१३ बैशाख २०८१, बिहिबार

बादलले प्रचण्डलाई दिए हिटलरका मन्त्री गोयबल्सको संज्ञा


बादलले प्रचण्डलाई दिए हिटलरका मन्त्री गोबेल्सको संज्ञा

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका सचिवालय सदस्य तथा गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले प्रचण्डलाई हिटलरका मन्त्री गोयबल्सको संज्ञा दिएका छन् ।

प्रदेश १ को राजधानी विराटनगरमा ओली समूहले आयोजना गरेको बृहत जनसभालाई सम्वोधन गर्दै मन्त्री थापाले नेकपाको प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई हिटलरका प्रचारमन्त्री डा. जोसेफ गोयबल्ससँग तुलना गरेका हुन् ।

बादलले गोयबल्सको शैली अपनाउँदै भ्रम फैलाउने काम प्रचण्ड-माधव समूहले गरेको भन्दै उनीहरुको योजना कहिल्यै सफल हुन नसक्ने समेत बताउदै उनीहरुले भ्रम सिर्जना गरेपनि त्यस्ता भ्रम जनताले चिर्ने उनले दावी गरे । बादलले केही पूर्वमाओवादी धारका मन्त्रीहरु फेरि प्रचण्ड-नेपाल समूहतिर फर्किन लागेको भन्ने भ्रमण फैलाउन खोजेको भन्दै त्यसको खण्डन गरेका हुन् ।

‘केही नलागेपछि मन्त्रीहरु फर्केर प्रचण्ड-नेपालको समूहतिर फर्किदैछन् भन्ने भ्रम फाले । उनीहरुले किन यसो गर्दैछन् ? देशव्यापी रुपमा किन भ्रम फैलाउँदैछन् । यो उनीहरुको आतंक अभिव्यक्ति हो’, थापाले भने, ‘उनीहरुले गोबेल्स शैलीको सहारा लिँदैछन् । ती अवसरवादीहरु गोबेल्स बनेका छन् । उनीहरुले जनतालाई भ्रम दिँदैछन् । पार्टीले लिएको कदम प्रतिगामी हो भन्ने भ्रम फैलाइरहेका छन् ।’

उनले सरकारलाई अपदस्त गर्न प्रचण्ड-नेपाल समूह जस्केलाबाट लागि परेको भन्दै उनीहरु अग्रगामी हो कि ओली प्रतिगामी ? भन्दै बादलले प्रतिप्रश्न गर्दै प्रचण्ड-नेपाल समूहलाई गुटवादी र फुटवादीको संज्ञा दिए ।

गोयबल्स भन्थे, ‘असत्य भए पनि हजार पल्ट प्रचार गरेपछि जनताले स्विकार्न थाल्छन् ।’ आज नेपालका मूर्ख राजनीतिज्ञहरू त्यस्तै गोयबल्स शैलीमा रमाएका छन् ।’ मन्त्री थापाले भने ।

माघ २८ गते बुधबार राजधानीको भृकुटीमण्डपमा आयोजित विरोध सभामा बोल्दै नेकपाको प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधामन्त्री केपी ओलीको मन्त्रीमण्डलका बहालवाला २ जना मन्त्रीले आफ्नो समूहमा आउने तयारी गरेको बताएका थिए ।

‘केपी ओली पक्षबाट फर्किनेको लामै लिस्ट छ । अरु त अरु उहाँले बनाएका २ जना मन्त्री फर्किनका लागि मसँग वार्ता गर्दैछन्‚’ प्रचण्डले भनेका थिए, ‘केपीजी तपाईं भ्रममा कति दिन बाँच्ने हो ? सक्नुहुन्छ भने तपाईंलाई सल्लाह दिन चाहन्छु – तपाईंले साह्रै ठूलो अपराध गर्नुभयो । यो राष्ट्र र जनताका विरुद्ध । अझैपनि अलिकति ठाउँ राख्ने हो भने तुरुन्तै राजीनामा दिनुस् र पश्चातापको वक्तव्य निकाल्नुस् । तपाईंलाई नेपाली जनताले अलिकति ठाउँ दिन सक्छन् ।’

तर, ओली त्यसो नगरेर अझै मूर्खता गर्ने तयारीमा रहेको प्रचण्डले बताएका थिए । ‘तपाईं अझै मूर्खता गर्नेमा हुनुहुन्छ भन्ने मलाई थाहा छ। तपाई अझै निरंकुशतामा जानेमा हुनुहुन्छ मलाई थाहा छ। त्यसले कहिँ पुर्‍याउँदैन,’ प्रचण्डले भनेका थिए । प्रचण्डको यो अभिव्यक्तिलाई चोटिलो जवाफ दिदै बादलले प्रचण्डले झुटको खेती गरेर जनतालाई भ्रम सिर्जना गरेको आरोप पनि लगाए ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री ओलीले आज महत्त्वपूर्ण घोषणा गर्नुहुँदैछ : नेता नेम्वाङ

विराटनगरमा प्रधानमन्त्री ओलीविरुद्ध प्रचण्ड-नेपाल समूहका कार्यकर्ताद्वारा नाराबाजी

नेकपा ओली समूहको आज विराटनगरमा शक्ति प्रदर्शन : २ लाख जनता उतार्ने तयारी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !