१३ बैशाख २०८१, बिहिबार

दिल्लीबाट देउवालाई बाबुरामको कटाक्ष : कुर्सीको लागि ज्योतिषको जोखाना र किनबेचको शृंखला चल्न सक्छ

अस्पतालको बेडवाट बाबुराम भने, 'कुर्सीको खेल शुरु हुने खतरा, मुलुकमा नयाँ राष्ट्रिय सहमतिको आवश्यकता'


डा. बाबुराम भट्टराई र शेर बहादुर देउवा

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवालाई चोटिलो कटाक्ष गर्दै कुर्सीको लागि ज्योतिषको जोखाना र किनबेचको शृंखला चल्न सक्ने टिप्पणी गर्दै नेताहरुलाई पाठ सिकेर राष्ट्रिय सहमति गर्न सुझाव दिएका छन् । बाबुरामले विचारको क्षेप्यास्त्र देउवातर्फ सोझाएका हुन् ।

२०७४ साल कात्तिक ३० गते बिहीबार धनगढीमा पत्रकारहरूसँग कुरा गर्दै देउवाले ज्योतिषले आफूलाई ७ चोटी प्रधानमन्त्री हुने भविष्यवाणी गरेकोले चुनावपछि पनि आफू नै प्रधामन्त्री बन्ने धारणा अभिव्यक्त गरेका थिए । त्यो समयमा देउवा नै चौथो पटक प्रधानमन्त्री बनेर कार्यरत थिए ।

सोको एक दिन अघि २०७४ साल कात्तिक २९ गते बुधबार गोरखामा आयोजित चुनावी सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले देउवा कांग्रेसका अन्तिम प्रधानमन्त्री भएको बताएका थिए । अब वाम गठबन्धनको बहुमत आउने र कांग्रेसले कहिल्यै सरकारको नेतृत्व गर्न नपाउने ओलीले दाबी गरेपछि त्यसको उत्तर दिदै त्यस्तो अभिव्यक्ति दिएका थिए ।

सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै डा. भट्टराईले अदालतको फैसलापछि पुन: राजनीति नेताहरुकै हातमा पुगेको बताउँदै फेरि सत्ता र शक्तिको पुरानै खेल शुरु हुने खतरा औंल्याएका हुन् । सत्ताको लागि कुर्सीको खेल शुरु हुने खतरा बढेकोले मुलुकमा नयाँ राष्ट्रिय सहमतिको आवश्यकता औंल्याएका हुन् ।

उपचारको क्रममा भारतमा रहेका नेता भट्टराईले ट्विट गर्दै फेरि पुरानै कुर्सीको खेल शुरु हुने खतरा रहेकाले राष्ट्रिय सहमतिको आवश्यकता औंल्याएका हुन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि राजनीति फेरि दल र नेताको कोर्टमा पुगेको भन्दै सहमतिका साथ अघि बढनुपर्ने उनको सुझाव छ ।

नयाँ सरकार गठनको सिलसिलामा सांसद् किनबेच हुनसक्ने भन्दै उनले चिन्ता प्रकट गरेका छन् । फेरि टाउको गन्ती, ज्योतिषीको जोखाना, किनबेचको श्रृंखला चल्न रोक्नका लागि देशको आवश्यकता र जनताको चाहना दल र नेताले पाठ सिकेर नयाँ राष्ट्रिय सहमति गर्नुपर्ने उनको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !