१३ बैशाख २०८१, बिहिबार

किन उपेन्द्र यादवको साथ छोडी नेकपा ओली समूहमा गरे प्रवेश जसपा नेता डा. यादव ?

उपेन्द्र यादवका विश्वास पात्र डा. यादव नेकपा ओली समूहमा प्रवेश


डा. शिवजी यादव नेकपा ओली समूहमा प्रवेश

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का नेता तथा पूर्वसांसद डा. शिवजी यादव प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहमा प्रवेश गरेका छन् । यादवलाई प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार पार्टीमा स्वागत गरेका छन् ।

जसपा नेपालका केन्द्रीय सदस्य तथा अनुशासन विभागका प्रमुख समेत रहेका डा.शिवजी यादव आजै नेकपा ओली समूहमा प्रवेश गरेका हुन् । जनतामा जाने ओलीको निर्णयको समर्थन गर्दै नेकपा ओली समूहमा आवद्ध भएको उनले बताएका छन् ।

मुलुकलाई अस्थिरतामा धकेल्ने खेल भइरहेको बेला जनतामा जाने निर्णयलाई समर्थन गर्दै आफू नेकपामा आवद्ध भएको उनले बताएका छन् । आफूलाई पार्टीले जुनसुकै जिम्मेवारी दिएतापनि आफूले काम गर्ने उनले बताएका छन् ।

उनले आफू पहिला पनि एमालेमै भएको पनि बताएका छन् । पहिला एमालेमा रहँदा उनी वुद्धिजिवी र प्रवास कमिटीमा थिए । महोत्तरीका यादव दोश्रो संविधान सभामा तत्कालीन समाजवादी फोरमवाट सांसद बनेका थिए । २०६३ को मधेस आन्दोलनपछि उनी मधेसी जनअधिकार फोरममा आवद्ध भएका थिए ।

उनले आफूले उपेन्द्र यादवलाई धेरै सहयोग गरी सहयोगी भएर काम गरेतापनि उनले आफूलाई कहिले स्वीकार नगरेकोले उपेन्द्र यादवको रवैया कारण आफूले पार्टी छाडेको पनि बताएका छन् ।

नेकपा ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले मधेशको मुद्दाप्रति गम्भीर रहेको भन्दै उनले मधेशको विकास र अधिकारका लागि काम गर्ने प्रतिवद्धता जनाएको कारण आफू पार्टीमा प्रवेश गरेको बताएका छन् ।

पार्टीमा प्रवेश गरेपछि उनले मधेशका लागि प्रधानमन्त्री ओलीले राम्रो गर्ने बताएका छन् । उनले मधेशी नेताहरुले आजसम्म मधेशी जनतालाई लडाएर त्यसको नाममा राजनीति गरेको बताउँदै आउने दिनमा सबै कुरा विस्तारै खुल्दै जाने बताएका पनि छन् ।

उनले जसपा नेपालका थुप्रै नेताहरु निकट भविष्यमा नेकपा ओली समूहमा प्रवेश गर्न लागेको समेत दावी गरेका छन् । यसरी उपेन्द्र यादवका विश्वास पात्रका रुपमा मानिने डा. यादव नेकपा ओली समूहमा प्रवेश गरेसंगै जनता समाजवादी पार्टी र उपेन्द्र यादवलाई ठुलो धक्का लागेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !