७ बैशाख २०८१, शुक्रबार

प्रदेश नं. ३ को पहिलो प्रदेशसभा बैठक विहीबार बस्ने


pradesgsabha

१७ माघ, हेटौंडा । प्रदेश नं. ३ को पहिलो प्रदेशसभा बैठक विहीबार दिउँसो १ बजे हेटौंडामा सुरु हुँदैछ । प्रदेशसभा सचिवालयले बैठकको कार्यसूची सार्वजनिक गरेको छ, जसमा ५ वटा एजेण्डा तय गरिएका छन् ।

नयाँ संविधान अनुसार मुलुक संघीयतामा गइसकेपछि गठन भएको प्रदेशसभाको पहिलो बैठक हेटौडावाट सुरु हुन लागेको हो । देशभरिका ७ वटा प्रदेशमध्ये ऐतिहासिक पहिलो बैठक बसाउन प्रदेश नम्बर ३ अरुभन्दा अगाडि देखिएको छ । प्रदेश ३ को प्रदेशसभा बैठक बिहीबार हुनेछ भने प्रदेश १ को बैठक माघ २२ गते, प्रदेश २ को २१ गते र प्रदेश ४ को पहिलो बैठक माघ २२ गते तोकिएको छ । त्यस्तै प्रदेश ५ को माघ २१ गते, प्रदेश ६ को माघ गते र प्रदेश ७ को पहिलो बैठक माघ २१ गते तोकिएको छ ।

प्रदेश ३ को संसदका सचिव डा. रोजनाथ पाण्डेका अनुसार विहीबार बस्ने बैठकले प्रदेशसभाका सभामुखको निर्वाचनको मिति तय गर्ने छ । बैठकको सुरुमा संसदको अध्यक्षता गर्ने ज्येष्ठ सदस्य (सभामुख) ले प्रदेश प्रमुख अनुराधा कोइरालाबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने छन् । प्रदेशसभाको बैठकमा भाग लिन ३ नम्बर प्रदेशका १३ जिल्लाका प्रदेशसभा सदस्यहरु हेटौडामा भेला भइसकेका छन् । बैठकको कभरेजका लागि काठमाडौंबाट ठूलो संख्यामा सञ्चारकर्मीहरु हेटौडामा जम्मा भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !