७ बैशाख २०८१, शुक्रबार

संसदलाई सक्रिय बनाउन सकिन्छ : देव गुरुङ


संसदलाई सक्रिय बनाउन सकिन्छ : देव गुरुङ

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका स्थायी समिति सदस्य देव गुरुङले निष्कृय संसदलाई सक्रिय बनाउन सकिने बताएका छन् । रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेशद्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै गुरुङले न्यायलयको प्रक्रियाबाट र राजनीतिक दलको आपसी सहमतिबाट विघटित प्रतिनिधिसभालाई सक्रिय बनाउन सकिने दावी गरे ।

साक्षात्कारमा बोल्दै गुरुङले २०५९ मा राजा ज्ञानेन्द्रद्वारा विघटित संसद राजनीतिक सहमतिमा २०६३ मा सक्रिय बनाइएको उदाहरण दिए । उनले संविधान विपरित प्रधानमन्त्री र राष्ट्रपतिले विघटन गरेको प्रतिनिधिसभा सक्रिय र पुनःस्थापना हुन सक्ने दावी गरे । प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले राष्ट्रघात र जनघात गरेको आरोप लगाउँदै सबै देशभक्त राजनीतिक दल, नागरिक समाज, मिडिया एक ठाउँमा उभिनुको विकल्प नभएको बताए ।

प्रतिगामी कदम नसच्चिएमा शैन्य शक्ति आकर्षित हुने र देशमा जनविद्रोह पनि हुन सक्ने दुवै सम्भावना रहेको दावी उनले गरे । पूर्वमन्त्री समेत रहेका नेता गुरुङले देशमा स्थिरता र स्थायित्व कामय गर्न संसदलाई सक्रिय बनाउनुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री र राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्दैमा विघटन हुन नसक्ने दावी गरे । प्रतिनिधि सभा विघटन गरेर प्रधानमन्त्रीले लामो सङघर्षबाट स्थापित लोकतान्त्रिक, गणतान्त्रिक प्रणालीलाई उल्ट्याएर आफु सर्वशक्तिमान हुन खोजेको आरोप लगाए ।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री र राष्ट्रपतिको कदम पश्चगामी भएको दावी गर्दै उनले भने, ‘प्रधानमन्त्री ओलीले फाँसीवादी र तानाशाही चिन्तन देखाए ।’ प्रतिनिधिसभा विघटनसँगै नेपाललाई क्रिडास्थल बनाउन विदेशी शक्ति केन्द्रहरु आर्कषित भएको उनको भनाई थियो । उनले बैशाखमा चुनाव हुन नसक्ने दावी गरे । उनले भने, ‘प्रधानमन्त्रीले घोषणा गरेको चुनाव संविधान विपरित भएकाले असंवैधानिक रुपमा नेपालमा चुनाव हुँदैन ।’

लोकतान्त्रिक व्यवस्थामा बोल्न पाउने अधिकार सबैलाई भएको उल्लेख गर्दै बोलेकै भरमा पार्टीका नेता, कार्यकर्तालाई गिरफ्तार गर्ने, पक्राउ गर्ने, झुट्टा मुद्दा लगाएर तर्साउन खोज्नु सरकारको फाँसीवादी र तानाशाही चिन्तन भएको उनले बताए । नेतृ रामकुमारी झाक्रीको गिरफ्तारको विषयलाई इंगित गर्दै नेता गुरुङले भने– ‘सरकारको दमनका विरुद्व प्रतिरोध र प्रतिवाद गरिन्छ । राणाा, पञ्चायतले पनि दमन र झुट्टामुद्दा लगाएकै हो, ओलीले पनि त्यसैको निरन्तरता दिन खोजेका हुन्, त्यो सम्भव भएन ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !