६ बैशाख २०८१, बिहिबार

सरकार र जसपाबीच आज पनि वार्ता हुँदै, होला त सहमति ?


प्रधानमन्त्री ओलीसँग बालुवाटारमा जसपा भएको छलफल

काठमाडौं । सरकार र जनता समाजवादी पार्टी (जसपा) बीच आज कार्यदलस्तरको बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजे कार्यदलस्तरको बैठक बस्न लागिएको जसपाले बनाएको कार्यदलका सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिए ।

हिजो प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको छलफल सकारात्मक भएकाले आज थप गृहकार्य गरेर टुङ्गोमा पुग्न कार्यदलको बैठक बस्न लागिएको उनको भनाइ छ । जसपाले कर्ण र सर्वेन्द्रनाथ शुक्ल सदस्य रहने गरेर दुई सदस्यीय कार्यदल बनाएको हो ।

जसपाले निलम्बित सांसद रेशम चौधरी लगायत नेता-कार्यकर्ताको रिहा तथा मुद्दा फिर्ता गर्नुपर्ने, संविधान संशोधन गर्नुपर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग अघि सारेको छ । आफूहरुको मागप्रति सरकार सकारात्मक देखिएको जसपाका नेताहरुले बताएका छन् ।

सर्वोच्च अदालतको पछिल्लो निर्णयसँगै नयाँ सरकार समीकरण कस्तो हुने भन्ने निर्णायक भूमिका जसपाको हातमा पुगेको छ । तर, जसपाले अहिले नै सत्ता समीकरणबारे निर्णय गरिसकेको छैन ।

जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले जसपा मुसा दौडमा नभएको बताएका छन् । देश संकटमा परेका बेला नेताहरूको भूमिका अपेक्षित स्तरको नभएको पनि भट्टराईको भनाइ छ । सामाजिक संजाल ट्वीटरमा आज बिहान लेख्दै उनले अदालतको कृपाले अलिअलि लाज बचेको बेला पुन: उही म्युजिकल चेयरको खेलमा लाग्नु सट्टा समस्याका संरचनात्मक कारण खोतल्ने, आफ्नो आत्मसमीक्षा गर्ने र अग्रगामी निकास दिने बेला भएको भन्दै एमालेका नेताहरुलाई संचेत गराएका छन् ।

सरकारले यी मुख्य ३ वटा माग सरकारले पुरा गरेमा जसपा सरकारमा जाने संकेत दिएको छ । बैठक सकिएपछि बालुवाटारवाट बाहिरिनु अघि जसपाका नेताहरु र प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री बिष्णु पौडेलको हाउभाउ र शरीरको भाषा बुझ्दा पनि वार्ता सकारात्मक भएको र एमालेले जसपाको सहयोग खोजे जस्तो देखिन्छ भने यी मुख्य ३ वटा मागहरु भन्दा अझ ठूलो भावी पद पाउने आकांक्षा राखेका जसपाका नेताहरु पनि खुशी देखिन्छन् ।

जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई ओलीसँग सहकार्य गर्ने पक्षमा थिएनन् । तर रेशम चौधरीको रिहाइ सबैको साझा एजेण्डा भएकोले ओलीसँग सत्ता साझेदारीमा उनीहरु सकारात्मक भएको विश्लेषण गर्न सकिन्छ साथै यसमा दक्षिणको छिमेकी मित्रराष्ट्रको दवाव पनि हुनसक्ने देखिएकोले यादव र भट्टराई पनि सरकारमा जानको लागि सहमति जनाएपछि हिजो बालुवाटार प्रधानमन्त्री ओलीलाई भेट्न गएको जस्तो देखिन्छ ।

नेकपा एमाले र जसपालाई आफूले सरकारसँग अघि सारेका मागहरु जसरी भएपनि पूरा गर्न लगाउनु पर्ने बाध्यता रहेको छ भने नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो नेतृत्वको सरकार टिकाइ रहनुपर्ने बाध्यता नै छ । प्रधानमन्त्री ओलीलाई सरकार टिकाइ राख्न थप १८ सांसद आवश्यक पर्दछ । निलम्वित बाहेक ३२ सांसद रहेका जसपाको एउटा खेमालाई भएपनि साथ लिने रणनीतिमा ओली छन् ।

जसरी भएपनि माया-प्रेम गरेर बिहे गर्नुपर्ने बाध्यता भएजस्तै दुवै पक्षलाई एक अर्कोमा सम्झौता गरी मिलेर सत्ता समीकरणमा अघि बढ्नुपर्ने स्थिति सिर्जना भएकोले गर्दा आज हुने वार्ता सहमतिमा पुग्न सक्ने आंकलन मात्र गर्न सकिन्छ ।

यो पनि पढ्नुहोस्

बाबुराम भन्छन्, ‘जसपा मुसा दौडमा छैन है’ : होला त ओलीसँग सत्ता साझेदारी ?

एमाले र जसपा वीचको वार्ता सकारात्मक, जाला त सरकारमा ?

जसपाको मुख्य एजेण्डा रेशम चौधरी रिहा, होला त रिहा ?

जसपाका एमालेसँग तीन माग, होला त सत्ता साझेदारी ?

सत्तामा टिकिरहन प्रधानमन्त्री ओलीको यतिठुलो रणनीति

प्रधानमन्त्री ओलीसँग भएको छलफल सकारात्मक : जसपा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !