१३ बैशाख २०८१, बिहिबार

एमाले र जसपा वीचको वार्ता सकारात्मक, जाला त सरकारमा ?


प्रधानमन्त्री ओलीसँग बालुवाटारमा जसपा भएको छलफल

काठमाडौँ । प्रधानमन्त्री एवं सत्तारुढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरुबीच आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट भएको छ । जसपाले सरकारमा सहभागी हुन राखेको तीनबुँदे शर्तमा प्रधानमन्त्री ओली सकारात्मक देखिएका छन् ।

जसपाका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेता राजेन्द्र महतो, अशोक राई लगायतका नेता एमालेसँगको छलफलका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । जसपाले प्रधानमन्त्री ओलीसँग आज भएको छलफल सकारात्मक रहेको प्रतिक्रिया दिएको छ ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै जसपा नेता लक्ष्मणलाल कर्णले आजको छलफल सकारात्मक दिशामा केन्द्रित रहेको र आइतबार कार्यदल तहमा थप विचार विमर्श हुने जानकारी दिए । समाजवादीले उठाउँदै आएको संविधान संशोधन, सांसद रेशम चौधरीको रिहाइ, आफ्ना कार्यकर्तामाथि लगाइएका मुद्धा फिर्ता लगायतका मागमा दुई दलबीच छलफल भएको हो ।

जसपाले कैदीबन्दीको रिहाइ, मुद्दा फिर्ता एवं संविधान संशोधनको माग राख्दै आएको छ । आजको छलफलमा प्रधानमन्त्रीले ती मागका विषयमा आफू सकारात्मक रहेको बताएको नेता कर्णको भनाइ छ ।

कार्यदल स्तरमा थप छलफल गर्ने गरी आजको बैठक सकिएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार आजको वार्ता सकारात्मक भएको र शुक्रबार पनि कार्यदल स्तरमा वार्ता जारी रहनेछ ।

जसपासँग छलफलका लागि नेकपा (एमाले) का तर्फबाट नेताहरु सुवास नेम्वाङ, विष्णुप्रसाद पौडेल र राजन भट्टराई सम्मिलित कार्यदल गठन गरिएको छ । यस्तै जसपाका तर्फबाट नेताहरु सर्वेन्द्रनाथ शुक्ल र कर्ण सम्मिलित कार्यदल गठन भएको छ । सो कार्यदलमा केही नेताहरु थप गर्ने तयारी छ ।

सरकारले यी मुख्य ३ वटा माग सरकारले पुरा गरेमा जसपा सरकारमा जाने संकेत दिएको छ । बैठक सकिएपछि बालुवाटारवाट बाहिरिनु अघि जसपाका नेताहरु र प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री बिष्णु पौडेलको हाउभाउ र शरीरको भाषा बुझ्दा पनि वार्ता सकारात्मक भएको र एमालेले जसपाको सहयोग खोजे जस्तो देखिन्छ भने यी मुख्य ३ वटा मागहरु भन्दा अझ ठूलो भावी पद पाउने आकांक्षा राखेका जसपाका नेताहरु पनि खुशी देखिन्छन् ।

जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई ओलीसँग सहकार्य गर्ने पक्षमा थिएनन् । तर रेशम चौधरीको रिहाइ सबैको साझा एजेण्डा भएकोले ओलीसँग सत्ता साझेदारीमा उनीहरु सकारात्मक भएको विश्लेषण गर्न सकिन्छ साथै यसमा दक्षिणको छिमेकी मित्रराष्ट्रको दवाव पनि हुनसक्ने देखिएकोले यादव र भट्टराई पनि सरकारमा जानको लागि सहमति जनाएपछि आज बालुवाटार प्रधानमन्त्री ओलीलाई भेट्न गएको जस्तो देखिन्छ ।

यो पनि पढ्नुहोस्

सत्तामा टिकिरहन प्रधानमन्त्री ओलीको यतिठुलो रणनीति

प्रधानमन्त्री ओलीसँग भएको छलफल सकारात्मक : जसपा

जसपाको मुख्य एजेण्डा रेशम चौधरी रिहा, होला त रिहा ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !