१२ बैशाख २०८१, बुधबार

प्रधानमन्त्री ओलीले किन अचानक बोलाए सुरक्षा परिषद् र मन्त्रिपरिषद्को बैठक ?

प्रधानमन्त्री ओलीले अचानक बोलाए सुरक्षा परिषद् र मन्त्रिपरिषद्को बैठक


सुरक्षा परिषद्को बैठक फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक अचानक बोलाएका छन् । आज मंगलबार बिहान ९ बजे बैठक सिंहदरबारस्थित परिषद्को कार्यालयमा बस्ने भएको हो । गोप्य स्रोतका अनुसार बैठकमा देशमा विकसित पछिल्ला घटनाक्रम र सुरक्षाका विषयमा छलफल बुझिएको छ ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको फैसला एकदुई दिनभित्रै सुनाउने तयारी गरेको बेला बोलाइएको बैठकलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रुपमा हेरिएको छ । स्रोतका अनुसार प्रतिनिधिसभा विघटनपछि सर्वोच्चमा परेको रिटको फैसलालाई मध्यनजर गर्दै राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएको बुझिएको छ ।

परिषदका सदस्य सचिव एवम् रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डेले यो बैठकलाई नियमित भएको भन्दै आजको बैठकबाट निर्णय गर्नुपर्ने खास एजेण्डा नभएको बताएका छन् ।

खासगरी राष्ट्रिय विपद् र सुरक्षामा खतरा पैदा भए सेना परिचालन गर्ने निर्णय गर्न सुरक्षा परिषदको बैठक बस्ने गर्दछ । देशको सुरक्षा अवस्थाबारे छलफल गर्न पनि आवश्यकता अनुसार बैठक बस्ने गर्दछ ।

प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबरा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच हिजो साेमबार दिउँसो सर्वाेच्च अदालतमा भेटघाट भएको थियो । सर्वाेच्च अदालतमा प्रतिनिधिसभा विघटनको मुद्दामा बहस सकिएर ‘हेर्दाहेर्दै’मा रहेकाे अवस्थामा भएको प्रधानन्यायाधीश र प्रधानसेनापति बीचकाे भेटलाई अर्थपूर्ण रुपमा हेरिएको थियो ।

प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद् रहने संवैधानिक व्यवस्था छ । सदस्यमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्यसचिव र प्रधानसेनापति रहने व्यवस्था छ ।

राष्ट्रिय सुरक्षा परिषद्को बैठक लगत्तै मन्त्रिपरिषद्को बैठक बस्ने पनि तयारी रहेको छ । मन्त्रिपरिषद् बैठक १० बजे बस्नेगरी सूचना आएको एक मन्त्रीको जानकारी दिए ।

यो पनि पढ्नुहोस्

प्रधानन्यायाधीश जबरालाई भेट्न प्रधानसेनापति थापा किन अचानक पुगे सर्वोच्च अदालत ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !