७ बैशाख २०८१, शुक्रबार

प्रचण्ड-नेपाललाई ठुलो झड्का : देउवा-शशांकले साथ नदिने

प्रचण्ड-नेपाललाई ठुलो धक्का : देउवा-शशांकको धोका


प्रचण्ड र माधव नेपाल तथा शेर बहादुर देउवा र डा.शशांक कोइराला

काठमाडौं । राजनीतिक रुपमा विभाजन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंवैधानिक कदमका विरुद्धमा सवै राजनीतिक दलहरुसँग सहकार्य गरेर संयुक्त आन्दोलन गर्ने गरेको उद्घोषमा तुषारापात हुने संकेत एकपछि अर्को बढ्दै गएको छ ।

प्रचण्ड-नेपाल समूहले संयुक्त आन्दोलन गर्ने गरेको आव्हानलाई प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा र महामन्त्री डा.शशांक कोइरालाले अस्वीकार गरेर साथ नदिने संकेत गरेसँगै प्रचण्ड-नेपाल समूहलाई ठुलो झड्का लागेको छ ।

संयुक्त शशस्त्र आन्दोलन गरेर केपी ओली नेतृत्वको सरकार र समूहलाई मनोवैज्ञानिक दवाव सिर्जना गरी कम्जोर वनाउने र सके सत्तावाट नै हटाउने राजनीतिक रणनीति बनाएको प्रचण्ड-नेपाल समूहको आन्दोलन कति समय टिक्छ भन्ने कुरा अन्य राजनीतिक पार्टीले दिने साथमा नै निर्भर हुने देखिन्छ ।

२६ गते यसो भनेका थिए महामन्त्री कोइरालाले

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपाली कांग्रेसले आन्दोलन गर्दा कसैसँग मिल्न नहुने बताएसंगै प्रचण्ड-नेपाल समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई धक्का लाग्ने संकेत देखिएको थियो ।

माघ २६ गते सोमबार पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका दिवंगत सभापति सुशील कोइरालाको छैठौँ स्मृति दिवसको अवसरमा सुशील कोइराला सोसलिष्ट युथ सर्कलले आयोजना गरेको ‘संकटमा संविधान विषयक’ विचार गोष्ठिमा बोल्दै कोइरालाले नेपाली कांग्रेसको आफ्नै विचार र अस्तित्व भएको कारणले संयुक्त आन्दोलनमा जानु नहुने तर्क गरेका थिए ।

संयुक्त आन्दोलनमा गए नेपाली कांग्रेसलाई घाटा हुने बताउदै कोइरालाले आफ्ना कार्यकर्ताहरूलाई समेटेर एकजुट बनाई लिएर जान सके नेपाली कांग्रेसको भविष्य उज्वल रहेको बताएका थिए ।

हिजो यसो भनेका थिए सभापति देउवाले

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघट्नको विषय सर्वाेच्च अदालतमा विचाराधीन रहेको अवस्थामा जुलुसमा नारा लगाएर अदालतलाई यही गर् भन्न नमिल्ने बताएका थिए । यसको सांकेतिक अर्थ हुन्छ – प्रतिनिधिसभा विघटन विरुद्ध नेपाली काँग्रेस संयुक्त आन्दोलन जादैन ।

पार्टीको आदिवासी जनजाति केन्द्रीय विभागले हिजो काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनले भनेका थिए, “अदालतमा मुद्दा छ, नारा लगाएर यही गर् भन्न मिल्दैन, हामी त्यस्तो गर्दैनौ, जुलुसले हुने भए किन चाहियो अदालत ।” सभापति देउवाले काँग्रेस निर्वाचनमा विश्वास गर्ने लोकतान्त्रिक पार्टी भएको बताउँदै संसद् पुनःस्थापना र निर्वाचन दुवैका लागि तयार हुनुपर्ने धारणा व्यक्त गरेका थिए ।

आफूले जान्दाजान्दै हार्ने निर्वाचन पनि गराएको स्मरण गर्दै उनले भनेका थिए, “दुई वर्षपछि भए पनि अहिले भए पनि मुलुकमा निर्वाचन हुन्छ, लोकतान्त्रिक पार्टी निर्वाचनका लागि सधैँ तयार हुनुपर्छ ।” फरक प्रसङ्गमा उनले काँग्रेसले आफ्नो विधानमा महिला, आदिवासी/जनजाति, दलित, थारू, मधेसी, मुस्लिम, पिछडिएको क्षेत्र, अल्पसङ्ख्यक समुदाय सबैलाई उचित आरक्षणको व्यवस्था गरी सबैभन्दा समावेशी पार्टी बनेको बताएका थिए ।

सभापति देउवाले पार्टीले गरेको समावेशी व्यवस्थाका बारेमा सबै समुदायको तल्लो स्तरमा पुगी सो बारेमा प्रचार गर्न र काँग्रेसको पक्षमा माहोल बनाउन नेता कार्यकर्तालाई निर्देशन समेत दिएका थिए ।

हिजो यसो भनेका थिए काँग्रेसका अन्य नेताहरुले

उक्त कार्यक्रममा पार्टी उपभापति विमलेन्द्र निधिले सरकारले प्रतिनिधिसभा विघटन गरेको कार्यविरुद्ध वडास्तरसम्म राष्ट्रव्यापी कार्यक्रम गरेको बताउनुभयो । साथै उनले संविधानको व्यवस्थाविपरीत खोसिएको प्रतिनिधिसभा पुनःप्राप्ति हुनुपर्ने उल्लेख गर्दै त्यसका लागि संसद् पुनःस्थापना र निर्वाचन दुई बाटो रहेको बताएका थिए । आफूहरु स्वतन्त्र न्यायपालिकाको पक्षमा रहेकाले अदालतमा विचाराधीन रहेको विषयलाई प्रभाव पर्ने गरी नबोल्ने स्पष्ट पार्दै उनले काँग्रेस संसद् पुनःस्थापना र निर्वाचन दुवैका लागि तयार हुनुपर्ने उल्लेख गरेका थिए ।

सहमहामन्त्री डा प्रकाशशरण महतले प्रतिनिधिसभा विघटन भएको अवस्थामा संसद् चाँडै आउनुपर्ने बताउँदै भनेका थिए, “चाहे पुनःस्थापना होस्, चाहे निर्वाचनबाट आओस्, त्यसका लागि अदालतले छिटो निर्णय गर्नुपर्छ ।”

दलहरुको भ्रम

राजधानीको आसपास र अन्य जिल्लाका सोझा-सिधा नेपाली जनतालाई भकुण्डो बनाई बस रिजर्भ गरेर ल्याएका भाडाका मान्छेलाई राजधानी काठमाडौँमा उपस्थित गराउने र देशका सवै जनता आफ्नो पक्षमा छन् भनेर आम नेपाली जनताको आँखामा छारो हानेर भ्रम सिर्जना गर्ने गरेका सवै राजनीतिक दलका नेताहरुको खोपडीमा सद्वुद्धि कहिले आउने हो ।

राजनीतिक दलका नेताहरुको व्यक्तिगत स्वार्थपूर्ति, सत्ता र शक्तिको होडबाजी गर्ने घिनलाग्दो हर्कत धेरै टिक्ने देखिदैन किनकी बागमतीमा धेरै पानी बगिसकेको छ । आम नेपाली जनता धेरै शिक्षित र सचेत भईसकेका छन् । राजनीतिक दलका सवै नेताहरुले देखाइरहेको सत्ता मोहले आम नेपाली जनता वाक्कदिक्क भई सकेका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध संघर्ष गरिरहेको नेकपाको प्रचण्ड-माधव समूहले सबै पक्षलाई समेटेर संयुक्त आन्दोलन गर्ने बताइरहेको बेला नेपाली काँग्रेसका सभापति देउवाको हिजो र २६ गते सोमवार महामन्त्री कोइरालाको भनाइ आएका हुन् ।

कम्जोर आवाज र अस्थित्वविहिन जस्तो देखिदै आएको प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेताहरुले ठुलो थालमा एक्कासी ८४ ब्यन्जनको भोजनको गरेको अपेक्षा पनि आम नेपाली जनताले अवलोकन राम्ररी गरिरहेकै छन् । त्यस्तो ठुलो सपना नेपाली चोन्ग्रेस्सले पनि नदेखे हुन्छ किनकी नेपाली चोन्ग्रेस्सका नेताहरु पनि ‘जुन जोगी आएपनि कानै चिरेका’ भनेजस्तै नै हो ।

निष्कर्ष

यसवाट के प्रष्ट भन्न सकिन्छ भने नेपाली काँग्रेसले दुवै हातमा लड्डु आउने सपना देख्दैछ । नेपाली काँग्रेसको हलो सर्वोच्च अदालतमा केहि समय अड्किएको छ । सर्वोच्चले प्रतिनिधिसभा पुन:स्थापना गर्ने फैसला गरेपनि ठिक प्रतिनिधिसभा विघटन गर्ने फैसला गरेपनि ठिक किनकी ‘भाई फुटे गँवार लुटे’ भनेझैँ प्रतिनिधिसभा विघटनको फैसला आएर चुनाव भईहाले राजनीतिक रुपमा विभाजन भईसकेको नेकपाका दुवै समूहभन्दा नेपाली काँग्रेस ठुलो पार्टी भई सत्तामा जान सकिने सपना देखेको छ नेपाली काँग्रेसले ।

तर नेपाली काँग्रेसका सभापति र महामन्त्रीको धारणाले प्रतिनिधिसभा विघटनविरुद्ध संघर्ष गरिरहेको पार्टीको आवाज बुलन्द नहुने देखिएको छ भने केपी ओलीको नेतृत्वमा रहेको नेकपाको लागि सहज हुने संकेत आंकलन गर्न सकिन्छ । साथै सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने फैसला गरिदिएमा र निर्वाचन आयोगले ओली समूहलाई नेकपाको आधिकारिकता प्रदान गरेमा प्रचण्ड-नेपाल समूह नेकपाका नेताहरुलाई ‘हात्ती आयो, हात्ती आयो फुस्सा’ भनेझैँ हुनेछ ।

तर नेपालको राजनीतिको भविष्यवाणी विगतदेखि नमिल्ने भएकोले यसै हुन्छ भन्ने त सकिदैन किनकी सत्ता र शक्तिको लागि स्वार्थ मिल्यो भने नेपालका राजनीतिक दलका नेताहरु जस्तोसुकै सहमति गर्न पनि पछि पर्दैनन् किनकी नेपालका नेताहरु कुरा एउटा काम अर्को गर्छन् ।

यो पनि पढ्नुहोस्

जुलुसमा नारा लगाएर सर्वाेच्च अदालतलाई यही गर् भन्न मिल्दैन : सभापति देउवा

प्रचण्ड-नेपाललाई धक्का लाग्ने संकेत : शशांक भन्छन्, ‘आन्दोलमा कांग्रेस कसैसँग मिल्न हुँदैन’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !