८ बैशाख २०८१, शनिबार

प्रदेशसभा बैठक रोक्न मुख्यमन्त्री राईको दबाब, सभामुखद्वारा अस्वीकार


शेरधन राई र प्रदीप कुमार भण्डारी

काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आजको संसद् बैठक रोक्न सभामुख प्रदीपकुमार भण्डारीलाई दबाब दिएका छन् तर सभामुखले भने अस्वीकार गरेका छन् । आज बिहान भएको छलफलमा मुख्यमन्त्री राईले यस्तो दबाब दिएका हुन् ।

उनले सभामुखलाई सूचना टाँसेर आजको बैठक स्थगन गर्न आग्रह गरेतापनि सभामुखले आज अविश्वास टेबल हुने भएकोले मुख्यमन्त्रीको सो प्रस्तावलाई अस्वीकार गरिदिएका छन् । मुख्यमन्त्री पक्षले केहि समय अघिदेखि नै प्रदेशसभा अवरोध गर्दै आएको छ ।

विपक्षी दलहरुले यसलाई सरकारको आयु लम्ब्याउने प्रयास भएको बताएका छन् । आज २ बजेका लागि प्रदेशसभाको बैठक आह्वान भएको छ । यसअघि माघ २५ को बैठकमा अविश्वास प्रस्ताव टेबल हुने कार्यसूची थियो ।

छलफलमा मुख्यमन्त्री राईले अहिलेको अवस्थामा अविश्वासको प्रस्तावमा छलफल अघि बढाउन नमिल्ने बताएका थिए । सभामुख भण्डारीले अविश्वासको प्रस्ताव टेबुल गर्ने यसअघिकै कार्यसूची रहेकाले आज बैठक स्थगित गर्न नमिल्ने बताएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !