७ बैशाख २०८१, शुक्रबार

पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात, कस्तो छ स्वास्थ्य स्थिति ?

पूर्वमन्त्री तथा काँग्रेस नेता जोशीलाई मस्तिष्कघात, शल्यक्रिया गरियो


नवीन्द्रराज जोशी फाइल फोटो

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । हिजो बिहीबार राति १ बजे समस्या भएपछि उनलाई वीर अस्पताल लगिएको थियो । जोशीलाई बिहीबार राति शरीरको देब्रेपट्टिको भागमा समस्या देखिएपछि वीर अस्पतालमा भर्ना गरिएको थियो ।

वीर अस्पतालबाट राति नै नर्भिक अस्पताल ल्याएर शल्यक्रिया गरिएको थियो । चिकित्सकहरूले जोशीको अपरेशन सफल भएको जानकारी दिएका छन् । नर्भिक अस्पतालको आईसीयूको भेन्टिलेटरमा राखेर उनको उपचार गरिँदैछ ।

स्रोतका अनुसार जोशीको मस्तिष्कमा रगत जमेको थियो । नेता जोशीलाई न्युरोसर्जन डा. राजीव झा लगायतको टोलीले हेरिरहेका छन् । डा. झाका अनुसार उच्च रक्तचापका कारण जोशीलाई मस्तिष्कघात भएको हो ।

अस्पतालका अनुसार नेता जोशीको मस्तिष्कको अति संवेदनशील भागमा रगत जमेपछि अवस्था गम्भीर रहेको छ । उनलाई थ्यालेमिक ह्‍यामरेज भएको हाे । उनको मस्तिष्कको अति संवेदनशील भागमा रगत जमेकोले त्यसलाई शल्यक्रिया गरेर पनि निकाल्न नसकिने अस्पतालले बताएको छ ।

अहिले सानो शल्यक्रिया गरेर मस्तिष्कमा पर्ने चाप घटाउन ड्रेन गर्न पाइप राखिएको बुझिएको छ । उपचारमा संलग्न डाक्टरका अनुसार यस्ता खालका बिरामीलाई बचाउन निकै कठिन हुने भएकोले डाक्टरहरु प्रयासरत रहेका छन् ।

डा. झाका अनुसार जोशीको मस्तिष्कको अति संवेदनशील भागमा भागमा रगत जमेकोले त्यस्तो भागमा रगत जमेपछि निको हुन लामो समय लाग्नने बताएका छन् । डाक्टरका अनुसार उनलाई बचाउन सकिए पनि शरीरले काम गर्न गार्हो हुने बताएका छन् ।

पूर्व उद्योगमन्त्री समेत जोशी गत निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ८ बाट काँग्रेसका तफबाट उम्मेदार बनेका थिए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ट्वीट गर्दै जोशीलाई शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री प्रकाशमान सिंह नर्भिक अस्पताल पुगेर फर्केका छन् । अहिले नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको उनको पछिल्लो स्वास्थ्य अवस्था बुझ्न नर्भिक अस्पताल थापाथलीमा भीड बढेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !