६ बैशाख २०८१, बिहिबार

ओलीलाई प्रधानमन्त्रीवाट हटाउनुपर्छ भन्दै आएका वामदेव किन एकाएक छिरे बालुवाटार ?

प्रधानमन्त्री ओली र वामदेववीच बालुवाटारमा भेटवार्ता


वामदेव गौतम र केपी ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ओली समूहका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार गएका छन् । बालुवाटार स्रोतका अनुसार आज शुक्रबार दिउँसो वामदेव र प्रधानमन्त्री ओलीवीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार भेटवार्ता भएको हो ।

हिजो बिहानै ७ बजे नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न खुमलटारमा भेटेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्मानजनक ढंगले बिदा गर्न र नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चुन्न प्रस्ताव गरेका गौतम फेरि एकाएक बालुवाटार छिर्नुलाई राजनीतिक वृत्तमा बडो चासोका साथ हेरिएको छ ।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएर प्रतिनिधिसभा पुनर्स्थापनापछि वामदेव प्रधानमन्त्रीलाई भेट्न बालुवाटार गएका गौतमले ओलीसँग पार्टी एकताका कुरा गरेतापनि प्रधानमन्त्री ओलीले जवाफ नदिएको बुझिएको छ ।

केहि दिनअघि मात्र विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले तत्काल पदबाट राजीनामा दिनुपर्ने माग गरेका गौतमले आज दिउँसो बालुवाटार पुगेर ओलीसँग करिब १ घण्टा कुराकानी गर्दै ओलीसँग पनि पार्टी एकतालाई बल पुग्नेगरी निर्णय लिन आग्रह गरेका छन् । पुस ५ गते ओलीले प्रतिनिधिसभा विघटन गरेपछि राजनीतिक रूपमा दुई समूहमा बाँडिएको नेकपामा उपाध्यक्ष गौतम कुनै समूहमा लागेका नलागी बरू पार्टी एकताको अभियान समेत शुरु गरेका थिए ।

चिनियाँहरुकै पहलमा गौतम पार्टी एकता पहलका लागि बाहिर बसेको आशंका गरिदै आएको छ । साथै सर्वोच्च अदालतले गत फागुन ११ गते प्रतिनिधिसभा विघटनलाई बदर गर्दै प्रतिनिधिसभा पुन:स्थापना गर्ने फैसला गरेको २ दिनपछि हिजो बिहिबारदेखि चिनियाँ राजदूत यान्छी फेरि नेपालको राजनीतिमा चासो लिएर सक्रियता देखाउदैछिन् ।

चीनको राजनीतिक समर्थनले उच्च मनोवलका साथ हिजो खुमलटार पुगेर प्रचण्डलाई थर्काएका गौतम आज उस्तै आत्मविश्वासका साथ बालुवाटार पुगेर ओलीलाई समेत संचेत गरेको हुनसक्ने आंकलन गर्न सकिन्छ । हिजो बिहीबार यान्छी र गौतमको दौडधूपलाई अर्थपूर्ण रुपमा हेर्नुपर्ने नेकपाको ओली समूहका १ जना नेताले बताएका छन् ।

पार्टी एकता अभियान चलाएका गौतमले बिहीबार बिहान खुमलटारमा पुगेर प्रचण्डलाइ भेटी ओलीको सम्मानजनक बर्हिगमन गर्दै नेकपाबाटै प्रधानमन्त्री बनाउनु पर्ने धारणा राखेको दिन यान्छीले ओली समूहका नेताहरुसँग भेटघाट गरेकी थिइन् । उत्तरी मित्रराष्ट्र चीनले प्रतिनिधिसभा विघटन र पुनर्स्थापनामा औपचारिक प्रतिक्रिया नदिएको भएपनि भारतले भने दुबै घटनापछि यो नेपालको आन्तरिक मामिला भएको जनाएको छ ।

राजनीतिक रुपमा विभाजन भएको पार्टीलाई एकता गराउन यसअघि चिनियाँ टोली सक्रिय रहेको थियो । पार्टी विभाजन लगत्तै चिनियाँ टोली पुसमा नेपाल आएको थियो । तर सो टोलीले विभाजनको असर र कारणबारे छलफल गरी त्यसको विवरण चिनियाँ कम्युनिष्ट पार्टीलाई बुझाएको थियो ।

अहिले सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेपछि नेकपालाई विभाजनबाट रोक्न फेरि चिनियाँहरु उच्च अधिकारीहरु सक्रिय भएका हुन् । नेकपा राजनीतिक रुपमा मात्र विभाजन भएको छ कानूनी रुपमा होइन । त्यसैले गर्दा चीन अझै सम्भव भए नेकपाको विभाजन रोकेर पुन: नेकपालाई एकता गराउन चाहन्छ ।

हिजो बिहीबार उनले प्रधानमन्त्री ओलीसँग भेटघाटको समय मागेकी थिइन् तर ओली आफू निकटका नेताहरुसँग भेटघाट र छलफलमा व्यस्त रहेका कारण समय नदिएपछि गृहमन्त्री रामबहादुर थापा बादल लगायतका नेताहरुसँग भेटघाट गरेको उच्च स्रोतले जानकारी दिएको छ ।

गौतमले बिहीबार बिहान एकीकृत पार्टीको अध्यक्ष दाबी गर्दै खुमलटार पुगेर प्रचण्डलाई भेटेका गौतमले पार्टी एकीकरण अभियान सफल पारौं भन्दै दुवै अध्यक्ष अस्वीकार्य हुने भए आफू संक्रमणकालको अध्यक्ष भएर नेकपाको महाधिवेशन गराउने प्रस्ताव गरेका थिए । प्रधानमन्त्री ओलीलाई सम्मानजनक बिदाई गर्दै नेकपाकै सरकार बनाउन प्रयास गरौं भन्ने प्रस्ताव पनि नेता गौतमको थियो ।

बिहीबार बिहान खुमलटार पुगेका गौतमले यो बहुमत नेकपाकै लागि आएकाले अबको प्रधानमन्त्री पनि नेकपाकै बनाउने र अहिले भएका अध्यक्षहरुलाई हटाएर संक्रमणकालीन अध्यक्ष आफूलाई बनाए महाधिवेशन गराएर बिदा हुने जनाएका थिए । गौतमकै भाषामा यान्छीले पार्टी एकताका लागि नेताहरुले पहल गरेर पार्टी नेताहरु सम्मानजनक ठाउँ लिएर बस्नुपर्ने र त्यसका लागि चिनियाँ कम्युनिष्ट पार्टीले के कस्तो सहयोग गर्नुपर्ने हो त्यो सहयोग गर्न तयार रहेको बताएकी थिइन् ।

संसद पुनःस्थापना भए पनि गौतमले प्रधानमन्त्री ओलीको राजीनामा माग्दै पार्टी एकताका लागि आफू लागिरहने बताएका थिए । पुस ५ गते संसद विघठन भएपछि कुनै पनि समूहमा नलागेका गौतमले देशभरका कार्यकर्तालाई समेटेर पार्टी एकता अभियान सञ्चालन गर्दै आएका छन् ।

ओलीले त यसअघि नै यदि आफू प्रधानमन्त्रीवाट हट्नुपर्ने स्थिति आएमा प्रचण्डलाई प्रधानमन्त्री छोड्दिनु भन्दा बरु बाध्यकारी स्थितिको सिर्जना भएमा संविधान संसोधन गरेरै भएपनि वामदेवलाई प्रधानमन्त्री बनाउने भित्री सोचाईमा भएको अनुमान गर्ने गरिन्थ्यो । चीनले दिएको इनर्जी ड्रिंक पिएर धमिलो पानीमा माछा मर्ने रणनीतिका साथ पार्टी अध्यक्ष र प्रधानमन्त्रीसम्मको खेल जित्न सकिने मनोकांक्षा राखेर गौतम अघि बढेको उनको सक्रियतावाट विश्लेषण गर्न मात्र सकिन्छ ।

तर नेकपाका दुवै समूहका चतुर राजनीतिक खेलाडी ओली र प्रचण्डलाई छक्याएर मेसी र रोनाल्डो उनी बन्न सक्ने सम्भावना न्यून देखिन्छ । उनी सफल भए भने आम नेपाली जनताले एकपटक उनलाई स्वागत नै गर्नेछन् किनकी नहुनु भन्दा त कानो मामा बेश ।

धेरै पटक धेरै नेताहरूलाई ठूला गुन लगाएका वामदेव गौतमलाई अन्य नेताले त्यसरी अन्तिम गुन लगाउने अवसर देशको राजनीतिमा जुरेको छ ।वामदेवलाई अन्तिम गुन भनेको अब पार्टीको अध्यक्ष र देशमा एक पटक प्रधानमन्त्री हुने हो । पार्टी अध्यक्ष र प्रधानमन्त्री वामदेवका लागि विभिन्न कारणले कठिन बन्दै गएका छन् ।

पटकपटक सांसद, गृहमन्त्री र उपप्रधानमन्त्री समेत भइसकेका गौतम प्रधानमन्त्री हुनका लागि विभिन्न उपायहरू खोजी गरिरहेका छन् । सामान्य बाटोबाट उनको प्रधानमन्त्री हुने बाटो बन्द भइ सकेपनि असम्भव भने छैन । उनको अहिलेको यो प्रयास के हुने हो त्यो त भविष्यले देखाउने छ । अहिले यति मात्र भन्न सकिन्छ – वामदेव गौतमलाई शुभकामना !

यो पनि पढ्नुहोस्

चिनियाँ राजदूत यान्छीको सक्रियता बढ्यो फेरि, नेकपालाई पुन: एकता गर्लिन् त ?

बामदेवलाई प्रचण्डले भने, अहिले कै अवस्थामा ओलीसँग सहकार्य हुदैन’

वामदेवले प्रचण्डलाई भने, ‘ओलीको सम्मानजनक बिदा गरौं, नेकपाबाटै प्रधानमन्त्री चुनौं’

वामदेवको फेरि सक्रियता तीव्र, किन बिहानै प्रचण्डलाई भेट्न पुगे खुमलटार ?

वामदेवले मागे प्रधानमन्त्री ओलीको तुरून्त राजीनामा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !