११ बैशाख २०८१, मंगलबार

संसदीय दलको बैठक बोलाइदिन्छु, नेता फेरेर देखाउनुहोस् : प्रधानमन्त्री ओली


केपी शर्मा ओली

पोखरा । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले नेकपाको प्रचण्ड-नेपाल समूहलाई नेकपाको संसदीय दलको बैठक बोलाइदिन्छु, नेता फेरेर देखाउनुहोस् भनेर प्रचण्ड-नेपाललाई चुनौती दिएका छन् ।

गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलामा आज पोखरामा सम्बोधन गर्दै ओलीले आफूलाई संसदीय दलको नेताबाट विधिसम्मत रुपमा हटाउन प्रचण्ड-नेपाल समूहलाई चुनौती दिएका हुन् । त्यस्तै उनले प्रचण्ड-नेपाल समूहसँग बहुमत नरहेको दाबी गरेका हुन् ।

उनले प्रचण्ड-माधव समूहले कुनै पार्टी प्यालेसमा गरिएको कार्यक्रममा भोज खान आएका मानिसहरूलाई गनेर मसँग बहुमत छ भनेर दाबी गरेको आरोप लगाए । उनले प्रचण्ड-नेपाल समूहलाई संसदीय दलको नेता फेर्न चुनौती दिएका हुन् ।

उनले आ-आफैँ अध्यक्ष र दलको नेता छानिएँ भनेर लड्डु र माला लगाउँदै हिँडेको भन्दै प्रचण्ड-माधव समूहका नेताप्रति व्यङ्ग्य गरेका छन् । पोखरामा आफूनिकट कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले भने, ‘उहाँहरूले भन्नुभयो हामीसँग केन्द्रीय कमिटीको बहुमत छ भनेर । कहाँ पुष्टि भयो त पुष्टि भएको छैन । त्यो बहुमत होइन । कार्की ब्याङ्क्वेटमा कसैलाई भोज खान बोलाएर, भोज खान आएका जति मानिसलाई गनेर मसँग एकता छ, यति मानिस छन् भनेर बहुमत हुन्छ ? पार्टीको कमिटीमा आउनुपर्‍यो, पार्टीको अध्यक्ष महासचिवले बोलाएको बेठडकमा आउनुपर्‍यो, दलको नेताले बोलाएको बैठकमा आउनुपर्‍यो ।’

उनले भने, ‘दलको नेता फेर्नुहोस् न विधिवत् रूपमा । दलको बैठक बोलाइदिन्छु आउनुहोस् ।’ ‘बाटाेमा, माइतीघर मण्डलामा, ब्याङ्क्वेटमा अध्यक्ष भएँ भनेर र कतै दलको नेता छानिएँ भनेर यिनीहरू त आफैँ लड्डु खान्छन्, आफैँ अबिर लाउँछन्, आफैँ माला लाउँछन्’, उनले भने, ‘अरूले केही गर्नु पर्दैन, आफैँ गर्छन् ।’

ओलीले नेकपाको केन्द्रीय कमिटी आफूले बनाएको र आवश्यक परेका बेला हटाउन सक्ने चेतावनी दिएका छन् । उनले देव गुरुङलाई आफूले प्रमुख सचेतक बनाएकोले फेरि आफैले हटाइदिएको धारणा व्यक्त गरेका छन् । ओलीले आफू नेकपाको संसदीय दलको नेता भएकोले आफूले गुरुङलाई हटाएको दावी गरेका हुन् ।

ओलीले आफूमाथि शारीरिक हमला हुनसक्ने खतरा रहेको संकेत गरेका छन् । ओलीले पार्टी र देशलाई गतिशील र प्रभावकारी रुपमा चलाएकाले आफूमाथि प्रहार भएको बताएका छन् । ओलीले विकास निर्माणमा कामहरुले गति लिइरहेको हुनाले आफूमाथि तीव्र गतिमा प्रहार भएको जिकिर गरेका हुन् । उनले आफू नरहे पनि पार्टीको भविष्य अन्धकार जान नदिन उनले कार्यकर्ताहरुलाई अपिल गरे ।

यो पनि पढ्नुहोस्

केन्द्रिय कमिटी यो हातले बनाएको हुँ, यो हातले काट्न सक्छु : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओली भन्छन्, ‘ममाथि शारीरिक हमला हुनसक्छ’

देव गुरुङलाई मैले प्रमुख सचेतक बनाएको हो, मैले हटाइदिए : प्रधानमन्त्री ओली

प्रचण्ड-नेपाल समूहद्वारा गुरुङलाई प्रमुख सचेतकबाट हटाउने निर्णय अस्वीकार, अब के होला ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !