१३ बैशाख २०८१, बिहिबार

सिकेलाई जस्तै विप्लवलाई पनि मूलधारको राजनीतिमा ल्याउलान् त ओलीले ?

मूलधारको राजनीतिमा आउलान् त विप्लव ?


सिके राउत, केपी ओली र नेत्र बिक्रम चन्द

काठमाडौँ । पृष्ठभूमि : नेपाल सरकारले प्रतिबन्धित भूमिगत विप्लव समूहसँग संवाद शुरु गरेको छ । सरकार र विप्लव समूहबीच वार्ता प्रयास भइरहेका बेला खानेपानीमन्त्री मणि थापाले आज मंगलबार बिहान नख्खु जेल पुगेर विप्लव समूहका नेता हेमन्तप्रकाश वली ‘सुदर्शन’ लाई भेटेका हुन् ।

२०७५ साल चैत ९ गते काभ्रेपलान्चोकबाट पक्राउ पर्नुअघि विप्लव समूहका मध्यकमाण्ड इञ्जार्च रहेका वलीलाई महानगरीय अपराध महाशाखाले नख्खुमा एनसेलको केन्द्रिय कार्यालय अगाडि भएको विष्फोटमा संलग्न रहेको आरोपमा पक्राउ गरेको थियो । जिल्ला अदालत, ललितपुरले उनलाई १० वैशाखमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि उनलाई नख्खु कारागार चलान गरिएको थियो ।

मन्त्री थापा र नेता वलीवीचको सम्वन्ध र भेटघाट

प्रहरी स्रोतका अनुसार वलीलाई भेट्न मन्त्री थापा मंगलबार बिहान १०:५५ मा नख्खु कारागार प्रवेश गरेका थिए । सरकारका तर्फबाट चन्दसँग वार्ताको सन्देश दिन मन्त्री थापा कारागार पुगेको स्रोतको भनाइ छ । २ वर्षअघि पक्राउ गरिएका वलीलाई पुर्पक्षका लागि नख्खु कारागारमा राखिएको छ ।

मन्त्री थापा र विप्लव दुवै सशस्त्र द्वन्द्वका बेला नेकपा माओवादीमा सँगै थिए । नेता वली मन्त्री थापाको पुरानो साथी पनि भएकाले प्रधानमन्त्री ओलीले उनलाई वार्तावारे संवाद शुरु गर्न पठाएको बुझिएको छ । स्रोतका अनुसार मन्त्री थापा कारागारको खानेपानी सम्बन्धी अनुगमनका लागि भन्दै त्यहाँ पुगेका मन्त्री थापाले कारागारको निरीक्षण गर्नुका साथै विप्लव नेता वलीसँग संवाद गरेका छन् ।

उनले जेलमा रहेका विप्लव समूहका नेता वलीसँग लामै कुराकानी गरेको बुझिएको छ । जेलभित्र वली सुत्ने ठाउँमै पुगेर मन्त्री थापाले वार्ता प्रक्रिया शुरु गर्न आग्रह गरेपछि नेता वलीले आफ्नो पार्टी वार्ता विरोधी नभएको बताउदै सरकारले वार्ताका लागि वातावरण बनाउनुपर्ने बताएका थिए ।

मन्त्री थापाले सरकार र विप्लव समूहबीच वार्ता अघि बढाउन सहयोग गर्न समेत आग्रह गरेका छन् । आफू जेलमा भएकाले वार्ता प्रक्रियाको निर्णयबारे धेरै जानकारी नभएको बताउदै वलीले महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’ पनि वार्ताको पक्षमा सकारात्मक भएको बताएका थिए । मन्त्री थापाले भने यही विषय प्रधानमन्त्री ओलीसम्म पुर्‍याउने आश्वासन दिएका छन् ।

सिके राउतले विप्लवलाई दिएको सन्देश

सिके राउतलाई जस्तै विप्लवलाई पनि मूलधारको राजनीतिमा ल्याउलान् त प्रधानमन्त्री ओलीले भन्ने चासो नेपाली राजनीतिक वृत्तमा हवात्तै बढेको छ । पृथकतावादी आन्दोलन गर्दै आएका सिके (चन्द्रकान्त) राउत सर्वोच्च अदालको आदेशमा थुनामुक्त भएको चौबीस घन्टा नबित्दै मूलधारको राजनीतिमा समाहित भएका थिए ।

६ वर्षसम्म तराई मधेसलाई अलग्गै राज्य बनाउनुपर्ने मागसहित पृथकतावादी आन्दोलनको नेतृत्व गर्दै आएका राउतले सरकारसँग ११ बुँदे सहमति गर्दै आफू मूलधारको राजनीतिमा आएको घोषणा गरेको थियो । अर्धभूमिगत राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धन सहमतिपत्रमा हस्ताक्षरसँगै खुला राजनीतिमा आएको थियो ।

संविधानसभाबाट संविधान जारी भएपछि पनि राजनीतिक मुद्दामा आन्दोलन गरिरहेका ठूला दुई वटा समूह नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र सिके राउत संयोजकत्वको स्वतन्त्र मधेस गठबन्धन थिए । एउटाले हिंसात्मक गतिविधि गरिरहेको र अर्काले राष्ट्रिय अखण्डतालाई नै नस्वीकारेकाले यी दुई समूह राज्यका लागि चुनौती थिए ।

तर यी दुवै समूहमध्ये एउटा समूह मूलधारको राजनीतिमा आई सकेको छ । स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके राउतले मूलधारको राजनीति गर्न सरकारसँग सहमति गरिसकेका छन् । मूलधारको राजनीति आएको घोषणासभामा बोल्दै राउतले आजको दिन ऐतिहासिक भएको बताउदै उनले आफ्नो शान्तिपूर्ण आन्दोलनलाई कदर गर्दै उचित राजनीतिक ‘स्पेस’ प्रदान गरेको भन्दै प्रधानमन्त्री ओलीलाई धन्यवाद दिएका थिए ।

राज्यले आफूहरूमाथि दमन गर्दा प्रतिशोधको साटो प्रहरीलाई फूल दिने आन्दोलन गरेर शान्तिपूर्ण माध्यमबाट बिचलित नहुँदा सुखद परिणाम देखिएको उनले बताएका थिए । आफ्ना मागहरू पूरा गर्न भन्दै हिंसात्मक गतिविधि गरिरहेको नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले यसबाट पाठ लिन सक्ने उनको संकेत गरेका थिए ।

मूलधारमा विप्लवलाई ल्याउनु पर्नेमा नेताहरुको धारणा

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले नेत्रविक्रम चन्द नेतृत्वको माओवादीलाई राजनैतिक प्रतिबन्ध लगाउनुको साटो वार्ता र सम्वादको माध्यमबाट सहमतिमा ल्याई मूलधारको राजनीतिमा समावेश गराउन विशेष जोड दिदै आएका छन् ।

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले विप्लव नेतृत्वको प्रतिबन्धित पार्टी नेकपालाई वार्तामार्फत् मूलधारमा ल्याउनुपर्ने बताउदै आएका छन् ।उनले कुनै पनि राजनीतिक दललाई प्रतिबन्ध लगाउनु लोकतन्त्रमा राम्रो नभएकाले वार्तामार्फत् समस्याको समाधान खोज्नु आवश्यक रहेको बताउछन् ।

सरकारको तर्फबाट नेत्रविक्रम चन्दको नेतृत्वमा रहेको नेकपासँग पटक-पटक अनौपचारिक वार्ता गरेका नेकपाका नेता सोमप्रसाद पाण्डेले विप्लव समूहलाई मूल राजनीतिक धारमा ल्याउने प्रयास भएको बताउदै आएका छन् । उनले विभिन्न नेताहरुमार्फत विप्लव समूहसँग अनौपचारिक वार्ताहरु जारी रहेको बताएका थिए ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहमाथि प्रतिबन्ध लगाउनु संवैधानिक बाध्यता भएको बताउदै आएका छन् । संविधानले आपराधिक तथा ध्वंसात्मक गतिविधि गर्न कसैलाई छुट नदिएकाले आफूहरुले संविधान र कानुनको पालना मात्र गरेको बताउदै आएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द (विप्लव) समूहले मूलधारको राजनीतिमा नआई सुख नपाउने बताएका थिए । उनी नेपाली कम्युनिष्ट आन्दोलनमा सङ्घर्ष गरेर प्राप्त गरेको उपलब्धिमा टेकेर समाजवादतिर अघि बढ्न विप्लव समूह मूलधारको राजनीतिमा आउनै पर्ने बताउदै आएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई राजनीतिक मूलधारमा ल्याइने बताउदै आएका थिए । नेकपा राजनीतिक रुपमा विभाजन हुनुअघि सके राजनीतिक तवरबाट नसके जेलमा बसालेर भएपनि नक्कली कमरेडलाई राजनीतिक मूलधारमा ल्याइने ओलीले बताएका थिए भने बिभाजनपछि ओली विप्लवप्रति नरम भएको आंकलन गर्न सकिन्छ ।

पहिला ओली र प्रचण्डप्रति कडा विरोधी विप्लव

विप्लव नेतृत्वले समय-समयमा निकालेका विज्ञप्तिहरुमा सरकारको मात्र नभएर नेकपाका अध्यक्षद्वय प्रचण्ड र केपी शर्मा ओलीको कडा शब्दमा विरोध गरिएको हुन्थ्यो । विप्लव समूहले आफ्नो पक्षमा जनाधार बढिरहेको मूल्यांकन पनि गर्दथ्यो । नेकपा विभाजनअघि सरकारलाई ‘केपी-पिके सरकार’को संज्ञा दिँदै यसविरुद्ध राष्ट्रघात, जनघातमा अघिल्ला सरकारलाई नै उछिनेको विज्ञप्ति निकालेको थियो ।

यस्तै २०७६ साल असार ५ गते सर्लाहीका जिल्ला इन्चार्ज कुमार पौडेलको प्रहरीले इन्काउन्टरमा हत्या गरेपछि विप्लव समूहले आपत्ति जनाएको थियो । विप्लवले भने सोही घटनाको विरोध स्वरुप आज नेपाल बन्द घोषणा गरिएको बताएको थियो । साथै विप्लवले विज्ञप्ति मार्फत सरकारलाई लक्षित गर्दै राष्ट्रघाती शक्तिका विरुद्ध कम्युनिष्ट, देशभक्त र लोकतान्त्रिक शक्तिसँग एकता गर्दै संघर्ष गर्न तयार रहेको जनाएको थियो ।

विप्लवसँग वार्ताका लागि प्रधानमन्त्री ओलीको सक्रियता

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विश्वासिला उपप्रधानमन्त्री ईश्वर पोखरेल र खानेपानी मन्त्री मणि थापालाई नेत्र विक्रम चन्द (विप्लव) का पार्टी प्रवक्ता तथा सचिवालय सदस्य खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) भेट्न पठाएको खुलासा भएको छ । विप्लव समूहसँग सरकारले वार्ताको गृहकार्य केहि समय अघिदेखि थालेको थियो ।

विप्लवसँग वार्ताका लागि प्रधानमन्त्री केपी शर्मा ओली आफैँले सक्रियता देखाएका छन् । वार्ता गर्नका लागि सरकार र विप्लव समूहले अनौपचारिक रुपमा विभिन्न नेता सक्रिय रहेको खुलेको छ । पछिल्लो पटक विप्लव समूहको केन्द्रीय सचिवालय बैठकले मूलधारको राजनीतिमा फर्किन सक्ने एजेण्डामाथि छलफल भएको थियो । त्यस बैठकले सरकारसँग वार्ता गर्ने निर्णय समेत गरेको थियो ।

प्रधानमन्त्रीको पछिल्लो कदमलाई विप्लव समूहले सकारात्मक रुपमा लिएको बुझिएपछि प्रधानमन्त्री ओली आफैँले विप्लवसँग वार्ता गर्ने मनस्थिति बनाएका थिए । प्रधानमन्त्री ओलीले आफ्ना विश्वासिला नेता तथा मन्त्रीलाई समेत विप्लवसँग वार्ताको वातावरण मिलाउन भनेका थिए । विप्लवले पनि प्रकाण्डको संयोजकत्वमा वार्ता टोलीमा सचिवालय सदस्य धर्मेन्द्र बास्तोला (कञ्चन) लगायत सदस्य बनाएका थिए ।

विप्लव समूह र सरकारको वार्ताको अनौपचारिक तयारी गर्दैगर्दा पार्टीका प्रभावशाली नेता पक्राउ परेपछि भने विप्लव वार्ताका लागि हच्केको स्रोत बताउँछ । पुस २९ गते वार्ताको अनौपचारिक तयारीका लागि वार्ता टोलीका सदस्य धर्मेन्द्र बास्तोला ललितपुरको दक्षिणी बाटो हुँदै काठमाडौं आउने तरखरमा थिए । उनीसँग वार्ता टोलीका विभिन्न सदस्यहरु अन्य छुट्टै ठाउँमा वार्ताकै अनौपचारिक तयारीका लागि सत्तारुढ पार्टीका नेताहरुसँग भेट गर्दै थिए ।

सोही दिन पार्टी प्रवक्ता तथा वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) झापा पुग्न लागेका थिए । त्यहाँ झापामा आयोजित विभिन्न कार्यक्रमलाई सम्बोधनसँगै त्यस दिन विप्लवका नेता प्रकाण्डलाई भेटेर आउन पोखरेल र थापालाई प्रधानमन्त्री ओलीले भनेका थिए । पोखरेल र थापा दिनभरिजसो कार्यक्रममा व्यस्त भएकोले साँझ भेट्ने योजना हुँदाहुँदै ललितपुरमा विप्लव समूहका प्रभावशाली नेता पकाऊ परेको खबर पाएपछि प्रकाण्डसँग भेटघाट हुन सकेन् ।

मन्त्री थापा र प्रकाण्डबीच राम्रो सम्बन्ध रहेकाले प्रधानमन्त्री ओलीले प्रकाण्डसँग कुरा गर्न थापालाई पाखरेलसँगै पठाएका थिए । मन्त्री थापा त्यसदिन साँझ काठमाडौं फर्किए भने उपप्रधानमन्त्री पोखरेल झापासहित अन्य जिल्लाको कार्यक्रममा सहभागी हुनतिर लागेका थिए । त्यसपछि सरकार र विप्लव पक्षबीचको वार्ता गर्ने वातावरण मत्थर भएको थियो । उता विप्लवले आफ्ना नेता कार्यकर्ता पक्रेको भन्दै नेपाल बन्दसम्मको कार्यक्रम घोषणा गरेको थियो ।

ललितपुर प्रहरीले धर्मेन्द्र बास्तोलासहित व्युरो सदस्य विशाल भन्ने टिकाराम रखाल मगर र विवेक कुमाललाई पक्राउ गरेको थियो । धर्मेन्द्रलाई ललितपुरस्थित एनसेल मुख्यालयमा भएको बम विष्फोट काण्डको अभियोगमा म्याद थप भएको छ भने अन्य दुईलाई भने पक्राउबाट उम्काएको कसुरमा म्याद थप भएको ललितपुर प्रहरीले जनाएको छ ।

प्रधानमन्त्री ओली आफूलाई वेवास्ता गर्दै विप्लवसँग वार्ता गर्न खोजेपछि गृहमन्त्री रामबहादुर थापाले विप्लव समूहका वार्ता टोलीका नेताहरुलाई छानीछानी पक्राउन सक्रिय भएको समेत विप्लवका उच्च नेता वृत्तमा कुरा चल्ने गरेको थियो । गृहमन्त्री थापा पछिल्लो समय विप्लवको गतिविधिलाई नियन्त्रण गर्न कुनै पनि सम्झौता नगर्ने भन्दै आक्रामक शैलीमा प्रस्तुत हुँदै आएका थिए ।

ओलीले विप्लवसँग थालेको वार्ताको रणनीति

विप्लव समूहले सरकारसँग वार्ताको जिम्मा दिएका धर्मेन्द्र बास्तोला पनि केहीअघि पक्राउ परेका थिए । वली र बास्तोलालाई सरकारसँग वार्ताका लागि आउँदै गर्दा पक्राउ गरिएको उक्त समूहले दाबी गर्दै आएको छ । सरकारले विप्लव समूहमाथि २०७५ साल फागुन २९ गतेदेखि प्रतिबन्ध लगाएको थियो ।

प्रतिनिधिसभा विघटनको निर्णयपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा फुट आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमाओवादी समूहका नेतालाई आफ्नो पक्षमा तान्ने प्रयास गरिरहेको निरन्तर प्रयास स्वरुप प्रधानमन्त्री ओलीले भूमिगत विप्लव समूहलाई मुलधारमा ल्याउन संवादको प्रयास जारी राखे स्वरुप मन्त्री थापाले वलीलाई भेटेका हुन् ।

उक्त समूहले वार्ताका लागि पहिले प्रतिबन्ध फुकुवा गर्नुका साथै हिरासतमा रहेका नेता, कार्यकर्तालाई छाड्नुपर्ने र वार्ताका लागि औपचारिक पत्र पठाए छलफलमा बस्न तयार रहेको विप्लव समूहका महासचिव नेत्रविक्रम चन्दले सन्देश पठाएका थिए । तर सरकारले हिंसात्मक गतिविधि त्यागेको घोषणापछि मात्रै वार्ताको प्रक्रिया सुरु गर्ने अडान राख्दै आएको थियो ।

पूर्वमाओवादी समूहको सहानुभूति बटुल्ने प्रयास स्वरुप विप्लवलाई मूलधारको राजनीतिमा ल्याएर आफ्नो पक्षमा पार्ने ओलीले रणनीति बनाएको बुझिएको छ । पछिल्लो समय सोहि रणनीति अनुसार सरकार र विप्लव समूहबीच अनौपचारिक माध्यमबाट छलफल अघि बढेको हो ।

मन्त्री थापा र नेता वलीको संवादले जन्माएको आशा

खानेपानी मन्त्री मणि थापा र कारागारमा रहेका नेत्रविक्रम चन्द ‘विप्लव’ को दलका नेता हेमन्तप्रकाश ओलीबीच भएको भेटघाटले विभिन्न अडकलबाजी निम्त्याएको छ । दुवै पक्षबीच वार्ताको सम्भावनाबारे चर्चा चलेका बेला सरकारले नै गतिविधि गर्न प्रतिबन्ध लगाएको दलका नेतासँग मन्त्रीले भेट गरेकाले पनि त्यसप्रति धेरैको चासो देखिएको हो ।

मन्त्री थापाले आफू ललितपुरको नख्खुस्थित कारागारमा रहेको खानेपानी र सरसफाइको समस्याबारे स्थलगत अवलोकन गरिदिन जेलरले गरेको आग्रह अनुसार गएको र कुनै राजनीतिक उद्देश्य नरहेको बताएका छन् ।

सत्ताधारी नेकपामा आएको विभाजनपछि प्रधानमन्त्री ओलीले विप्लवको दलको गतिविधिमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न सक्ने चर्चाकामाझ दुई नेताबीच भेटघाट भएको हो । पछिल्लो समय सरकारले अझ कडा कदमहरु चाल्न थालेपछि विप्लव स्वतः खुला राजनीतिमा आउन चाहिरहेको विश्लेषण पनि नेकपाभित्र हुन थालेको छ ।

यो पनि पढ्नुहोस्

विप्लवसँग सरकारको संवाद शुरु : नख्खु जेलमा पुगेर मन्त्री थापाले भेटे विप्लवका नेतालाई


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !