८ बैशाख २०८१, शनिबार

‘बोल्न पाइन्छ’ भनेर हिजो कुर्लिने झाँक्रीलाई बोलायो प्रहरीले, पक्राउको तयारी

नेकपा नेतृ झाँक्रीलाई सोधपुछका लागि बोलायो प्रहरीले, पक्राउको तयारी


रामकुमारी झाक्री

काठमाडौं । मुखमा कालो टेप टाँसेर मञ्चमा उक्लिएर ‘बोल्न पाइन्छ’ भनेर हिजो कुर्लिने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समुहकी नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले सोधपुछका लागि बोलाएको छ । हिजो राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई सोधपुछका लागि बोलाएको हो ।

राष्ट्रपति जस्तो सम्मानित संस्थाविरूद्ध अनर्गल प्रचार गर्ने काम गरेकाले उनलाई सोधपुछका लागि बोलाइएको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ । उनलाई बिहीबार बिहान १० बजे आउन भनेपनि उनले आउन अस्वीकार गरेकी छन् ।

उनलाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले सोधपुछका लागि बोलाउँदा उपस्थित नभएपछि आजै बिहीबार पक्राउको तयारी गरेको हो । यसअघि झाक्रीलाई पक्राउ गर्न सरकारले प्रहरीलाई चर्को दबाब दिँदै आएको थियो । झाक्रीमाथि राष्ट्रपतिको मर्यादामा आँच पुर्याउने अभिव्यक्ति दिएको आरोप सरकारी पक्षको छ ।

ओली पक्षको अखिल नेपाल महिला संघ (अनेमसंघ) ले झाँक्रीलाई कारबाही गर्न माग गर्दै गत साता गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र नै बुझाएको थियो । ज्ञापनपत्र बुझाउँदै अनेमसंघले झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीको चरित्र हत्या गरेकाले पक्राउ गरी कारबाही गर्न माग गरेको थियो ।

गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर नेकपा ओली समूह सम्बद्ध अनेम संघले रामकुमारीलाई कारबाही गर्न माग गरेको थियो । यसअघि झाँक्रीले गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपति भण्डारीले सक्रिय राजनीति गरेको भन्दै आलोचना गरेकी थिइन्।

उनले भनेकी थिइन्- राष्ट्रपतिका कुरा त के गर्नु र ! बडामहारानीले चुनाव हुन्छ भन्‍नु भएछ । बडामहारानीलाई गोरखाबाटै सन्देश दिन्छु । शीतल निवासको कारगेट छाडेर कोटेश्‍वर फर्किए हुन्छ । चाबहिल हो कि कता घर छ रे । त्यता पनि नभए बालकोट नै गए पनि हुन्छ ।

मदन भण्डारीको हत्यापछि तत्कालीन एमालेले २०५० सालमा विद्यादेवी भण्डारीलाई चुनाव लडाउनु भुल भएको झाँक्रीको भनाइ थियो । ‘मदन भण्डारीको हत्यापछि सेतो साडी लगाएर चुनावमा उठाउने नेकपा एमालेले जुन संस्कृति सुरू गरेको थियो, जे गरेको थियो, त्यसको प्रतिउत्पादक हो विद्या भण्डारी ,’ उनले भनेकी थिइन्।

झाँक्रीले भने आफ्नो भनाइ महिला अस्मितासँग नजोडिने बताउँदै आएकी छन् । बुधबार राजधानीमा आयोजित प्रचण्ड-नेपाल समूहको आमसभामा पनि उनले आफूविरूद्ध लगाइएको आरोपको विरोध गरेकी थिइन् । झाँक्रीले काठमाडौँमा भएको बुधबारको बिरोध सभामा राष्ट्रपति सम्मनित संस्था भएपनि उक्त पदमा बस्ने व्यक्तिको कार्यशैली ठीक नभएको भन्दै गलत कार्यशैलीको विरोध गरेको बताएकी थिइन् ।

‘हामीले ल्याएको व्यवस्थामा बोल्न पाइन्छ । महिला अस्मिता र संविधानविरुद्ध काम गर्ने खलपात्रविरुद्ध बोल्दा महिलाको अस्मिता मिचिदैन बरु भागरथी भट्ट र निर्मला पन्तको बलात्कार र हत्या हुँदा मिचिन्छ । राष्ट्रपति संस्था हो, संस्थाको कुनै लिंग हुँदैन’, झाँक्रीले बुधबार काठमाडौमा भएको सभामा भनेकी थिइन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !