१२ बैशाख २०८१, बुधबार

केन्द्रिय कमिटी यो हातले बनाएको हुँ, यो हातले काट्न सक्छु : प्रधानमन्त्री ओली


केपी शर्मा ओली फाइल फोटो

पोखरा । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले नेकपाको केन्द्रीय कमिटी आफूले बनाएको र आवश्यक परेका बेला हटाउन सक्ने चेतावनी दिएका छन् ।

गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलामा आज पोखरामा सम्बोधन गर्दै ओलीले देव गुरुङलाई आफूले प्रमुख सचेतक बनाएकोले फेरि आफैले हटाइदिएको धारणा व्यक्त गरेका छन् । ओलीले आफू नेकपाको संसदीय दलको नेता भएकोले आफूले गुरुङलाई हटाएको दावी गरेका हुन् ।

जुन हातले नाम लिएको हो त्यसले काट्न पनि सक्ने भन्दै उनले भने, ‘देवप्रसाद गुरुङलाई मैले प्रमुख सचेतक बनाएको हुँ, मैले हटाएँ । उहाँहरुले भनेको केन्द्रीय कमिटी पनि मैले बनाएको हुँ । जरुरी परेका बेला अहिलेसम्म औंला चलाएको छैन् है । उहाँहरूको पद केही पनि चलाइदिएको छैन ।’

ओलीले आफूमाथि शारीरिक हमला हुनसक्ने खतरा रहेको संकेत गरेका छन् । ओलीले पार्टी र देशलाई गतिशील र प्रभावकारी रुपमा चलाएकाले आफूमाथि प्रहार भएको बताएका छन् । ओलीले विकास निर्माणमा कामहरुले गति लिइरहेको हुनाले आफूमाथि तीव्र गतिमा प्रहार भएको जिकिर गरेका हुन् । उनले आफू नरहे पनि पार्टीको भविष्य अन्धकार जान नदिन उनले कार्यकर्ताहरुलाई अपिल गरे ।

ओलीले पार्टी एकीकरणका लागि आफूले अल्पमत र बहुमत केही पनि नहेरेको बताए । ओलीले भने, ‘मैलै पार्टी एकता गर्दा बहुमत हेरिनँ किनभने म अध्यक्ष थिएँ । पार्टी एकताका लागि केही हेरिनँ । एकीकरण सकिनेबित्तिकै उहाँहरूले आफ्नो धन्दा शुरू गर्नुभयो । पार्टी कब्जा गर्ने, आन्दोलन ध्वस्त पार्ने ।’

आफ्नो अपमान गर्न आफूमाथि झुटा लान्छाना लगाइएको उनले दाबी गरे । ओलीले भने, ‘मेरो अपमान कसरी गर्न सकिन्छ । झुटा लाञ्छना कसरी लगाउन सकिन्छ । झुटा लान्छनाको प्रचार किन ? यो मसँग मात्रै सम्बन्धित छैन् । यो पार्टी र आन्दोलनसँग सम्बन्धित छ ।

देशी विदेशी शक्तिले हमला गरी रहेपनि पार्टी कार्यकतामा कुनै अलमल नभएको भन्दै उनले धन्यावाद दिए । उनी भन्छन्,‘यत्रो हमला भइरहेको छ, देशी विदेशी सक्ति लागिरहेका छन् । तर, पनि पार्टी कार्यकर्तामा अलमल, दुविधा छैन । यो ठीक ढंगले अगाडि बढीरहेको छ, बढ्छ ।’

‘यस पार्टीको नेतृत्वमा म भएको हुनाले, यस पार्टीलाई ठिक ढङ्गले अगाडि बढाइरहेको हुनाले, सरकार ठिक ढङ्गले चलाइरहेको हुनाले, सरकार गतिशील र प्रभावकारी रुपमा चलिरहेको हुनाले, विकास निर्माणमा कामहरुले गति लिइरहेको हुनाले म माथि प्रहार गरियो। सम्पूर्ण रुपमा म माथि अत्यन्तै तीव्र गतिले प्रहार गरियो,’ ओलीले भने।

उनले आफूमाथि कुनै प्रकारको शारीरिक हमला नै भएपनि अनौठो नमान्न समेत बताए। ‘यदि म माथि कुनै शारीरिक हमला नै भयो वा मेरो ज्यानमाथि तलमाथि भइहाल्यो भनेपनि तपाईंहरु अनौठो नमान्नुहोला । तर, त्यस्तो हुन दिइने छैन, हामी सतर्कता अपनाउछौं,’ उनले भने,‘म रहिन्न भनेपनि केही छैन । आन्दोलन छ, पार्टी छ । यस आन्दोलनले प्रतिक्रियावादी तत्व र तिनका मतियारहरुसँग घुँडा टेक्नु हुँदैन। देशको भविष्य अन्धकारमा जान दिनुहुँदैन। पार्टीको भविष्य अन्धकार हुन दिनुहुँदैन।’

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री ओली भन्छन्, ‘ममाथि शारीरिक हमला हुनसक्छ’

देव गुरुङलाई मैले प्रमुख सचेतक बनाएको हो, मैले हटाइदिए : प्रधानमन्त्री ओली

प्रचण्ड-नेपाल समूहद्वारा गुरुङलाई प्रमुख सचेतकबाट हटाउने निर्णय अस्वीकार, अब के होला ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु