७ बैशाख २०८१, शुक्रबार

टोपबहादुर भन्छन्, ‘सांसद पद गए जाओस्, ओलीको साथ छोड्दिन’


टोपबहादुर रायमाझी फाइल फोटो

पोखरा । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीले सांसद पद गए पनि ओलीको साथ नछोड्ने बताएका छन् । नेकपा एमालेले बिहीबार पोखरामा गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रायमाझीले नेकपा माओवादी केन्द्रमा नफर्किने बताएका छन् ।

‘विचार, राजनीति, योजना, कार्यक्रम जोगाउन लाग्ने कि संसद जोगाउन लाग्ने ?,’ उनले प्रश्न गर्दै भने, ‘विचार छोडियो भने विचलित भइन्छ, सांसद पद बचाउन प्रधानमन्त्रीको साथ छोड्ने पक्षमा छैनौं ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते संसद विघटन गरेपछि उनी ओली सरकारका मन्त्री भएका थिए । फागुन २३ गते सर्वोच्च अदालतको फैसलाले एमाले, माओवादी केन्द्र ब्युँताईलिएपछि मन्त्री रायमाझी अहिले एमालेको पक्षमा लागेका हुन् ।

उनले माओवादी केन्द्रले अर्को पार्टीसँग मिलेर सत्ता चलाउने अवस्था पनि नरहेको बताए । मन्त्री रायमाझीले प्रचण्डले देउवालाई प्रधानमन्त्री बनाइहाले पनि सरकार नचल्ने बताए ।

‘प्रचण्डजी र माओवादी केन्द्रसित त हामी यसै पनि लडिराखेका थियौं । जति छन् त्यतिले जसपा, कांग्रेससँग मिलेर सरकार बनाउने सम्भावना एकदमै कम छ । एक प्रतिशत पनि छैन,’ उनले भने, ‘त्यो सरकार बनाउने भयो भने कांग्रेसको २ वटा फ्याक्टर छ । त्यसले सरकार दिंदैन ।’

‘प्रचण्डजीले देउवालाई प्रधानमन्त्री बनाउने प्रस्ताव राखिराख्नु भाछ । त्यो अर्को पक्षले मान्नेवाला छैन । जसपा पूरै चाहिन्छ । हुँदाखाँदाको आफ्नो कम्युनिष्टको प्रधानमन्त्री केपी शर्मा ओली सर्वसम्मत पहिलो अध्यक्ष छोडेर चुनाव लड्दा कम्युनिष्टको घोषणा पत्र लिएर लडेका थियौं । कम्युनिष्टलाई नेतृत्व जिम्मेवारी दिन थ्यो । देउवालाई प्रधानमन्त्री बनाउन होइन । बनाइहाल्नु भो भने पनि चल्दैन,’ उनले भने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !