८ बैशाख २०८१, शनिबार

प्रधानमन्त्री ओलीको राजीनामाको विषयमा विष्णु रिमालले मुख खोले

बिष्णु रिमाल भन्छन्, 'मनमोहनको पालामा जे गरेका थियौं, अहिले त्यहि गर्छौं'


विष्णु रिमाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख सल्लाहकार विष्णु रिमालले २०५२ सालमा मनमोहनको पालामा जे भएको थियो अहिले प्रधानमन्त्री ओलीले त्यहि गर्ने स्पष्ट पारेका छन् ।

सामाजिक सञ्जालमा आधिकारिक धारणा सार्वजनिक गर्दै रिमालले राजिनामा गर्ने कि संसदको सामना गर्ने भन्ने सन्दर्भमा २५ वर्षअघि मनमोहन अधिकारीले जुन बाटो लिएका थिए, यसपटक प्रधानमन्त्री ओलीले पनि त्यहि गर्ने बताएका हुन् ।

उनले लेखेका छन्, प्रतिनिधिसभा बिघटनको सिफारिस र सर्वोच्चबाट पुन:स्थापना, प्रधानमंत्रीको राजिनामा र नैतिकताको प्रश्न ! यी बिषयमा – प्रश्न गर्ने र जवाफ दिने हामीहरू २०५२ सालमा जहॉ थियौं र अहिले पनि त्यहीं नै छौं । दुई प्रधानमंत्रीहरू – मनमोहन अधिकारी र केपी शर्मा ओली, राजिनामा गर्ने कि हाउसको सामना गर्ने? त्यो बेला जे गरेका थियौं/ भनेका थियौं, त्यसै गर्दा अहिले चॉहि नहुने किन रहेछ ? ! #No_Resignation #Face_to_House’

ताजा जनादेशका लागि तत्कालिन नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री मनमोहन अधिकारीले प्रतिनिधिसभा भंग गर्न गरेको सिफारिसलाई २०५२ साल भदौ १२ गते सर्वोच्च अदालतले खारेज गरेर प्रतिनिधिसभा पुनःस्थापना गरिदिएको थियो । प्रतिनिधिसभा पुनःस्थापना भएपछि तत्कालीन प्रमुख विपक्षी नेपाली कांग्रेसले तत्कालीन प्रधानमन्त्री अधिकारीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएको थियो ।

अधिकारीले त्यसबेला राजीनामा नगरी त्रिवि शिक्षण अस्पतालको शय्याबाट अविश्वास प्रस्तावको जवाफ दिएका थिए । मनमोहन अधिकारीले अस्वस्थ्यता कारण बोल्न कठिन भएपछि तत्कालीन उपप्रधानमन्त्री माधव नेपालले जवाफ दिने कामलाई निरन्तरता दिएको थिए ।

नेपालको संसदीय इतिहासमा अविश्वास प्रस्ताव पास भएर हट्ने पहिलो प्रधानमन्त्री एमालेका मनमोहन अधिकारी हुन् । तत्कालीन पहिलो दल एमालेले बनाएको अल्पमतको सरकार ढाल्न अविश्वासको प्रस्ताव ल्याउने तयारी कांग्रेसले गरेको थाहा पाएपछि संसद भंग गरेर नयाँ निर्वाचनको घोषणा गरिए पनि सर्वोच्च अदालतको आदेशले संसद ब्युँतिएको थियो ।

त्यसपछि २०५२ भदौ २४ गते अविश्वास प्रस्तावमा भएको मतदानमा २०५ सदस्यको संसदमा १०७ मत पक्षमा परेपछि मनमोहन अधिकारी पदमुक्त भएका थिए । यसपटक पनि मनमोहन अधिकारीकै बाटोमा ओली जान तयार रहेको रिमालले बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !