८ बैशाख २०८१, शनिबार

राष्ट्रपति भण्डारीलाई के त्यस्तो भनेकी थिइन् रामकुमारीले जसले गर्दा उनी पक्राउ परिन् ?

राष्ट्रपति भण्डारीलाई यस्तो भनेकी थिइन् रामकुमारीले जसले गर्दा उनलाई प्रहरीले पक्राउ गर्यो


रामकुमारी झाँक्री र विद्यादेवी भण्डारी

काठमाडौँ । आज नेपालको राजनीतिक घटनाक्रम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीको पक्राउ प्रकरणमा केन्द्रित भयो । सामाजिक संजाल र अनलाइनमा झाँक्रीको पक्राउ प्रकरणका समाचारहरुले ठुलो स्थान पाए ।

राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई सोधपुछका लागि पक्राउ गरेको थियो । हिजो भृकुटीमण्डपमा भएको बृहत जनसभामा उनले मुखमा कालो टेप टाँसेर मञ्चमा उक्लिएर ‘बोल्न पाइन्छ’ भनेर कुर्लिदै राष्ट्रपति विद्यादेवी भण्डारीको मर्यादामा आँच पुर्याउने अभिव्यक्ति दिएकी थिइन् ।

यसअघि गोरखाको गोरखाको सिरान्चोक गाउँपालिकास्थित चित्रेपोखरीमा आयोजित विरोध सभामा माघ १६ गते झाँक्रीले राष्ट्रपतिविरुद्ध गरेको सम्वोधनको आलोचना हुँदै आएको थियो । तर आम नेपाली नागरिकलाई चासोको विषय हुनसक्छ राष्ट्रपति विद्यादेवी भण्डारीलाई उनले के त्यस्तो भनेकी थिइन् जसले गर्दा उनी पकाउ परिन् ? आउनुस् यसको विषयसँग सम्वन्धित विगतमा भएका घटनाक्रमको चर्चा गरौ ।

यस्तो थियो गोरखाको चित्रेपोखरीमा झाँक्रीले दिएको अभिव्यक्ति

राष्ट्रपतिका कुरा त के गर्ने । बडामहारानीले चुनाव हुन्छ भन्‍नुभएछ, अस्ति निर्वाचन आयोगको प्रतिवेदनको दिन । बडामहारानीलाई गोरखाबाटै सन्देश दिन चाहन्छु । निर्वाचनको तयारीका लागि कार्गेड छाडेर, सुख सुविधा ऐस आराम शीतल निवास छोडेर पहिला कोटेश्वर आउनुस् । चाबहिल कि बानेश्वर कता बसाइ छ भन्ने सुनेको थिएँ । होइन भने बालकोटै गए हुन्छ । नेपालको कुन जिल्लाबाट चुनाव लड्ने हो त्यसको तयारी गरेर सन्देश पठाउनुस् । तपाईसँग म पनि अलि भारी हुन्छ होला । यही रेखा लोप्चनलाई चुनाव लडाउँछौं र हराउँछौं ।

तपाइँका लागि म पनि भारी हुन सक्छु । त्यसकारण बडा महारानीले हामीले प्राप्त गरेका, संघर्ष गरेर ल्याएका अधिकारहरुमाथि गिद्धे दृष्टी लगाएर एउटा गुटको, खास गुटको मान्छेको तुष्टी फेर्नका लागि गरिएको असंवैधानिक कदम किमार्थ पनि स्वीकार्य हुन सक्दैन ।

त्यसकारण नेकपा एमालले २०५० सालमा गरेको भूल थियो । यहाँ अन्यथा नहोस् । तमामा दिदी बहिनी हुनुहुन्छ । सहिद परिवार हुनुहुन्छ । यहाँहरुलाई भन्न खोजेको होइन । मदन भण्डारीको हत्या पछाडी सेतो साडी ल्याएर जुन शक्ति आर्जन गर्ने गलत साँस्कृतिक अभ्यास गरेको थियो नेकपा एमालले त्यसको प्रतिउत्पादन हो, विद्या भण्डारी । आज यो संविधानको चीर हरण गर्ने कारण बनेको छ । त्यसकारण संस्कृति पनि सहि हुनुपर्ने रहेछ । धरानमा हामीले चुनाव हार्नुको पछाडिको कारण पनि त्यही हो ।

धरानमा मेयरचाहीँ बिरामी भएर बित्नुभो । मेयरको श्रीमतीलाई टिकट नदिएको भनेर भोट हालेनन् । त्यहाँ कांग्रेसले जित्यो । सेन्टीमेन्टको, इमोशनल ब्लाकमेलको राजनीति पनि बन्द गर्नुपर्ने हुन्छ । राजनीति विचारधाराकै गर्नुपर्दो रहेछ । त्यसकारण जब विचार सिद्धिन्छ ।

कपाल देखाएर, नाक देखाएर छाला देखाएर लुगा देखाएर राजनीति गरिन्छ नि, पुग्ने त्यहीँ हो । त्यसबाट आउने चिज पनि त्यही हो । गलत काम गरेकै कारण । नारायणकाजी कमरेडलाई पनि थाहा छ । दोस्रो पटक विद्या भण्डारीलाई राष्ट्रपति नबनाउँ भनेर सचिवालयका सबै नेताहरुको घरमा देउसी खेल्न गएको हामी । उहाँहरुले कानमा तेल हाल्नुभो ।

त्यतिन्जेलसम्म उहाँहरुको विद्या भण्डारीले केही बिगारेको थिइनन् । हाम्रो पनि त केही बिगारेको थिएन । अब थाहा पाउनुभयो । त्यसकारण हामी दुरदर्शी थियौं भन्ने प्रमाणित भयो नि । सबै नेताकोमा गएको हामी । एउटै सेरमोनियल पदमा एउटै मान्छे दोहोर्‍याइ तेहेर्‍याइ किन राख्ने ?

यस्तो भनेकी थिइन् हिजो भृकुटीमण्डपमा झाँक्रीले

हिजो माघ २८ गते प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड-नेपाल समूहले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको आमसभामा झाँक्रीले मुखमा कालो टेप टाँसेर मञ्चमा उक्लिएर ‘बोल्न पाइन्छ’ भनेर कुर्लिएकी थिइन् । राष्ट्रपति जस्तो सम्माननीय संस्था आफूहरुको बलिदानीले प्राप्त भएको र त्यस संस्थाविरुद्ध बोल्ने दुस्साहस आफूले नगरेको बताएकी थिइन् ।

‘कुनै व्यक्ति निर्वाचनको प्रक्रियाबाट त्यो संस्थामा गएर निरंकुशताको साक्षी बस्छ, एउटा प्यादा बन्छ भने त्यस्ता पात्रविरुद्ध बोल्न पाइन्छ’ उनले भनेकी थिइन्, ‘एउटा खलपात्रविरुद्ध बोल्दै गर्दा कसले भन्छ महिला अस्मिता मिचियो भनेर ?’ ‘महिला अस्मिता त त्यतिबेला बलात्कृत भएको छ, जतिबेला निर्मला पन्त, भागरथी भट्ट जस्ता किशोरीहरु बलात्कृत भएका छन्, उनीहरुको हत्या भएको छ’ उनले भनेकी थिइन् ।

अखिल नेपाल महिला संघलाई विद्या भण्डारीले १८ वर्षसम्म प्राइभेट कम्पनी बनाएको र त्यसका सदस्यहरुले महिला अस्मिताको प्रश्न उठाएको भन्दै उनले भनेकी थिइन्, ‘मलाई जन्न मन छ, भागरथीहरुका हत्याराहरुलाई कारबाही गर भनेर गृह मन्त्रालय पुगे कि पुगेनन् ?’

गोरखामा झाँक्रीले दिएको अभिव्यक्तिप्रति राष्ट्रपतिकी छोरी उषाकिरणको आपत्ति

नेकपाकी नेतृ रामकुमारी झाँक्रीले आफ्नी आमा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध दिएको अभिव्यक्तिप्रति दुःख व्यक्त गर्दै उषाकिरण भण्डारीले आपत्ति जनाएकी थिइन् । नेतृ झाँक्रीले केही दिनअघि गोरखामा आयोजित विरोध सभामा प्रतिनिधि सभा विघटन गरेको रिसमा नेता मदन भण्डारीको निधनपछि विद्यादेवी भण्डारीलाई नेता बनाउनु गल्ती थियो भनेर आलोचना गरेकी थिइन् ।

उनले भनेकी थिइन्, ‘अन्यथा नहोस्, तमाम दिदीबहिनी हुनुहुन्छ, सहिदका परिवार हुनुहुन्छ, यहाँहरूलाइ भन्न खोजेको होइन, मदन भण्डारीको हत्यापछाडि सेतो सारी ल्याएर जुन शक्ति आर्जन गर्ने गलत सांस्कृतिक अभ्यास गरेको थियो नेकपा एमालेले, त्यसको प्रतिउत्पादन हो – विद्या भण्डारी । आज यो संविधानको चीरहरण गर्ने कारण बनेको छ। त्यसकारण संस्कृति पनि सही हुनुपर्ने रहेछ ।’

यहाँ रामकुमारी झाँक्रीलाई आफ्नो युवा नेता मान्नेले झाँक्रीलाई सुनाइदिनू

१. गल्ती सेतो सारीमा होइन, गल्ती दृष्टिकोणमा छ

२. गलत चुनाव लडाउनु होइन, उहाँमाथि त्यसबेलाका शीर्ष नेताले गरेको व्यवहार र बोलीमा थियो। अहिले उहाँ तपाईंको शीर्ष नेता हुनुहुन्छ, सोध्नुहोस्, गएर

३. तपाईं कम्युनिस्ट स्कुलिङको हो भने सांस्कृतिक आन्दोलन कति पेचिलो हुन्छ बुझ्नुपर्ने। मेरो मम, एउटा अकल्पनीय घटना सामना गर्दै हुनुहुन्थियो। तपाईं सेतो सारीको कुरा गर्नुहुन्छ। हाम्रो घरमा सेतो तन्ना, सेतो सोफा सेतै भित्ता थिए। उहाँले ड्याडीलाई मनपर्ने खानारअचार बनाउन छोड्नुभयो।

उहाँका ससाना छोरीहरू हामीले प्रश्न उठाएनौं। तपाईं उहाँको सारीमा प्रश्न उठाउने को हो !? हामी ९/१० वर्षकाले बुझ्यौँ उहाँ ट्रेजेडी (शोक) सँग कोप (सामना) गर्ने कोसिसमा यो सब गर्दै हुनुहुन्थियो। तपाईं महिला, ठूलो मान्छे भएर यति बुझ्नुभएन !!?

तपाईंलाई अर्को कुरा भन्छु—दसैंमा टीका ग्रहण पनि राष्ट्रपति भएपछि बाध्यात्मक अवस्था भएर लाउनुभयो। राष्ट्रप्रमुखको निधार खाली हुनु हुँदैन भन्ने मान्यताले गर्दा उहाँको बूढी आमाले उहाँलाई प्रश्न गर्नुभएन। जमरा मात्रै हातमा दिँदा तपाईं भीड जम्मा गरेर किन सांस्कृतिक क्रान्ति नगरेको भनेर प्रश्न गर्ने को हो !?

ट्रेजेडी कोप गर्ने हरेकको आफ्नो आफ्नो बाटो हुन्छ। जुन बाटो स्वयम् त्यो व्यक्तिले पनि भोलिन्टेरिली (स्वेच्छाले) रोजेको होइन। हरेक कुरा नाफा र नोक्सानमा तुलना गर्न सकिँदैन।

यदि तपाईंलाई लाग्छ— आफ्नो माया आफ्नो जीवनसाथी भन्दामाथि करिअर महत्वाकांक्षा हो भने ठाउँ साटौं। तपाईं उहाँको सिन्दुरपोते, रातो सारी, हाम्रो ड्याडी, हाम्रो बाल्यकाल फिर्ता ल्याइदिनुस्। अनि तपाईंलाई हामीसँग त्यस्तो नाफा भएको के छ जस्तो लाग्छ, लिएर जानुस्।

झाँक्रीलाई नेता मान्ने र सम्पर्कमा भएकाले यो छोरीको प्रश्न सुनाइदिनू।

झाँक्रीलाई कारबाहीकाे माग गर्दै अनेमसंघले बुझाएको थियो गृहमन्त्रीलाई ज्ञापनपत्र

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहको अखिल नेपाल महिला संघ (अनेमसंघ) ले माघ २१ गते नेकपा प्रचण्ड-नेपाल समूहकी नेतृ तथा विघटित प्रतिनिधि सभा सदस्य रामकुमारी झाँक्रीलाई प्रक्राउ गरी कारबाही गर्न माग गरेको थियो ।

गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाउँदै अखिल नेपाल महिला संघले माघ १६ गते गोरखाको सिरानचोक गाउँपालिकाको एक कार्यक्रममा झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीको चारित्रिक हत्या गरेको भन्दै प्रक्राउ गरी कारबाही गर्न माग गरेको थियो ।

ज्ञापनपत्रमा नेतृ झाँक्रीले राष्ट्रपति भण्डारीको चारित्रिक हत्या गर्दै विभिन्न लाञ्छना, गाली बेइज्जती गरी व्यक्तिगत, पारिवारिक तथा राष्ट्रपतिकै इज्जतमा समेत धक्का पुर्याउने नियतले आपत्तिजनक र अपमान जनक शब्दहरु प्रयोग गरेकाले पक्राउ गरी कानुन बमोजिम कारबाही गर्न माग गरिएको थियो ।

अनेम संघकी नेतृ सुजिता शाक्यले झाँक्रीले राष्ट्रपति संस्था माथि नै अपमानजनक व्यवहार गरेकाले तत्काल कारबाही गर्न माग गरिएको बताएकी थिइन् । गृहमन्त्री थापाले ज्ञापन पत्र बुझ्दै राष्ट्रपतिमाथि अशोभनीय आरोप लगाउनेलाई कडा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने बताएका थिए ।

झाँक्रीले प्रधानमन्त्री ओलीलाई दिएको चेतावनी

रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिम्मत छ भने आफूलाई गिरफ्तार गर्न कडा चेतावनी समेत दिएकी थिइन् । प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेतृ झाँक्रीले यस्तो बताएकी थिइन् ।

झाक्रीले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत उक्त समूहले हिजो काठमाडौंको भृकुटीमण्डपमा गरेको विशाल आमसभामा बोल्दै उनले केपी शर्मा ओली कागजी तानाशाह बताएकी थिइन् । उक्त सभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी ओलीलाई कागजी बादशाहको संज्ञा दिँदै उनले आजको विरोध कार्यक्रममा उपस्थित जनताले उनी ढलिसकेको संकेत गरेको र अब घोषणा गरेको पनि जिकिर गरेकी थिइन् ।

राज्य विरुद्धको कसूरमा पक्राउ परेकी रामकुमारीलाई कति वर्ष कैद हुनसक्थ्यो ?

प्रहरीले राज्यविरुद्धको कसूर गरेको आरोपमा झाँक्रीलाई पक्राउ गरेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई सोधपुछका लागि पक्राउ गरेको थियो । महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले उनको आफ्नै निवास काठमाडौँ महानगरपालिका-३१ स्थित शङ्खमूलबाट पक्राउ गरेको थियो ।

राज्य विरुद्धको अपराध अन्तर्गत दफा ५८ को कसुरमा पक्राउ पूर्जी जारी गरी झाँक्रीलाई नियन्त्रणमा लिइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिएका थिए ।

उक्त दफामा राष्ट्रपति वा संसद्लाई धम्की दिन नहुने उल्लेख छ । उक्त दफाको उपदफा ९१० मा कसैले नेपालको राष्ट्रपति वा संसद्लाई संविधान तथा कानूनबमोजिम गर्नुपर्ने कार्यसम्पादन गर्नबाट रोक लगाउन वा बञ्चित गर्न वा कुनै खास तरिकाबाट कार्यसम्पादन गर्न बाध्य गराउन नहुने, कुनै किसिमको बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमको दबाब दिन नहुने उल्लेख छ ।

उपदफा २ मा दफा ९१० बमोजिमको कसुर गर्ने वा गराउने व्यक्तिलाई ७ वर्षसम्म कैद वा ७० हजारसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । अखिल नेपाल महिला सङ्घले झाँक्रीलाई कारवाहीको माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएको थियो ।

राज्य विरुद्धको अपराधमा पक्राउ परेकी रामकुमारीलाई कति वर्ष कैद हुनसक्छ ?

पक्राउको विरोधमा उनका समर्थकले चर्का नाराबाजी सहित प्रदर्शन गरेका थिए । पक्राउ हुनुअघि झाँक्रीले आफूले कानूनको पालना गरेको जिकिर गरेकी थिइन् । उनलाई प्रहरी पकाउ गर्न जाँदा आफूलाई नियन्त्रणमा लिने हो भने पक्राउ पूर्जी लिएर आउन प्रहरीलाई आग्रह गरेकी थिइन् । महाशाखाले राज्य विरुद्धको कसूरमा अनुसन्धान गर्न भनी झाँक्रीलाई पक्राउ पूर्जी पनि दिएको थियो ।

नेकपा नेत्री रामकुमारी झाँक्रीलाई पक्राउ पूर्जी

राष्ट्रपति जस्तो सम्मानित संस्थाविरूद्ध अनर्गल प्रचार गर्ने काम गरेकाले उनलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जानकारी दिएको थियो । झाक्रीमाथि राष्ट्रपतिको मर्यादामा आँच पुर्याउने अभिव्यक्ति दिएको आरोप सरकारी पक्षको थियो ।

रामकुमारीलाई पक्राउ गरेको ५ घण्टामा नै रिहा

प्रहरीले राज्यविरुद्धको कसूर गरेको आरोपमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका केन्द्रीय कमिटी सदस्य रामकुमारी झाँक्री अन्ततः निःशर्त रिहा भएकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई सोधपुछका लागि पक्राउ गरेको थियो ।

उनलाई प्रहरीले आज बिहीबार दिउँसो १ः१० बजेतिर काठमाडौँ महानगरपालिका-३१ बानेश्वरस्थित शंखमूलनिवासबाटै प्रहरीले पक्राउ गरेको थियो भने करिब ५ घण्टा हिरासतमा रहेपछि साँझ ६ः२० बजे रिहा गरिएको हो ।

सरकारले उनलाई मुद्दा हालेर लामै समय जेल कोच्ने तयारी गरेको हुनसक्ने आंकलन धेरै नेपालीले गरेका थिए । यही आशंकाले गर्दा प्रचण्ड-नेपाल समूहका कार्यकर्ताले विरोध प्रदर्शन गरेका थिए । अनेरास्ववियूले झाँक्रीलाई रिहा नगरे नेपाल बन्द गर्ने चेतावनी दिँदै विज्ञप्ति निकालेको थियो ।

अन्य नेताहरुले भाषण गर्दै सरकारको आलोचना गर्न पछि परेनन् । यद्यपि सबैको अनुमान विपरित प्रहरीले आजै बेलुकी रामकुमारीलाई सामान्य बयान लिएर उनलाई अन्ततः निःशर्त रिहा गरेको छ ।

रामकुमारीलाई पक्राउ गरेको ५ घण्टामा नै रिहा गरेर किन ‘ब्याक’ भयो ओली सरकार ? भन्ने चासो आम नेपाली नागरिकमा बढेको छ । महानगरीय अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाका अनुसार उनलाई सोधपुछ गरी श्रीमान पशुपति पुरीको रोहवरमा छाडिएको जानकारी दिएका छन् ।

सोधपुछको क्रममा उनले संवैधानिक राष्ट्रपतिप्रतिको सम्मान हिजो, आज र भोलि पनि उत्तिकै रहने बताएकी थिइन् । आफूले नेपालको प्रचलित कानुनको पालना गरेर अभिव्यक्ति स्वतन्त्रताको हत, राजनीतिक स्वतन्त्रताको हक प्रयोग गरेर मात्रै बोलेको उनले बताएकी थिइन् । बयानपछि उनलाई मुद्दा चलाउनु पर्ने आवश्यकता नदेखिएको र राखिराख्ने कुरा नभएको प्रहरीले बताएको छ ।

विशेष स्रोतका अनुसार झाँक्रीलाई पक्राउ गरिएकोमा राष्ट्रपति कार्यालयले समेत असन्तुष्टि जनाएको बुझिएको थियो । यसरी चौतर्फी बिरोध भएपछि उनलाई हिरासतमा राखिराख्न प्रहरीले चाहेको थिएन भने सोही कुरा बालुवाटार र सरकारी निकायले समेत ‘महसुस’ गरेपछि झाँक्रीलाई ५ घण्टामै रिहाइ गर्न सरकार बाध्य भएको हो ।

यो पनि पढ्नुहोस्

रामकुमारीलाई पक्राउ गरेको ५ घण्टामा नै किन रिहा गर्यो ओली सरकारले ?

रिहाइपछि झाँक्रीले भनिन्, ‘प्रतिगमन झुक्ने प्रक्रिया सुरु भयो, ओलीसँग हामीलाई छुन सक्ने हैसियत छैन’

पक्राउ परेको ५ घण्टा नबित्दै रिहा भइन् रामकुमारी झाँक्री

राज्य विरुद्धको अपराधमा पक्राउ परेकी रामकुमारीलाई कति वर्ष कैद हुनसक्छ ?

रामकुमारी झाँक्रीलाई विनाशर्त रिहा गर्न प्रचण्ड-नेपाल समूहको माग

प्रचण्ड भन्छन्, ‘ओलीको ठाडो आदेशमा रामकुमारी झाँक्रीलाई पक्राउ गरियो’

प्रहरीद्वारा रामकुमारी झाँक्रीलाई बुद्धनगर निवासवाट गिरफ्तार

झाँक्रीलाई पकाउ गर्न प्रहरी उनको निवासमा पुगेपछि समर्थकहरुद्वारा नाराबाजी

झाँक्रीका समर्थक कार्यकर्ताहरुको नाराबाजी : रामकुमारी झाँक्री हाई, हाई, केपी, विद्या बाई बाई !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !