१३ बैशाख २०८१, बिहिबार

प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति १० पूर्वउपकुलपतिले जनाए आपत्ति

सरकार अराजक भयो : १० पूर्वउपकुलपतिहरु


प्रधानमन्त्री केपी शर्मा ओली फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अभिव्यक्तिप्रति १० पूर्वउपकुलपतिहरुले आपत्ति जनाएका छन् । पूर्वउपकुलपतिहरूले प्रधानमन्त्री केपी ओलीलाई प्राज्ञिक मर्यादाको पालना गर्न आग्रह गरेका हुन् ।

झापामा हिजो मंगलबार दुर्गा प्रसाईंले स्थापना गरेको क्यान्सर अस्पतालको उद्घाटनका क्रममा प्रधानमन्त्रीले गरेको भाषणको सन्दर्भमा बुधबार पूर्वउपकुलपतिहरूले विज्ञप्ति निकालेर विरोध गरेका हुन् । ओलीले आफ्नो भाषणमा झापाको प्रस्तावित बीएन्डसी मेडिकल कलेजलाई चिकित्सा शिक्षा कार्यक्रमको सम्बन्धन दिने आश्वासन दिएका थिए।

उनीहरुले प्रधानमन्त्री ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले मेडिकल कलेजलाई सम्बन्धन दिन दबाब दिएर अराजकता प्रस्तुत गरेको बताएका छन् ।उनीहरूले समय छँदै गल्ती सुधारी प्राज्ञिक मर्याताको पालना गर्न आग्रह समेत गरेका छन् ।

विभिन्न विश्वविद्यालयका १० पूर्वउपकुलपतिले बुधबार विज्ञप्ति प्रकाशित गरि बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन काठमाडौं विश्वविद्यालय (केयू) ले गरेको निर्णय सच्याउन माग गरेका हुन् । गैरकानुनी र गैरजिम्मेवार तरिकाले उक्त मेडिकल कलेजलाई सम्बन्धन दिने प्रक्रिया अघि बढाएको उनीहरुको भनाइ छ ।

प्रधानमन्त्री ओली र शिक्षामन्त्री श्रेष्ठको ठाडो निर्देशनमा केयूले झापास्थित बीएन्डसी मेडिकललाई सम्बन्धन प्रक्रिया अघि बढाएको छ । प्रधानमन्त्री ओलीले मंगलबार झापा पुगेर उक्त कलेजलाई केयूबाट सम्बन्धन दिइ छाडिने बताएका छन् ।

केयूले १० भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिइसकेको छ । ‘ऐनको उपेक्षा गर्दै थप कलेजलाई सम्बन्धन दिने निर्णय गरेर गैरकानुनी र गैरजिम्मेवार कार्य गरिएको छ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ ।

‘अहिलेको ऐन र कानुनको मर्यादाभित्र रही अथावा त्यसमा आवश्यक सुधार गरी चिकित्साशिक्षको विस्तार गर्नुको साटो राज्यद्वारा अराजकताको व्यवहार हुनु भनेको अति नै ठूलो बिडम्बना हो’, १० जना पूर्वउपकुलपतिहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘विश्वविद्यालयको स्वायत्तता र प्राज्ञिक स्वतन्त्रताका लागि समर्पित हुनुपर्ने प्राज्ञहरूले पनि कतैबाट आएको दबाबका कारण वा स्वेच्छाले प्राज्ञिक मर्यादाविपरीत कुनै निर्णय गर्नु ठूलो दुर्भाग्यको कुरा हो ।’

प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति १० पूर्वउपकुलपतिले जनाए आपत्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !