७ बैशाख २०८१, शुक्रबार

पृथ्वीनारायण मात्र नभएर कालु पाँडे र बिसे नगर्चीलाई पनि उत्तिकै सम्झिनुपर्छ : प्रधानमन्त्री ओली

नेपाल एकीकरणको योगदान गर्ने वीर पुर्खाहरुलाई यसरी सम्झे प्रधानमन्त्री ओलीले


केपी शर्मा ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल एकीकरणको योगदानको चर्चा गर्दा पृथ्वीनारायण शाह मात्र नभएर कालु पाँडे र बिसे नगर्चीलाई पनि सम्झिनुपर्ने बताउदै उनले इतिहासमा पुर्खाले लडाईं लडेका किल्लाहरुको संरक्षण गर्नुपर्नेमा जोड दिए ।

नेपाली सेनाले आयोजना गरेको एकिकरण मार्ग कार्यक्रम दोस्रो बृहत सेमिनार-२०७७ को समापन समारोहमा बोल्दै उनले सो कुरा बताएका छन् । उनले नेपाल एकीकरण गरेकोमा पृथ्वीनारायण शाह र बहादुर शाहको खुलेर प्रशंशा गरेका छन् ।

साथै उनले नेपाल एकीकरणका लागि पृथ्वीनारायण शाहले पुर्‍याएको योगदानको चर्चा गर्दा नेपाल जोगाउनेहरूको योगदानलाई पनि बिर्सिनु नहुने बताएका छन् । कालु पाँडेदेखि विशे नगर्चीसम्मले देशको रक्षामा ठुलो भूमिका खेलेको उनले बताएका हुन् ।

उनले कसैका सन्तान-दरसन्तानको गुणगान गाउने, कसैको लेखाजोखा नहुँदा इन्साफ नहुने भएकोले बिनाभेदभाव महान पूर्वजहरुको स्मरण गर्नुपर्ने बताउदै बिसे नगर्ची र लडाई यसरी लड्नुपर्छ भनेर पृथ्वीनारायण शाहलाई बुद्धि दिने बुढी आमैलाई समेत धन्यवादका पात्र भएको उनको भनाई छ ।

अमरसिंह थापाले ७४ वर्षमा तरवार लिएर मैदानमा लडेको ओलीले चर्चा गर्दै अर्का महान योद्धा भिमसेन थापालाई हिरासतमा कायरतापूर्वक षडयन्त्रपूर्वक मारिएको टिप्पणी पनि गरे । साथै भिमसेन थापाका छोरा नातिले पनि योगदान दिएको बताउदै उजिरसिंह थापाले बुटवलमा किल्ला सम्हालेर अंग्रेजलाई नलखेटेको भए नेपाल जोगाउन गाह्रो हुने उनको ठम्याई थियो ।

साथै उनले अभियान एकीकरण खटेर लड्ने महान् योद्धाहरु बीर अमरसिंह थापा, दामोदर पाँडे, कालु पाँडे, बलभद्र कुँवर, भीमसेन थापा लगायतको योगदानको उच्च मुल्यांकन गर्न जरुरी भएको पनि बताएका छन् ।

उनले पृथ्वीनारायण शाह मात्र नभएर यी योद्धाहरु लगायतका सेनापतिहरु पनि उत्तिकै योगदान भएको बताउदै कालु पाँडे, दामोदर पाँडेहरु सेनापति भएर पनि तरवार बोकेर आफैं लडाईंका मोर्चामा भएर उनीहरू आदेश दिने स्थानमा भएर पनि सैनिकहरुलाई आदेश दिएर लडाईमा पठाउने अनि आफू घर बस्ने नगरेको बताए ।

उनीहरुले ‘आउ सेना’ हो भनेर लडाईको मैदानमा गएर आफू पनि लडेको तर ‘जाउ सेना’ नभनेको बताए । हामी नेपालीले अहिले लडाईं लड्नु अवस्था नभएको ले केवल पुर्खाले लडाईं गरेको ठाउँको संरक्षण मात्र गर्ने हो भन्दै यो लडाईं लड्ने जस्तो कठिन काम नभएको पनि बताए होइन ।

प्रधानसेनापति कमाण्ड मार्ग निर्देशन २०७५ मा उल्लेख भए अनुसार इतिहास तथा ऐतिहासिक धरोहरको संरक्षण, सम्बर्द्धन र प्रबर्द्धन गर्दै राष्ट्रिय एकता प्रबर्द्धनमा सहयोग पुर्याउने उद्देश्य सहित एकीकरण मार्ग कार्यक्रमकाे आयोजना गरिएको थियो ।

राष्ट्रिय एकताको संरक्षण र सम्बर्धन गर्ने संवैधानिक जिम्मेवारी समेत प्राप्त गरेको नेपाली सेनाले ऐतिहासिक गढी, किल्ला तथा एकिकरण पदमार्गको संरक्षण गर्ने लक्ष्यका साथ शुरु गरेको कार्यक्रम अन्तर्गत गत वर्षदेखि नेपाल सरकारको नीति तथा कार्यक्रमको रुपमा निरन्तरता पाइरहेको छ ।

सेनाको इतिहास र संस्कृतिको सम्बर्द्धन र प्रवर्द्धन गर्ने कार्यक्रमहरु तर्जुमा गर्ने कार्यमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारहरु, सरोकारवाला मन्त्रालयहरु, पुरातत्व विभाग, पर्यटन बोर्ड, इतिहास तथा संस्कृतिविद्हरुबाट संस्थागत तथा व्यक्तिगत तवरबाट सक्रिय सहयोग प्राप्त हुनुले सबै सरोकारवालाहरुले यस कार्यक्रमको उत्साहजनक रुपमा अपनत्व लिएको नेपाली सेनाले बताएको छ ।

एकीकरण मार्ग कार्यक्रमबाट प्राप्त हुने प्रतिक्रियाहरु, सिर्जनात्मक सोच र अवधारणाहरुले ऐतिहासिक सम्पदा, गढी तथा किल्लाहरुको संरक्षण एवं सम्बर्द्धनको दीर्घकालीन र एकीकृत योजना निर्माणको लागि साझा बुझाईको निर्माण, ऐक्यबद्ध एवं समन्वयात्मक प्रयास हुनुको साथै राष्ट्रिय एकताको प्रबर्द्धनमा सहयोग पुर्याउन महत्वपुर्ण भूमिका खेल्ने नेपाली सेनाले विश्वास लिएको छ ।

यो पनि पढ्नुहोस्

अंग्रेजले तराईसम्म खेदे पहाडमा हामीले उनीहरुको गेडी खुस्क्याइदियौ : प्रधानमन्त्री ओली


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !