसम्म समाधान हुँदैन, तबसम्म शान्तिको युग शुरु हुँदैन । सत्ताधारी वर्गले जनतालाई शोषण, उत्पीडन, दमन गर्ने यी कम्युनिष्ट नामधारीहरु शहिदको रगतको आहालमा डुबेर सत्तामा जाने, अनि शान्ति कसरी हुन्छ ? शान्तिको संविधान छैनन् । शान्तिको युग क्रान्ति गरेपछि आउँछ । बन्दुक उठाएपछि के हुन्छ ? बन्दुक उठ्छ ।’

क्रान्ति गरेपछि मात्रै शान्ति आउने भन्दै उनले नेपालमा बन्दुक उठ्ने दाबी समेत गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले केही समय अघि सबै पार्टीहरु संसदवादी मूलधारमा आएको अभिव्यक्ति दिएको प्रति टिप्पणी गर्दै महासचिव वैद्यले क्रान्तिकारीहरु संसदवादी मूलधारमा नभएको र आफूहरुले वर्तमान व्यवस्था नमान्ने पनि बताए ।

महासचिव वैद्यले मजदुर, किसान, महिला, दलित, आदिबासी जनजाति, मधेसी, लगायतको समस्या समाधान नभएको भन्दै समस्या समाधानको निम्ति क्रान्तिको तयारी गर्नुुपर्ने बताए ।

सरकार र नेत्रविक्रम चन्द ‘विपल्व’ नेतृत्वको नेकपाबीच तीनबुँदे सहमति भई विपल्व समूह नेपालमा मूलधारको राजनीतिमा आएकोले अव नेपालमा शान्ति हुने प्रधानमन्त्री ओलीले बताएका थिए ।

आज मात्र सिरहाको लहानस्थित मालपोत कार्यालयको पहिलो तल्लामा रहेको मोठ शाखामा दिउँसो १ बजेतिर भएको विस्फोटमा परी ८ जना घाइते भएका थिए । घटनास्थलमा जयकृष्ण गोइत नेतृत्वको भूमिगत संगठन जनतान्त्रिक तराई मुक्ति मोर्चाको पर्चा भेटिएको छ । तर, कसैले पनि अहिलेसम्म औपचारिक जिम्मा भने लिएको छैन ।

घटनास्थलमा गोइत नेतृत्वको भूमिगत संगठन जनतान्त्रिक तराई मुक्ति मोर्चाको पर्चा भेटिएसंगै मधेशका जनता थप आतंकित भएका छन् । साथै वैद्यले आजै नेपालमा पुनः बन्दुक उठाउने चेतावनी दिएसंगै के नेपालमा फेरि अशान्ति मच्चिने त होइन भन्ने आशंका आम नेपाली जनतामा बढेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !