१३ बैशाख २०८१, बिहिबार

सत्ता सहकार्यको प्रस्ताव गरेका प्रचण्ड-माधवलाई जसपाले किन चिनेन ?

प्रचण्ड-माधवलाई जसपाको प्रश्न - तपाईहरुको पार्टी कुन हो ? पहिले त्यसमा प्रष्ट हुनोस्


प्रचण्ड-नेपाल

काठमाडौँ । राजनीतिक रुपमा विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा) का नेताहरुबीच आज समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । नेपाली कांग्रेससँग सहकार्यको प्रस्ताव राखेको भोलिपल्ट प्रचण्ड-नेपाल समूहले जसपाका नेताहरूसँग छलफल गरेको छ ।

आज बिहीबार नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडाँमा नेकपा अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, बरिष्ठ नेता राजेन्द्र महतो र सदस्य राजेन्द्र श्रेष्ठबीच छलफल भएको हो ।

तर उक्त समूहले सहकार्य गरेर अगाडि बढ्न प्रस्ताव गरेपछि जसपाले नेकपाको आधिकारिक समूह खोजेको हो । प्रतिनिधिसभाको तेस्रो ठूलो दल जसपाले प्रचण्ड र नेपाल समूहसँग नेकपाको आधिकारिक पार्टी कुन भनेर प्रश्न गरेको छ ।

‘तपाईंहरूको कुन पार्टी हो ? बडो अलमल पर्‍यो, पहिला कुन पार्टी आधिकारिक हो टुंगो लगाउनुस् भनेर भन्यौं,’ बैठकपछि जसपा नेता राजेन्द्र महतोले भने, ‘सहकार्यका लागि तपाईंहरूले राखेका कुरा बैठकमा राखौंला ।’

महतोले थप्दै भने, ‘हामीले विगतमा पटक-पटक धोका खाएका छौं । जति पनि सम्झौता भएका छन्, कांग्रेस, एमाले, माओवादीले गरेका ती सम्झौताबाट पछि हटेर संविधान बनाइएको थियो । अन्तरिम संविधानबाट पछि हटेर एक खालको प्रतिगमन भएको थियो, संविधानमा रहेका त्रुटिहरू कमीकमजोरी हटाउनको लागि संघर्ष गर्ने हो ।’

जसपा नेताहरुले पटक-पटक आफुहरुले गरेको सहमतीमा धोका खाएको पनि स्मरण गराएका थिए । जसपा नेताहरुले आफ्नो पार्टीका सांसद रेशम चौधरी लगायतका नेताहरु अझैपनि बन्दी जीवन बिताउनुपरेको भन्दै बन्दी रिहाईका लागि संघर्ष गरिरहने बताएका छन् ।

नेता महतोले भने, ‘हाम्रा आन्दोलनकारी साथीहरु, निर्वाचित सांसद रेशम चौधरी लगायतले अहिलेपनि बन्दी जीवन विताईरहेका छन् । यी सवालहरु छन । यी समस्याहरु छन् । त्यसैले आगामी दिनमा हामी यी सवालहरु हाम्रो प्राथमिकताका साथ उठाएका छौं र आगामी दिनमा पनि उठ्ने छौं र यसको लागि संघर्ष गर्छौं । संविधानमा रहेका त्रुटिहरु, कमिकमजोरीहरु र बन्दी रिहाइका सवालहरु समेत जुनसुकै सरकार बनेपनि त्यसको अगाडि संघर्ष गर्ने हो । विगतमा पनि संघर्ष गरेको हो । आगामी दिनमा पनि संघर्ष गर्ने हो । यही कुरा भन्यौ ।’

जसपाले विगतमा भएका सम्झौताबाट आफूहरू ठगिएको र जुनसुकै सरकार बने पनि मधेशका मुद्दामा आफूहरूले संघर्ष गरिरहने नेता राजेन्द्र महतोले बताए । प्रतिनिधिसभा पुनःस्थापना भएलगत्तै प्रचण्ड-नेपाल समूहले दलहरूसँगको छलफललाई तीब्र बनाएको छ ।

यो पनि पढ्नुहोस्

ओलीलाई हटाउने रणनीति : सत्ता साझेदारी गर्न प्रचण्ड-नेपालसँग जसपाले राख्यो यतिठुलो शर्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !