१३ बैशाख २०८१, बिहिबार

प्रधानमन्त्री ओली राजीनामा दिनेबारे परामर्शमा, देलान् त राजीनामा ?


केपी शर्मा ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनेबारे परामर्शमा जुटेका छन् । ओलीले त्यसबारे परामर्श गरिरहेको ओली समूह नेकपाका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले घुमाउरो शैलीमा संकेत गरेका छन् ।

बुधबार बालुवाटारमा बसेको ओली निकट स्थायी समिति बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा पनि प्रवक्ता ज्ञवालीले पनि सो कुरालाई संकेत गरेका छन् । ज्ञवालीले दलहरुसँग परामर्श र सुझावका आधारमा प्रधानमन्त्रीले निर्णय लिने बताउदै मुलुकलाई अन्योलमा राख्नु हुदैन भन्ने प्रधानमन्त्रीको सोच रहेको ज्ञवालीले प्रष्ट पारे ।

नेकपा ओली समूहको स्थायी कमिटीको बैठकबारे जानकारी दिने क्रममा प्रधानमन्त्री ओलीले राजीनामा दिनुहुन्छ ? भन्ने प्रश्नमा ज्ञवालीले भने, ‘प्रधानमन्त्री जे गर्दा ठिक हुन्छ त्यही गर्ने विषयमा परामर्शमा हुनुहुन्छ ।’ मुलुकलाई अन्यौल र अनिर्णयमा राख्न नहुने पक्षमा ओली रहेको बताए ।

ज्ञवालीले छिट्टै प्रतिनिधिसभा बैठक डाक्न मन्त्रिपरिषदले सिफारिश गर्ने जानकारी दिए । सर्वोच्च अदालतको हिजोको फैसला अनुसार १३ दिनभित्र संसद बैठक ठाक्नुपर्ने हुन्छ । ज्ञवालीले सर्वोच्चको फैसलाको सम्मान गर्दै फैसला कार्यान्वयन गर्ने निर्णय गरने बताए ।

नेकपा एकीकरणको सम्भावना अझै रहेको उनले बताए । काँग्रेससँग सत्ता समिकरणका लागि प्रचण्ड र माधव नेपाल समूह दौडधुपमा लागेको भन्दै त्यस्तो भएमा एकीकरणको सम्भावना नरहने बताए । आजको बैठकले बदलिँदो परिस्थितिबारे अन्य राजनीतिक दलहरूसँग परामर्श गर्ने निर्णय पनि गरेको ज्ञवालीले जानकारी दिए ।

प्रतिनिधिसभा विघटन बदर भएपछि प्रधानमन्त्री ओलीले राजीनामा दिनुहुन्छ कि हुन्न भन्ने पत्रकारहरुको प्रश्नमा मन्त्री ज्ञवालीले राजीनामा दिनेमात्र भन्दा पनि राजीनामा दिइसकेपछि अवस्था मूल्यांकन गरेर आवश्यक निर्णय गरिने बताए । ओली पक्षको स्थायी समिति बैठक बिहीबार पनि बस्नेछ ।

बैठकले सर्वोच्च अदालतको फैसलापछि देश अस्थिरतामा जाने र संसदीय व्यवस्थाका विगतका विकृति दोहोरिने चिन्ता व्यक्त गरेको छ । अबको राजनीतिक निकासका लागि सबै पक्षसँग आफूहरु छलफलमा रहेको समेत ज्ञवालीले बताए ।

सत्ताको नेतृत्वमा निरन्तरता सुनिश्चित गर्न पार्टी विभाजन गरी प्रतिपक्ष नेपाली कांग्रेससँग गठबन्धन सरकार निर्माण गर्नु ओलीको विकल्प हुन सक्छ । प्रधानमन्त्री ओलीका लागि सबैभन्दा सुरक्षित विकल्प भनेको अझै पनि नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा र मधेशवादी दललाई फकाएर आफ्नो सरकारको बहुमत गुम्न नदिनु नै हो ।

यसका लागि प्रधानमन्त्रीले सत्ता गठबन्धनको बैठक समेत बोलाउन सक्छन् । अहिलेको सरकारमा काँग्रेसलाई मिसाउने गरी छलफल अघि बढाउने दाउमा देखिन्छ । अब अन्य पार्टीका साँसदहरुको तानातान र काँग्रेस फकाउ अभियान शुरु भई सकेकोले नयाँ सरकार गठनको प्रक्रिया शुरु भएको छ । तर ओलीलाई यही अवस्थामा काँग्रेसको समर्थन लिएर प्रधानमन्त्री बन्न त्यति सहज छैन ।

देउवाले आफू प्रधानमन्त्री बन्ने अवस्थामा मात्रै अरुलाई सहयोग गर्न सकिने आशय पटकपटक प्रकट गरिरहेका छन् । ओलीलाई प्रधानमन्त्रीमा समर्थन गर्ने वा नगर्ने ताला-चाबी अझैसम्म काँग्रेसकै हातमा छ । यो परिघटनालाई हेर्दा प्रधानमन्त्री अझै पनि सरकारको बहुमत गुम्न नदिने रणनीतिमै केन्द्रित देखिएका छन् ।

आज दिउसो मात्र प्रचण्ड-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा भएको कुराकानीमा प्रचण्ड र नेपालले सभापति देउवालाई प्रधानमन्त्री बन्न प्रस्ताव प्रस्ताव गरेको बुझिएको छ ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरेलगत्तै नयाँ सरकार गठनका लागि नेताहरुबीच गृहकार्य सुरु भएको छ । बुधबार प्रारम्भिक चरणको छलफलमा नेकपा प्रचण्ड-नेपाल समहूले देउवालाई नयाँ बन्ने सरकारको प्रधानमन्त्री बन्न प्रस्ताव गरेका हुन् ।

नेकपा उच्च स्रोतका अनुसार तीन नेताबीच भएको छलफलमा प्रचण्ड र नेपालले गरेको प्रस्तावप्रति देउवा सकारात्मक बन्दै दलभित्र छलफल गरेर निर्णय दिने बताएका छन् । नेताहरुबीचको छलफल सकारात्मक भएको भन्दै समझदारीबाटै अघि बढ्न नेताहरु सहमत भएको बुझिएको छ । यसअघि प्रचण्ड र माधव दुवैले प्रधानमन्त्री नबन्ने बताएका थिए ।

बुधबार नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल तथा काँग्रेसका सभापति शेरबहादुर देउवाबीच नयाँ सरकार गठनबारे प्रारम्भिक चरणको छलफल भएको हो । नेपाली काँग्रेस उच्च स्रोतका अनुसार प्रतिनिधिसभा विघटन बदर भएपछिको परिस्थितिबारे छलफल गर्न प्रचण्ड नेपाल आएको भन्दै ठोस समझदारी हुन बाँकी बताएका छन् ।

ओली सरकारको विकल्पबारे छलफल अगाडि बढिसकेको अवस्थामा प्रचण्ड र नेपाल दुवैले नेपाली काँग्रेस, जनता समाजवादी पार्टी लगायतका दलहरुलाई मिलाएर प्याकेजमा सहमति गर्नेबारे छलफल बढाएको बुझिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजीनामा गर्न वाध्य पार्ने वा महाभियोगसम्म लगाउने तयारी भइसकेको छ ।

राष्ट्रपति नेपाली काँग्रेसलाई, उपराष्ट्रपति जनता समाजवादी पार्टीलाई, राष्ट्रियसभाको अध्यक्षमा पनि विल्प खोज्नुका साथै सरकारमा प्रधानमन्त्री, उपप्रधानमन्त्री लगायतका मन्त्रीहरुको समेत बाँडफाँडबारे प्याकेजमा सहमति गर्ने गरी तयारी बढेको हो । विश्वस्त स्रोतका अनुसार काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउनेबारे छलफल हुनथालेको छ ।

देउवा प्रधानमन्त्री बन्ने सम्भावना रहेमा राष्ट्रपतिमा नेकपाको प्रचण्ड माधव नेपाल समूहले पाउने विकल्पबारे पनि कुरा बढेको बुझिएको छ । तीन दलको सहमतिको सरकारमा मन्त्रीहरुको भागवण्डादेखि संवैधानिक निकायमा नियुक्तिबारे समेत टुंगो लगाउने गरी अनौपचारिक कुराकानी भएको छ ।

तर, प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीच गठबन्धनको सम्भावनाबारे केहि समय अघिदेखि नै छलफल हुदै आएको थियो । ओली देउवालाई प्रधानमन्त्री बनाएर भएपनि प्रचण्ड र माधव नेपाललाई रोक्ने पक्षमा देखिएका छन् । यद्यपि सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेर संसद पुन:स्थापना गरेपछि ओली र देउवावीच टेलिफोन कुराकानी नभएको देउवानिकट स्रोतले जानकारी दिएको छ ।

सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेर संसद पुन:स्थापना गरेपछि दुवै हातमा लड्डु भएका देउवाको मनस्थिति परिवर्तन भएको देखिन्छ । अहिले देउवा प्रचण्ड-नेपाल समूहको नेकपातिर पो ढल्किने हुनकी जस्तो अनुमान गर्न सकिन्छ । सर्वोच्च अदालतले संसद विघटनविरुद्धको रिटको फैसला गर्नुअघि मधेशवादी दलहरु पनि प्रचण्ड-नेपाल समुहको नेकपा र काँग्रेससँग मोर्चा बनाएर संसद विघटन जस्तो असंवैधानिक कदमको विरुद्ध संयुक्त आन्दोलन गर्ने भनेको थियो ।

ओली समूहको आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले संसद अधिवेशन सर्वोच्च अदालतले दिएको निर्धारित १३ दिनभित्र बोलाउनेबारे निर्णय गरेर सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गर्ने भएको छ । यसले गर्दा केहि दिनभित्र प्रधानमन्त्री ओलीविरुद्ध प्रचण्ड-नेपाल समुहको नेकपाले काँग्रेस र मधेशवादी दलहरु मिलेर अविश्वासको दर्ता गर्ने पनि प्रवल सम्भावना रहेको छ ।

यदि काँग्रेस र मधेशवादी दलहरुले पनि प्रचण्ड-नेपाल समुहको नेकपासँग सत्ता समीकरणमा आउने हो भने प्रधानमन्त्री ओलीलाई ठुलो राजनीतिक संकट सिर्जना हुने देखिन्छ । अव यस्तो संकटको विषम परिस्थिति सिर्जना भएको बेला ओलीले अनेक राजनीतिक जोड-घटाउको सुक्ष्म विश्लेषण गरिरहेका छन् ।

यदि काँग्रेस र मधेशवादी दलहरुले आफूमाथि समर्थन नगर्ने स्थिति सिर्जना भएर अविश्वास आउनुअघि नै चाँडो संसद वैठक बोलाएर संसदमा आफूले विगतको जस्तो काम गर्न नदिएको भनेर प्रचण्ड-नेपाल समूहलाई आरोपको वर्षा गर्दै लामो सम्वोधन गरेर राजीनामा दिई आम नागरिकको पब्लिक सेन्टिमेन्ट आफ्नो पक्षमा पर्ने सोच ओलीमा हुनसक्ने अनुमान गर्न पनि सकिन्छ ।

पञ्चायत कालमा पटक पटक प्रधानमन्त्री बनेका पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले बहुदलमा प्रधानमन्त्री हुँदा भनेका थिए,‘राजनीति सम्भावना नै सम्भावनाको खेल हो ।’ नेपाली राजनीतिमा हिजो टाउकाको मूल्य तोक्नेहरुले मूल्य तोकिएकासँग मिलेर प्रधानमन्त्री आलोपालो खाएकै हुन् । सत्ता र शक्तिको लागि शक्तिसंघर्ष हुँदा तेरो र मेरो नहुने तथ्य नेपाली राजनीतिमा बेला बेलामा देखिदै आएको हो ।

एउटा चर्चित भनाइ छ : ‘राजनीतिमा स्थायी मित्र र स्थायी शत्रू कोही पनि हुदैन रे, असम्भव पनि केही हुदैन रे ’ । एकले अर्कोको टाउकाको मूल्य तोकेका नेताहरु आपसमा मिलेर सत्ताको साझेदारी पनि नगरेका होइनन् । राजनीतिलाई चाणक्यले त्यस्तो शास्त्र मानेका छन् कि यसको कुनै सिद्वान्त नै हुन्न र कुनै रुपरंग पनि हुन्न रे ।

हुन पनि नेपालको राजनीति इतिहासमा विपरीत ध्रुवमा रहेका र एक अर्काका कट्टर शत्रुका रुपमा देखिएका दलहरु थुप्रै पटक एक ठाउँमा आएका छन् । एक अर्काको नामै सुन्न नचाहने शक्तिहरुले रातारात गठबन्धन बनाएर जनतालाई आश्चर्यमा पारेका छन् ।

एकअर्काको खेदो खन्ने दलहरुको बीचमा गठबन्धन बनाउनेदेखि लिएर सरकार निर्माण गर्ने काम विगतमा पटक-पटक भएकै हो । नयाँ संविधान निर्माणपछि तत्कालीन एमाले र काँग्रेस गठबन्धनको सरकार गठन भएको थियो । त्यसपछिका सरकार गठन गर्ने सिलसिलामा विगतमा एकअर्कालाई प्रमुख दुश्मन ठहर गर्दै कट्टर वैमनस्यता राखने काँग्रेस र तत्कालीन माओवादी केन्द्र गठबन्धनको सरकार बनेको थियो । त्यो बेला पनि यी गठबन्धनहरुलाई अनौठो मानिएको थियो ।

काँग्रेस र तत्कालीन माओवादी केन्द्रको गठबन्धन हुँदा एमाले र माओवादी केन्द्रबीच निकै दुरी बढेको थियो । दुवै पार्टी एक अर्काको नाम नै सुन्न चाहदैन थिए । तर अन्ततः दुई दलबीच एकीकरण नै भयो । अस्वभाविक रुपमा अघि बढेका यी गठबन्धनका प्रक्रियालाई पनि अप्राकृतिक गठबन्धनको रुपमा चर्चा भई नै रहने गरेको छ । त्यसैले नेपालको राजनीति यसरी अघि बढ्छ भने भविष्यवाणी गर्ने राजनीतिक विश्लेषकहरुको विश्लेषण समेत झुट्टा हुने गरेका छन् ।

यो पनि पढ्नुहोस्

देउवालाई प्रधानमन्त्री बन्न प्रचण्ड-माधवकाे प्रस्ताव, होलान् त देउवा ?

ओली समूहको स्थायी कमिटी बैठक सकियो, के भयो निर्णय ?

देउवासँग २० मिनेट कुराकानी गरेर फर्किए प्रचण्ड र नेपाल, के भयो छलफल ?

प्रचण्ड-माधवले देउवालाई भेट्दै, मिल्ला त यी तीन नेताको केमेष्ट्री ?

प्रधानमन्त्री ओलीले किन बोलाए स्थायी कमिटी बैठक ?

प्रचण्ड-माधव समूहले किन डाक्यो संसदीय दलको बैठक ?

सर्वोच्चको संसद पुनर्स्थापनाको आदेशपछि प्रधानमन्त्री ओलीका विकल्पहरु

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने, प्रतिनिधिसभाकाे फेस गर्ने

प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्छ : अध्यक्ष प्रचण्ड

प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसला

जस्तोसुकै परिस्थिति आए पनि सामना गर्न तयार छु : प्रधानमन्त्री ओली

संसद् पुनःस्थापना भए सांसद किनबेचको फोहरी खेल शुरु हुन्छ : प्रधानमन्त्री ओली


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !